कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को विशाल योगफल

काठमाडौँ — आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ ले बिहीबार ट्वान्टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । लगातार चौथो खेलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय रन ९ बनाएको हो ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को विशाल योगफल

चार्ल्सले ५८ र फ्लेचरले अविजित ८४ रन बनाए । एलिक एथान्जे ५ रनमा आउट भएपछि यी दुईले दोस्रो विकेटमा ५३ बलमा ९२ रनको साझेदारी गरेका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतिश जिसीले आफ्नो पहिलो बलमा एथान्जेलाई डिप मिडविकेटमा सन्दीप जोराबाट क्याच गराए ।

अघिल्लो खेलमा शतक बनाएका चार्ल्सले ३० बल खेली ३ चौका र ६ छक्का प्रहार गरे । केएसी कार्टी ४ रनमै आउट भए पनि फ्लेचर र फाबिएन एलेनले अन्तिम ३ ओभरमा नेपाली बलरमाथि खुलेर प्रहार गरेका थिए । यी दुईले ४० बलमा चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरे । फ्लेचरले ५४ बल खेली ९ चौका र ४ छक्का तथा एलेनले १९ बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३३ रन बनाए ।

कुशल भुर्तेलले २ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चे । प्रतिश जिसी ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा ५३ र अविनाश बोहराले ४ ओभरमा ४२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

नेपाली टोलीमा ८ खेलाडी परिवर्तन गरिएको छ । नियमित कप्तान रोहित पौडेल नेपाली टोलीमा फर्किएका छन् । बुधबार अघिल्लो खेल खेलेको नेपाली टोलीका कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा बाहेक अन्य ८ खेलाडी परिवर्तन गरिएको थियो ।

रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा प्लेइङ ११ मा खेलिरहेका छन् । अनिल साह, करण केसी, कमलसिंह ऐरी र सागर ढकाल वैकल्पिकमा रहेका छन् ।

रोहित पौडेलको १ सय १२ रनमा नेपालले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । उनले दोस्रो खेलमा पनि अविजित ७१ रन बनाए पनि आइतबार नेपाल १० रनले पराजित भएको थियो ।

जोन्सन चार्ल्सको अविजित १ सय १९ रन बनाएपछि वेस्ट इन्डिज ‘ए’ तेस्रो खेल ७६ रनले जितेर पाँच खेलको शृंखलामा २–१ ले अगाडि रहेको छ । अघिल्लो दिनको टोलीबाट वेस्ट इन्डिज ‘ए’ ले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

प्रकाशित : वैशाख २०, २०८१ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?