कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

श्रमिकका ब्यथा : समान कामको असमान ज्याला

माधव अर्याल

पाल्पा — बगनासकाली गाउँपालिका–९, चापपानीकी दिलकुमारी गाहाको अनुहार बुधबार मलिन थियो । मई १ अर्थात् मजदुर दिवस हो भन्ने थाहा थिएन । अझ गाउँपालिकामा बोलाएकाले किन ? के का लागि ? भन्ने मनमा रह्यो । ‘मलाई त पालिकामा बोलाएर आएको हो,’ उनले भनिन्, ‘यो दिवसको विषय भन्दा पनि हाम्रो समस्या राख्न आएको हो ।’

श्रमिकका ब्यथा : समान कामको असमान ज्याला

तर उनैलाई मजदुर दिवसको कार्यक्रमको अध्यक्षता गर्ने अवसर मिल्यो । उनले जनप्रतिनिधिलाई सुनाइन्, ‘पुरुष र महिलाले एउटै काम गर्दा पैसा पनि बराबर दिनुपर्छ ।’

बगनासकाली गाउँपालिका–३, की अस्मिता कँवर मगरले पालिका अध्यक्ष लगायतलाई समस्या सुनाइन् । समान कामको असमान ज्याला, एउटै ज्यालादर निर्धारण, कार्य घण्टा निर्धारण, अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य बीमा, दुर्घटना बीमा गाउँपालिकाले गरिदिन आग्रह गरिन् । यति मात्र होइन, गाउँपालिकाको योजना वा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा गाउँका श्रमिक महिलालाई अवसर दिनुपर्नेमा जोड दिइन् । ‘गाउँपालिकाले दिने अवसरमा गाउँमा हामी सबैले सूचना पाउने गरी सूचना प्रकाशन गर्नुपर्छ,’ उनले भनिन्, ‘होइन भने टाठाबाठाले तालिम लिने, स्वरोजगार हुने र अवसर पाउने भएको छ ।’

यी केही उदाहरण मात्र हुन् । ग्रामीण भेगमा काम गर्ने श्रमिक महिलाले पुरुषको तुलनामा समान कामको असमान ज्यालाको पीडा वर्षौदेखि भोग्दै आएका छन् । बगनासकाली गाउँपालिकाका नौ वडाका ७ सय ४३ जना दैनिक ज्याला मजदुरी गर्ने महिला श्रमिकसंगको गरिएको सर्भेक्षणले पनि महिला र पुरुषबीच समान कामको असमान ज्याला रहेको पुष्टि गरेको छ ।

बगनासकाली गाउँपालिका र गैरसरकारी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपालले पालिकाका ९ वडामा गरेको सर्भेक्षणले ग्रामीण भेगमा धान काट्ने, मकै गोड्ने, मल फाल्ने, ढुंगामाटोको काम गर्ने, खेतबारीमा काम गर्ने महिला र पुरुष श्रमिक बीच दैनिक ज्यालामा विभेद भेटिएको हो । श्रमिक महिलाले आफूहरुले दैनिक काम नपाउने, काम पाए पनि ज्यालामा विभेद गर्ने, तोकिएको समय भन्दा बढी घण्टा काममा खटिनुपर्ने लगायतका समस्या रहेको बगनासकाली गाउँपालिक–२, पोखराथोककी लिला राना मगरले बताइन् ।

उनका अनुसार समान कामका लागि समान ज्याला कायम गर्ने अभियान पालिकाले सुरु गर्नुपर्ने बताइन् । ‘पालिकाभर एउटै ज्याला तोक्ने हो भने हामीलाई सहज हुने थियो,’ उनले भनिन्, ‘यसका लागि के गर्नुपर्ने हो पालिकाले गर्नुस् ।’

महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्ने भएपनि महिलाले काम गर्न सक्दैनन् भनेर गाहृो काम गर्न नदिने समस्या रहेको बगनासकाली–१, की श्रमिक महिला दानीसरा कुमालले बताइन् । ज्यालामा पनि आधा नै फरक पार्ने समस्या रहेको छ । महिलालाई सीपयुक्त, श्रममा रुपान्तरण, कार्यक्रम र बजेट बनाएर कार्यान्व्यन गर्न पालिकाले सक्नुपर्नेमा बगनासकाली गाउँपालिका–१, की भविसरा कुमालले बताइन् ।

महिला श्रमिकको ज्यालादरमा पनि भिन्नता रहेको छ । महिलाले ३ सयदेखि ६ सयसम्म दैनिक ज्याला पाए पनि पुरुषले भने ५ सयदेखि १ हजारसम्म पाउने गर्छन् । तर गाउँमा परेका सरकारी योजनामा श्रम गर्न पहुाच आवश्यक भएको, काम गर्दा चोटपटक लागे पनि बीमा व्यवस्थापन गर्न नसकेको, महंगी बढे पनि ज्याला नबढेको समस्या बढी रहेको सर्भेक्षक सपना विकले बताइन् । ‘यस्ता विषयलाई पालिकाले सम्बोधन गर्नुपर्छ,’ उनले भनिन् ।

