कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

चितवन — पर्सा जिल्लामा पर्ने ठोरी चितवनबाट सबैभन्दा नजिकमा रहेको नाका हो । ठोरीमा चितवन आसपासका पहाडी भुभागका बासिन्दा नुन तेल लिन जाने गर्दथे । पछिल्ला वर्षहरुमा यो क्रम टुटेको थियो । बुधबारदेखि फेरि चितवन र ठोरीलाई जोड्ने कामको सुरुवात भएको छ ।

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

ठोरीको छोठी भन्सार कार्यालयबाट बुधबारदेखि अस्थायी पैठारी अनुमति दिन सुरु भएको छ ।

यस्तो अनुमति पाएका भारतीय नम्बर प्लेटका गाडीहरु निश्चित राजश्व रकम तिरेपछि वर्षमा ३० दिनसम्म नेपालभर चल्न पाउने नियम छ । भरतपुर महानगरपालिकाले अहिले भ्रमण वर्ष मनाइरहेको छ । यो नाका हुँदै भारतीयहरु घुम्न आउने सम्भावना भएका कारण ठोरी छोठी भन्सार कार्यालयले यस्तो अनुमति दिन सुरु गरेको हो । यसले ठोरीका साथै चितवनको माडी, भरतपुर, सौराहाका साथै गैंडाकोटसम्मले लाभ लिन सक्नेछ ।

सेवा शुभारम्भको अवसरमा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, माडी नगरपालिकाका मेयर ताराकाजी महतो, बागमती प्रदेश सभा सदस्यमा चितवन–३(२)बाट निर्वाचित सदस्य ठाकुर ढाकाल, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र बिरगञ्ज भन्सार कार्यालयका प्रमुखको टोली नै ठोरी पुगेको थियो ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीमा विस २०२५ सालमै भन्सार स्थापना भएको बताए । तर पछिल्लो समय कार्यालय रहे पनि कर्मचारी बस्न छाडेको कार्यालय फेरि सञ्चालनमा आउँदा खुसी लागेको उनको भनाइ छ । चितवनको माडी नगरपालिका मेयर ताराकाजी कुमारी महतोले ठोरी भन्सार र चितवनको नाता निकै पुरानो रहेको चर्चा गरिन् । राजश्व संकलनका साथै चितवन र पर्साको सम्बन्ध बलियो हुने उनले बताइन् ।

‘चितवनका बासिन्दाहरु नुन तेल लिन आउने पुरानो नाका नै ठोरी हो । चितवनका मात्रै नभएर गण्डकी क्षेत्रका पहाडी जिल्लाका बासिन्दाको व्यपारिक केन्द्र पनि ठोरी नै थियो । यो सम्बन्ध बीचमा टुट्यो । अब फेरि जोडिने भयो’ मेयर महतोले भने । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले घुम्न आउने भारतीयको सुविधाका लागि अस्थायी अनुमति दिन मात्रै नभएर भविश्यमा भन्सार कार्यालयको स्तरोन्नति गर्ने लक्ष्य राखेको बताइन् ।

‘ठोरी र चीनको केरुङ जोड्ने मार्ग बन्ने कुरा छ । त्यसैले यो भन्सार कार्यालय अहिलेकै अवस्थामा रही रहँदैन । यो त चीन, नेपाल र भारतबीच एउटा महत्वको भन्सार कार्यालय बन्ने सम्भावना बोकेको ठाउँ हो,' मेयर दाहालले भनिन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले अहिले पनि यो नाका हुँदै दर्जनौं भारतीय गाडीहरु ठोरी आउने गरेको बताए । जसको अस्थायी अनुमति वीरगञ्ज भन्सार कार्यालयले जारी गर्दछ ।

‘भारतको बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका बासिन्दालाई ठोरी नाका हुँदै नेपाल जान छिट्टो हुन्छ । अस्थायी अनुमति पत्र यहीबाट दिएका कारण ठोरी लगाउत चितवनको माडी र भरतपुर तथा सौराहा गैंडाकोटसम्मको पर्यटन विकासमा ठुलो टेवा पुग्ने छ,’ पर्यटन व्यवसायी थापाले भने । ठोरीबाट चितवन सदरमुकाम भरतपुर ७५ किलो मिटर उत्तरमा छ । तर बाटो सबै ठाउँ सजिलो छैन ।

ठोरीबाट चितवन छिरे लगत्तै आउने चितवन निकुञ्जको अमुवा पोष्टदेखि माडी आउनुअघि बगइसम्मको १८ किलो मिटर जंगलको बाटो कच्ची र अफ्ठ्यारो छ । माडी छिरेपछि बाटो सजिलो छ । तर माडीबाट उत्तर लागेपछि बनकट्टादेखि कसरासम्म चितवन निकुञ्जकै १० किलो मिटर जंगलको बाटो फेरि कच्ची छ । त्यसैले जंगल क्षेत्रको बाटो सुधार गर्न पनि पहल गरे घुम्न आउनेहरुलाई निकै सहज हुने व्यवसायीहरु बताउँछन् ।

भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलालले अस्थायी पैठारी अनुमतिका लागि विभाग र बिरगञ्ज भन्सार प्रशासनले अध्ययन गरेर सम्भावना देखेपछि सेवा सुरु गरेको बताए ।

‘यात्रुले आफूसँग भएका यन्त्र चालित सवारी साधनलाई एक वर्षमा बढीमा ३० दिनसम्म नेपाल बस्न पाउने गरेर अनुमति दिने काम अब यहीबाट हुन्छ । अन्य आयातमा घरायसी प्रयोजनका लागि १० हजार रुपैयाँ मुल्य बराबरका सामाग्री मात्रै यहाँबाट भन्सार तिरेर ल्याउन पाइयो । त्योभन्दा बढीको मिल्दैन । मुख्य भन्सार मै जानु पर्दछ,’ निरौलालले भने ।

प्रकाशित : वैशाख १९, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?