कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

सम्झना रसाइली

तनहुँ — साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

मुग्लिन–पोखरा सडक योजना अन्तर्गत आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड कायम गरी सडक विस्तार कार्य भइरहेको छ । पश्चिम खण्डमा सडक विस्तारको कार्यले अपेक्षित प्रगति गर्न नसके पनि पूर्वी खण्डको काम सन्तोषजनक देखिएको छ ।

पूर्वी खण्ड विस्तारका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता गरी २०७८ वैशाख २ गतेबाट काम सुरु गरिएको थियो । वि.सं. २०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग विस्तार भइसक्नुपर्ने हो । तर म्याद सक्किदासम्म भौतिक प्रगति भने करिव ५६ प्रतिशत देखाइएको छ ।

सडक विस्तारका लागि अहिले दमौली खण्डमा सडक सीमा भित्रका संरचनाहरु नहटाइदिंदा कामले प्रगति लिन नसकेको बताइएको छ । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा केही बाहेक अधिकांश घर टहरा हटाएर दुवै तर्फ नाला निर्माण तथा अन्य काम भइरहेको पूर्वी खण्डका योजना प्रमुख श्यामकुमार यादवले बताए ।

उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली बजारमा भने घर टहरा हटाउने कार्यमा ढिलाई हुँदा कामले गति लिन सकेको छैन । व्यास नगरपालिकाको २, ३ र ४ नम्बर वडाका ७४ घर टहरा हटाउनुपर्नेमा हालसम्म ४९ वटा घरधनीले मुआब्जा बुझेपनि केहीले बाहेक अन्यले घरटहरा हटाउन विलम्ब गर्दै आएका छन् । दमौली बजार क्षेत्रका २५ घरधनी भने मुआब्जा बुझ्ने प्रक्रियामै आएका छैनन् ।’

सडक सिमा क्षेत्रभित्रका संरचना हटाउन आनाकानी गरिएपछि व्यास नगरपालिकाले पटकपटक सूचना जारी गरी तत्काल संरचना हटाइदिन अनुरोध गर्दै आएको छ । मुआब्जा बुझेकाले समेत घरटहरा हटाउन आनाकानी गर्दा धुलोले दमौली बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ भने सडक विस्तारमा समेत विलम्ब हुँदै गएको छ ।

पूर्वी खण्डको विस्तारमा व्यास अन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन । वडा नं. ४ का २१ र वडा नं. २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएका व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

‘वडा नम्बर ४ का २१ र वडा नम्बर २ का १९ घरधनीले सडक अधिकार क्षेत्र २५ मिटर दायाँबायाँ भत्किने घरको मुआब्जा बुझने तर भत्काउने कार्य नगर्नाले बजार क्षेत्र प्रदूषित बनेको छ’, नगरप्रमुख न्यौपानले भने, ‘कतिपयले मुआब्जाका लागि निवेदन प्रक्रियामा सहभागी हुन नआउने भनी जानकारी प्राप्त भएको छ । तत्काल घर भत्काउने कार्य गरी सहयोग नपुर्‍याउँदा विभिन्न समस्याहरु देखिएको छ ।’

घर भत्काउन ढिलाइले बजार क्षेत्रको बाटो विस्तार अवरुद्ध भएको, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य र दैनिक जीवनमा सास्ती भोग्नुपरेको न्यौपानेले बताए । सडक निर्माण कार्यको म्याद समाप्त भइसकेकाले थप भएको म्यादभित्र सडक निर्माण हुन नसकेमा आयोजनाको अवधि समाप्त भएपछि हाल प्राप्त क्षतिपूर्ति प्राप्त हुने अवस्थाको समय अन्त्य हुने जोखिम रहेको न्यौपानेले बताए ।

सडक क्षेत्रका घरहरु नभत्काइ अलमल गरिरहनु दमौली बजार र घरधनी स्वयं आफ्नै हितमा समेत नहुने हुँदा तत्काल सात दिनभित्र घर भत्काइ सहयोग गर्न नगरवासीमा आग्रह गरिएको न्यौपानेले बताए । उनले भने, ‘घर भत्काउनेहरुले समेत नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफूखुसी सडक क्षेत्र २५ मिटरभित्र पुनः घर विस्तार गर्दा समेत क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा कटौती हुनेतर्फ सचेत रहन सबैमा अनुरोध गरेका छौँ ।’


यस्तै, पूर्वी खण्डका योजना प्रमुख यादवका अनुसार यस खण्डको म्याद गत २ गते सक्किएको छ । कोरोना भाइरस संक्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए । उनले भने, ‘६ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ ।’

यस खण्डमा सडक चौडा गर्ने, नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्भर्ट तथा साना ठूला पुल निर्माण कार्य पनि भइरहेका छन् । यस खण्डमा हालसम्म १९ किलोमिटर सडक चार लेन कालोपत्र गरिएको छ भने ८ किलोमिटर २ लेन कालोपत्र भइसकेको छ । समग्रमा भन्नुपर्दा हालसम्म करिव ४७ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख यादवले बताए । यस खण्डमा १४ वटा साना पुल निर्माण भइसकेका छन् । ३ वटा ठूला पुल निर्माण कार्य भइरहेको छ । मादी नदीको पुल निर्माण कार्यले पनि तीब्रता पाएको उनले बताए ।

यस्तै, पश्चिम खण्डमा करिव ११ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरिएको पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेलले बताए । उनले भने, ‘अहिलेसम्म एकतर्फी ११ किलोमिटरमा कालोपत्रे भएको छ । कालोपत्रेको दूरी बढाउने प्रयत्न भइरहेको छ ।’

चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको सडक विस्तारका लागि वि.सं. २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु गरेको थियो । वि.सं. २०८१ भदौसम्म काम सक्ने गरी ठेक्का सम्झौता म्याद सक्किन ४ महिना रहदा करिव २३ प्रतिशत भौतिक प्रगति देखाएको छ ।

पश्चिम खण्डका योजना प्रमुख राजेश पोडेलका अनुसार ठेकेदार कम्पनीसंग सम्झौता भएको म्याद सक्किन चार महिनामा बाँकी रेहेको र यो समयअवधिमा ७८ प्रतिशत काम नसकिने भएपछि ठेकेदार कम्पनीले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ ।

‘अहिले बाँकी रहेको नियमित चार महिना र म्याद थपिने १६ गरी २० महिना बाँकी हुनेछ । त्यही अनुसार ठेकेदार कम्पनीले निवेदन दिइसकेको छ,’ उनले भने, ‘२०२५ सम्म पश्चिम खण्ड पुरै कालोपत्रे गर्ने गरी काम गर्ने ठेकोदार कम्पनीले बताएको छ ।’

यस्तै तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन एक अर्ब २० करोड र पोखरामा सेती नदीमाथि पुल बनाउन एक अर्ब रुपैयाँ लाग्ने बताइएको छ । प्राविधिकहरुका अनुसार राजमार्गको बजार क्षेत्रमा ६ लेनको फराकिलो सडक हुनेछ । बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ ४ लेनको हुनेछ । त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ । दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले बताएका छन् । डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ ।

प्रकाशित : वैशाख १९, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?