फिरन्ते चराको घट्यो आवागमन
चितवन — चराहरूलाई पनि जाडो हुन्छ । हिउँदमा सर्वाधिक जाडो हुने भूभागबाट चराका बथान यात्रा गर्छन्, चिसो छल्छन् । आफू पुगेका भूभागमा बिस्तारै गर्मी सुरु भएपछि पुनः चिसो ठाउँ फर्कन्छन् । फिरन्ते चराको यो यात्राको एउटा ट्रान्जिट नेपाल पनि हो ।
सगरमाथा नाघेर आउने चराका बथान नेपाली भूभागका तालतलैया र समथर फाँटहरूमा बसाइ गरुन्जेल आहारा खोज्छन्, कतिपयले प्रजनन पनि गर्छन् । तर, त्यस्ता फिरन्ते चराका प्रजातिको नेपाल आगमन घटेको छ ।
चितवनका नदी, खोला, खोल्सा र तालतलैयामा यसपटक गरिएको पानीचराको गणनाले संख्या कम हुँदै गएको देखाएको हो । उत्तरी युरोपबाट चितवनसम्मको यात्रा गर्ने चखेवा खासै नघटे पनि अन्य चराका प्रजातिको आगमन दर घटेको पाइएको संरक्षणकर्मीले बताएका छन् । साइबेरिया, मंगोलिया र चीनबाट हाँस र बकुल्ला प्रजातिका चराहरू हिउँद लागेपछि आहारा र न्यानो बास खोज्दै नेपालसम्म आउँछन् । सिमसार क्षेत्र आसपास रोकिने चराहरू गर्मी सुरु भएसँगै फर्कन्छन् । त्यसैले नेपाललगायतका अन्य एसियाली देशहरूमा बसाइँसराइ गरेर आउने पानीमा आश्रित हिउँदे चराको बर्सेनि गणना हुँदै आएको छ ।
‘अघिल्लो वर्ष ५४ प्रजातिका पानीचराहरू भेटेका थियौं, यो पटक ४९ प्रजाति मात्रै फेला परे,’ चितवनमा चरा गणनामा संलग्न बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष टीका गिरीले भने । अघिल्लो वर्षको तुलनामा यो पटक संख्यामा चखेवा बढेको देखिए पनि अरू प्रजातिका चराको संख्या घटेको उनले बताए । अघिल्लो वर्ष भेटिएका सुनजुरे हाँस, कैलो टाउँके हाँस, हलो मुखे हाँस, भरत चाह र लालठुँडे चखेवा यो पटक भेटिएनन् ।
खोया हाँसका बथान हिमालपारिबाट चितवनका खोला–नदीसम्म आइपुग्छन् । सगरमाथाभन्दा पनि माथि ९ हजार मिटर उचाइमा खोया हाँस उड्दै आउने गिरीले बताए । ‘अघिल्लो वर्ष चितवनमा दुई सयभन्दा धेरै खोया हाँस भेटेका थियौं । यो पटक ७५ मात्रै पायौं,’ उनले भने । गिरी सन् १९८७ देखि आगन्तुक हिउँदे चरा गणनामा संलग्न छन् । नेपालभन्दा बाहिर सन् १९६७ देखि नै यस्ता चरा गन्न सुरु भएको उनले बताए । तर सन् १९८७ मा नेपालमा सुरु हुँदा गिरीले सोही वर्षदेखि नै चितवनको सौराहा नजिकको ढुङ्ग्रे खोलाबाट चरा गन्न थालेका हुन् । ‘पहिलाको भन्दा प्रदूषण बढ्यो, खोलानाला सुके । मान्छेको चाप पनि बढ्यो । यसले गर्दा चराको आहारा र बस्ने ठाउँको अभाव भयो,’ उनले भने ।
पश्चिम चितवनको दिव्यनगरका खेतदेखि पर नारायणी नदी किनारमा ठूलोखाले कर्याङकुरुङ (कमन क्रेन), जसलाई लक्ष्मण सारस पनि भनिन्छ, त्यसको एउटा झुन्ड सधैं देखिन्थ्यो । यो पटक निकै थोरै संख्यामा देखियो । ‘अघिल्लो वर्ष १ सय ७८ वटा देखेका थियौं, यो पटक जम्मा १७ वटा थिए,’ गिरीले भने । यो चराको बथान मंगोलियाबाट नेपाल आइपुग्छ । धान काटेका खेतमा चारो खोज्छ । नदी नजिकै गएर झुन्डमा बस्छ । ‘अहिले धान नरोपेर अन्य बाली लगाउने, अझ खेती नै नगरेर घरटहरा बनाउने चलन व्यापक हुँदै गएपछि कमन क्रेनलाई आहारा कम भयो । त्यसैले आउन छाड्यो,’ गिरीले भने । कम्तीमा १०/१५ बिघा धानखेत भए यहाँ आइरहने कमन क्रेनलाई आहारा पुग्छ । दिव्यनगरमा आहारा घट्न थालेपछि त्यो चरा अन्यत्र सर्ने सुरसारमा लागेको हो ।
टेकबहादुर गुरुङ ६० वर्षका भए । चरा गणनामा लागेको एक दशक नाघ्यो । ‘पहिला पनि फाट्टफुट्ट हिँडियो । तर, सन् २०१२ पछि हरेक वर्ष गणनामा सरिक छु । पहिला देखिने चराहरू हराउँदै गए,’ गुरुङले भने । सौराहा टिकट काउन्टरनजिक राप्ती नदी किनारमा सानोखाले कर्याङकुरुङ (डेमोसिल क्रेन) २०/२५ वटा आउँथे । अहिले यो चरा देख्न छाडेको वर्षौं भयो भन्छन् गुरुङ । ‘निकुञ्जभित्रको पन्नातालमा कुनै बेला २०/२५ प्रजातिका चराहरू हुन्थे । अहिले ६/७ प्रजाति मात्रै भेटिन्छन् । लामी तालमा बगाले सिमकुखुरा ४०/५० को हाराहारीमा हुन्थे । अहिले १२/१५ वटा छन् । देवी तालको पानी सुक्दै छ, आहारा भेटिँदैन । अनि चरा कहाँबाट आउँछन् ?’ उनले भने । चितवनमा कुनै बेला ५६ प्रजातिका फिरन्ते पानीचरा देखिन्थे ।
चितवनमा यो वर्षका लागि गत पुसको २४ र २५ मा आगन्तुक हिउँदे चराको गणना भएको थियो । राप्ती नदीको गैंडहवादेखि कसरासम्म र तमोर ताल, बीसहजारी ताल, लामी ताल, बरन्डाभार जंगलका अन्य सिमसार क्षेत्र, बूढी राप्तीमा टोली बनाएर गणना भएको थियो । दिव्यनगर र माडी क्षेत्रमा पनि चरा गणना गरेको गिरीले जानकारी दिए । चरा संरक्षणमा रुचि राख्ने ५० जना स्वयंसेवक यसमा खटिएका थिए ।
चरा सफा र सन्तुलित पर्यावरणको सूचक भएको चितवनका अर्का संरक्षणकर्मी बासु बिडारी बताउँछन् । ‘आहारा र बासस्थलमा समस्या भएर चरा नआउँदा चरा मात्रै संकटमा पर्दैन, हाम्रो पर्यटन पनि अप्ठ्यारोमा पर्ने बुझ्न जरुरी छ,’ उनले भने ।
प्रकाशित : माघ २, २०७९ ०९:००