कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

विप्लव महर्जन

सल्यान — जिल्लाको छत्रेस्वरी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि बुधबार ११ घरगोठ जलेर नष्ट भएको छ । डढेलोबाट छत्रेस्वरीमा ७ र बन्गाड कुपिण्डेमा ४ घरगोठ जलेका हुन् । 

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

छत्रेस्वरी ५ दियारगाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलोले दियारगाउँका थलबहादुर घर्ती, मोहन ओली, टीकाराम ओली, प्रेम ओली, धनबहादुर घर्ती, शेरबहादुर ओली, खुमबहादुर ओली र बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारस्थित रत्नबहादुर राना, बलबहादुर रानासहित ११ जनाको घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

बुधबार बिहानैदेखि लागेको डढेलोले केही चौपाया पनि जलेर मरेका उनले जनाए । उनका अनुसार डढेलोका कारण छत्रेस्वरीको दियारगाउँ र बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारका दुई दर्जनभन्दा बढी घर जोखिममा छन् । बिहानैदेखि लागेको डढेलो सुरक्षाकर्मी, स्थानीय, सामुदायिक वनका उपभोक्ताको सहयोगमा निभाइएको छ । डढेलोबाट भएको क्षति एकीन भइसकेको छैन ।

बिहानैदेखि महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण समयमै निभाउन नसकिएकोले सात व्यक्तिले घरगोठ गुमाउनु परेको छत्रेस्वरी गाउँपालिका ५ का वडाध्यक्ष फौद्धबहादुर बस्नेतले बताए । छत्रेस्वरीमा यसअघि पनि दर्जन घर जलेका थिए । बस्नेतका अनुसार घरगोठ जलेर नष्ट भएका परिवारलाई अहिले आफन्तकहाँ बस्ने व्यवस्था मिलाइएको छ ।

बन्गाड कुपिण्डे ५ खैरागारका स्थानीय घनबहादुर रानाले बस्तीदेखि तलको वनबाट फैलिएको डढेलोले चार घरगोठ क्षति भएको र अझै पनि दुई दर्जन घर जोखिममा रहेका बताए । डढेलोले घरगोठ मात्र नभई स्थानीय उपभोक्ताले घाटगद्दी गरेर राखेका दाउरा, परालसमेत जलेर नष्ट भएको उनले बताए ।

प्रकाशित : वैशाख १९, २०८१ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?