कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता हुन् । मुख्यमन्त्री सोडारी प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् ।

मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् ।

सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेलाई तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ , माओवादी केन्द्रका सभामुख समेत ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रकाशित : वैशाख १९, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?