पुरुषले महिलालाई समान काम लगाए पनि महिलाको श्रमलाई अवमुल्यन गर्दा समान ज्याला नपाएको बगनासकाली युवा संगमकी सुमिना गाहाले बताइन् । ‘हामी सर्भेक्षणमा गाउँटोलमा पुग्दा श्रमिक महिलाको अवस्था निकै दयनीय पाइयो,’ उनले भनिन्, ‘यसमा पालिकाले स्थानीय सरकारको अपनत्व नदिएको जस्तो लाग्यो ।’

महिलाका बारेमा जतिसुकै वकालत गरिएपनि व्यवहारमा भने परिवर्तन आउन नसकेको गुनासो युवा संगमकी सिर्जना गैरेले बताइन् । कतिपय गाउँमा एक पुरुष बरावर दुई महिला काममा जानुपर्ने अवस्था रहेको गुनासो आएको उनले बताइन् । ‘कतिपय परिवारलाई पालिकाले खाद्य सुरक्षा नै प्रदान गर्नुपर्ने खालको पनि भेटियो,’ उनले भनिन्, ‘यसले गर्दा त्यस्ता विषयमा पालिका पनि सचेत भएर काम गर्नुपर्छ ।’

श्रमिक महिला र युवाको गुनासो सुनेकी गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले नागरिकको माग धेरै हुने भएकाले बजेटलाई समुचित रुपमा परिचालन गर्दै लक्षित वर्गलाई समेटेर काम गर्नुपर्दा श्रमिक महिलालाई मात्र काम गर्न नसकिएको स्वीकारिन् । ‘श्रमिक महिलाका लागि मात्र छुट्टै कार्यक्रम नभए पनि आगामी दिनमा यसलाई महत्व दिनेछौं ।’ उनले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले माछा दिएर छाक टार्ने भन्दा पनि जाल दिएर माछा मार्न सिकाउने गरी श्रमिकलाई व्यवस्थापन गर्ने योजना गाउँपालिकाले बनाउने बताए ।

गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले विपन्न एकल महिला, अपांगता भएकाहरुका लागि सहयोग गर्नुपर्ने खाँचो औल्याउँदै आगामी दिनमा धेरैथोरै बजेट विनियोजन गरिने बताए ।सामाजिक विकास समितिकी संयोजक गीता रेग्मीले विपन्न महिला पहिचान गरेर आगामीदिनमा यसलाई अझ प्रभावकारी ढंगले कार्यक्रम बनाउने बताइन् । ‘सकेसम्म सीपमुलक तालिम संचालन गर्दा अहिलेका सुझावलाई कार्यान्वयन गरिनेछ,’ उनले भनिन् ।

सर्भेक्षण्मा सहयोग गर्ने सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले गाउँपालिकाभित्र ७४३ जना श्रमिक महिलालाई भेटेर निस्केको निष्कर्षलाई गाउँपालिकाले कार्यान्वयन गर्नुपर्ने बताए । ‘पालिकाले श्रमिक महिला डेस्क बनाएर तथ्यांक संकलन गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि पालिकाले थोरै सोंचमा परिवर्तन ल्याउनपर्छ ।’ गाउँपालिका बालमैत्री फोकल पर्सन नारायण तिमिल्सेनाले विभिन्न सीपमुलक तालिम संचालन गरेको र आगामी दिनमा श्रमिक महिलाका लागि थप कार्यक्रमका लागि लक्षित वर्गबाट पहल गरिने बताए । मजदुर दिवसका अवसरमा बगनासकाली गाउाँलिकाले श्रमिक महिलालाई सम्मान गरेको छ ।

उता कांग्रेस पाल्पा, नेपाल ट्रेड युनियन कांग्रेसले पनि श्रमिकलाई सम्मान गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसल तानसेन नगरपालिका–५, का सुनिल नेपाली, बगनासकाली–१, का यादव कुमाल, तानसेन–११, का खेमबहादुर कार्की, तानसेन–४ बारुदखानका ऋषिराम पोखरेल, बगनासकाली–१ की ओमसरी कुमाललाई सम्मान गरेको जिल्ला अध्यक्ष निलकण्ठ देवकोटाले बताए । कांग्रेस पाल्पाले ट्रेड युनियन कांग्रेसमा आवद्व भातृ एवम शुभेच्छुक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको सभापती हिमालदत्त श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख १९, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?