कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

काठमाडौँ — बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । 

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले एएफपीसँग भने, ‘उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको छ । सैफुज्जमानका अनुसार वकिलहरूले गर्मीका कारण कैयौं शिक्षकको मृत्यु भएको बताएपछि अदालतले उक्त आदेश जारी गरेको हो । बंगलादेशमा विद्यालयस्तरमा तीन करोड २० लाख विद्यार्थी रहेको अनुमान छ ।

गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक साताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्यार्थीहरू बिरामी परेका वा मृत्यु भएका खबरपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । अत्यधिक तापक्रमका बावजुद पुनः कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले गरेको आग्रह अदालतले अस्वीकार गरेको हो ।

पछिल्लो एक सातामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४–५ डिग्री सेल्सियस बढी छ । अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान सरकारले गरेको छ ।

ढाकामा आइतबारदेखि कक्षा सुरु भएको थियो । चिन्तित अभिभावक आफ्ना छोराछोरीसँगै विद्यालय पुगेका थिए । ‘विद्यालयहरू बन्द गर्न गाह्रो छ किनभने बच्चाहरू घरमा पढ्न चाहँदैनन् । तर यो गर्मीमा उनीहरू कसरी विद्यालय आउन सक्छन् ?’ अभिभावक फातिमा तुज जोहोरले भनिन् ।

मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले आइतबार एएफपीसँग कुरा गर्दै सन् १९४८ मा रेकर्ड सुरु भएयता बंगलादेशमा यति बढी गर्मी महसुस नभएको बताए । बढ्दो तापक्रमले बङ्लादेशको लगभग तीन चौथाई भागलाई असर गरिरहेको छ । मल्लिकका अनुसार जलवायु परिवर्तन र तीव्र शहरीकरण, वन फँडानी, पानीका मुहान खुम्चिँदै जानु र वातानुकूलनको बढ्दो प्रयोगजस्ता मानवसिर्जित कारणहरू उष्ण वायुको वर्तमान समस्याका लागि जिम्मेवार छन् ।

प्रकाशित : वैशाख १८, २०८१ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?