कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

‘घरेलु पेस्तोल’ ले असुरक्षा बढ्दो

रिसइबी साँध्न, लुटपाट, डकैतीलगायत आपराधिक गतिविधि गर्न सानाखाले हतियारको प्रयोग
भरत जर्घा मगर

सिरहा — सिरहा सुखीपुर नगरपालिका–७ का ४७ वर्षीय गणेशकुमार सिंह घरनजिकै लुकाइराखेको अवस्थामा घरेलु कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित जेठ ३० गते पक्राउ परे । अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको विशेष सूचनाका आधारमा सिंहलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

‘घरेलु पेस्तोल’ ले असुरक्षा बढ्दो

गत २२ जेठमा साँझपख पसलमै बसिरहेका मिर्चैया नगरपालिका–६ स्थित सिद्धि मेडिकोका सञ्चालक स्थानीय ४० वर्षीय रामसागर साफीमाथि गोली प्रहार भयो । खुट्टा र पाखुरामा गोली लागी साफी घाइते भए । उनी उपचारकै क्रममा छन् ।

प्रहरीले झन्डै १० दिनपछि घटनामा संलग्न तीन अभियुक्तलाई सार्वजनिक गर्‍यो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ कै ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार नगरपालिका–११ का ४५ वर्षीय मो. हकिम फकिर छन् । सूर्यदेव रामसागरका सहोदर दाइ हुन् । सूर्यदेवले पारिवारिक रिसइबी साध्न र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रिसइबी साध्न, लुटपाट, डकैतीलगायत आपराधिक गतिविधिमा घरेलु सानाखाले हतियारको प्रयोग बढ्दो छ । सिरहामा पछिल्लो समयमा भएका लुटपाट, डकैती तथा रिसइबी साध्न हत्या जस्ता अपराधमा घरमै बनाउन सकिने कटुवा पेस्तोलको प्रयोग बढेको हो । अपराध गर्ने समयमा बोक्न सजिलो हुने र आपराधिक कार्य गरिसकेपछि भाग्ने क्रममा लुकाउन सजिलो हुने भएकाले नै अपराधीको नजरमा यस्ता हतियारप्रति आकर्षण बढेको पाइएको छ । घरमै बनाउन सकिने र खरिद गर्दा पनि सस्तोमा पाइने भएकाले अपराधीको रोजाइमा कटुवा पेस्तोल परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बरामद भएका ११ थान कटुवा पेस्तोलको परिमाणले साना हतियारको प्रयोग बढेको देखिएको छ । त्यसमध्ये तीनवटा त गत जेठमै बरामद गरिएको थियो । यसका अतिरिक्त प्रहरीले पटक–पटक गरी १२ राउन्ड गोली, गोलीका खोका छ थान, भरुवा बन्दुक एक थान, बारुद बट्टा दुई थान, फलामका टुक्रा तथा जीआई तारको पासोसमेत बरामद गरेको छ । यी हतियारहरूका साथमा प्रतिवादी बनाइएका २३ जना आरोपितमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

कटुवा पेस्तोलसहित पक्राउ परेका आरोपितले दिएको बयानका अनुसार उनीहरूले भारतबाट हतियार खरिद गरी सिरहा, सप्तरी, धनुषा तथा काठमाडौंसम्म आपूर्ति गर्ने गरेका छन् । यसरी खरिद हुने हतियारको सौदाबाजीमा अन्य व्यक्ति र गिरोहसमेत सक्रिय रहेको जनाइएको छ । आरोपितहरूले भारतबाट आयात हुने कटुवा पेस्तोलको न्यूनतम मूल्य चार हजारदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको बताएका छन् ।

उनीहरूले भारतबाट ल्याएका हतियारहरू विश्वासिलो व्यक्तिको घरमा अथवा कुनै गोप्य स्थानमा प्याकिङ गरी गाडेर राख्ने गरेका छन् । विशेषगरी २१ वर्षदेखि ३० वर्षका युवा समूह यस्ताखाले हतियारप्रति आकर्षित भएको बताइएको छ । ‘केही वर्ष अगाडिसम्म सिरहामा साना हतियारको प्रयोग भयावह थियो’, जिल्लाका प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले भने, ‘तर अहिले व्यक्ति हत्याको शृंखला रोकिए पनि ठेक्कापट्टा, जग्गाजमिनको विवाद, लुटपाट तथा डकैती गर्ने बेरोजगार युवाहरूले धम्की दिनका लागि समूह बनाई यस्ता हतियारको प्रयोग गर्ने गरेको पाइएको छ ।’ इजाजतबिना हतियार राख्न वा लिएर हिँडेको मात्रै प्रमाणित भएमा ५ वर्षसम्म कैद तथा ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

अधिकारकर्मी राजकुमार राउत कुर्मी हतियारसहित फेला परेका व्यक्तिलाई छुटाउन राजनीतिक दलका नेताहरूले सिफारिस र दबाब दिने भएकाले आपराधिक क्रियाकलापले प्रश्रय पाइरहेको बताउँछन् । ‘सानातिना झैझगडामा पनि घरमै निर्मित साना हतियारको बढ्दो प्रयोग खतरा हो,’ उनले भने, ‘सहज र सस्तोमा पाइने यो हतियारको नियन्त्रणमा कडाइ गर्न प्रहरी, प्रशासन गम्भीर हुन आवश्यक छ ।’

प्रकाशित : असार १२, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×