कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी-६ जरलहवा गाछीका ८० वर्षका वृद्ध इलिहास अन्सारीले आगलागीपछि बस्ती छोड्न मानेनन् । चर्को गर्मी,असहज परिस्थिति र बस्तीमा बतासले बत्याउने धुलोको भूमरीमै परेर पनि उनले सबै ठिक छ, झैं गरिरहे ।

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

बस्ती नछोड्नुको कारण उनलाई २० वर्षदेखि बसेको बस्ती नै छोड्नुपर्छ कि भन्ने चिन्ता लागेको छ । वैशाख १२ गते १०३ घर डढेर खरानी भएपछि कतै बस्ती उठाउने षड्यन्त्र त भएको हैन भन्ने आफूलाई लागेको उनले सुनाए । बस्तीका सबै परिवारलाई विपद व्यवस्थापन समिति र पालिकाले आगलागीपछि सुरक्षित स्थानमा सार्ने प्रयत्न गर्दा उनी मात्र हैन, बस्तीका कोहि कसैले बस्ती छाड्न मानेनन् ।

'७ धुरमा घर थियो,सबै खरानी भयो,' अन्सारीले भने,'कमाइ खाइ जीवन सकियो, अब काहाँ जाने" ?

मियाटोल र हत्ताटोलका सबै विपन्न परिवार २० वर्ष अघिदेखिनै गुठी संस्थानको जग्गामा बस्दै आएका रहेछन् । अहिले बस्तीनै जलेर खरानी भएपछि अब त्यही जग्गामा घर नबन्ला भन्ने चिन्तामा छन् पीडित ।

बस्तीकी ६० वर्षकी मफिदा खातुन जीवनमा अब केही नबचेको सुनाउँछिन् । 'सरकारले दु:खीलाई हेर्छ भन्ने सुनेको छु,' उनले भनिन्, 'हामीलाई अब आफैं बसेको ठाउँमा घर बनाइदिनपर्‍यो सरकार ।' खातुनकf एक छोरा नफिस कमाउन भारत गएकाछन् । यता बस्तीमा भएको फुसको घर जलेपछि उनी त्रिपालमै दिन गुजारिरहेकी छिन् ।जरलहवा गाछीकापीडित अहिले दोहोरो पीडामा छन् । जीवनभरि आफ्नो नाममा जग्गाजमिन जोड्न नसक्नु र कमाएर बचाएको जायजेथा पनि जलेर खरानी हुने आफूहरुको दुर्भाग्य भएको बस्तीकी हिदो खातुनले बताइन् । साहुको ऋण तिर्न बैंक लिएको ऋण समेत जलेर खरानी भएपछि केही बाँकी नरहेको उनले बताईन् ।

२० वर्ष सोही बस्तीमा बस्दा कसैले नउठाएकाले अब कसैले नउठाउने भन्दै उनी ढुक्क छिन् । तर सबैले चिन्ता गरेको देखेर आफूलाई पनि चिन्ताले सताइरहेको खातुनले बताईन् । श्रीमानको मृत्युपछि बस्तीमा एक्लै बस्दै आएकी खातुनको ६ धुरमा फुसको घर थियो । काममा गएका बेला बस्तीमा आगो लागेकाले घरबाट केही निकाल्न नसकेको र अहिले राहतले सहज भएको उनले बताइन् । बस्ती छोड्न नमानेका उनिहरुको स्थायी बसोबास कहिले बन्ने र कहाँ गर्ने भन्ने सन्दर्भमा भने नगरपालिका आफैं अन्यौलमा छ ।

खुल्ला आकासमुनि त्रिपालको बास तराईको अहिलेको मौसममा निकै कष्टकर भएको बुझेको भएपनि तत्काल स्थायी बसोबासका लागि के गर्ने भन्ने विषय अन्योलमा रहेको मेयर हरिप्रसाद मण्डलले बताए । हरेक विपन्न परिवारलाई सरकारले नै हेर्नू दायित्व भएकोले २० वर्षअघि बस्ती बनाएर बसोबास गरेका पीडितलाई स्थानीय सरकारले उठिबास लगाउन नसक्ने उनले प्रतिक्रिया दिए । अब पीडितलाई आवश्यकता भनेकै घर भएकाले पालिकाले सक्ने भरपुर सहयोग पीडितलाई नै गर्ने मण्डलले बताए ।

यता गुठी संस्थानले भने अब त्यही ठाउँमा बस्ती बस्न नसक्ने बताएको छ । गुठी संस्थान महोत्तरीका प्रमुख किशोरकुमार झाले पहिले परालका कुन्यू गहुँका भुसा राख्दै जग्गा गरिएको र पटकपटक हटाउने कोसिस गर्दापनि जग्गा खाली गर्न नसकेको झाले बताए । अब उक्त जग्गाम घर टहरा बनाउन नदिने उनले दाबी गरे ।

प्रकाशित : वैशाख १९, २०८१ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?