कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

शिलान्यासको १ वर्षपछि पनि सुरु भएन अस्पताल निर्माण

देवनारायण साह

मोरङ — केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर १५ गते प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पतालसहित १४ वटा जिल्लामा ८६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेका थिए । तर हालसम्म एउटा पनि अस्पतालको निर्माणले तीव्रता पाएको छैन ।

मोरङको सुन्दरहरैचा नगरपालिका ११ कर्जुनामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिलन्यास गरिए पनि हालसम्म निर्माण काम सुरु हुन सकेको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जग्गामा सरुवा रोग अस्पताल शिलान्यास गरिएको हो ।

सरुवा रोग अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा ८ करोड बजेट प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पठाएको थियो । तर अस्पताल निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले हस्तक्षेप गरेकाले बजेट खर्च हुन नसकेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

यस्तै आधारभूत अस्पताल निर्माणका लागि मोरङको बेलबारी, लेटाङ, पथरीशनिश्चरे र रतुवामाई नगरपालिका र कानेपोखरी, केराबारी, बुढीगंगा गाउँपालिकामा बजेट आएको छ । लेटाङ नगरपालिका र बुढीगंगा गाउँपालिकामा १०/१० शैय्या र अन्यमा १५/१५ शैय्याको अस्पताल निर्माणका लागि बजेट आएको हो । त्यसमध्ये रतुवामाई नगरपालिकामा जग्गाको सुनिश्चितता नभएपछि बजेट फिर्ता गएको प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालले बताए ।

अन्य ६ वटा पालिकामा अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भएर बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीमा मात्रै निर्माण काम सुरु भएको जनप्रतिनिधिहरूले बताए ।

यस्तै, ताप्लेजुङको ६ वटा स्थानीय तहमध्ये सिरीजङ्घा गाउँपालिकामा मात्रै टेण्डर प्रक्रिया सुरु भएको छ भने अन्य पालिकामा अस्पताल निर्माण प्रक्रिया सुरु हुनै सकेको छैन ।

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला भने सरकारले समयमै बजेट नपठाइदिएकाले निर्माण कार्य समयमै सुरू गर्न नसकिएको बताउँछन् ।

इलामको सन्दकपुर गाउँपालिकामा १५ शैय्याको अस्पताल बनाउनका लागि शिलान्यास गरेको वर्ष दिन हुँदा समेत निर्माण कार्य अगाडि बढ्न सकेको छैन । सन्दकपुर गाउँपालिका अध्यक्ष इन्द्र राईले जग्गा मिलाउने काम सकिएर निर्माण काम सुरु हुन लागेको बताए ।

‘तराई, पहाड र हिमाली जिल्लामा एउटै मापदण्ड भएकाले पनि निर्माण कार्यमा ढिलाइ भएको छ,’ अध्यक्ष राईले भने, ‘तराई, पहाड र हिमालका लागि स्टिमेट र डिजाइनसमेत एउटै भएकाले पहाडी र हिमाली जिल्लामा भूगोल मिल्दो जग्गा भेट्टाउन समय लागेकाले निर्माणमा ढिलाइ भएको हो ।’

विपद्को समयमा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँमा पुर्‍याउने लक्ष्यसहित सरकारले स्वास्थ्य उपकरण र जनशक्ति सहितका आधारभूत अस्पताल सबै स्थानीय तहमा बनाउने घोषणा गरेको थियो तर समयमा बन्न नसक्दा कोरोनाको तेस्रो लहर फैलिँदा पनि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउनबाट सर्वसाधारण वञ्चित भएका हुन् ।

यस्तै झापामा ११, मोरङ, पाँचथर, इलाम, संखुवासभा, ओखलढुंगामा ७/७, ताप्लेजुङ, भोजपुर, खोटाङमा ६/६, तेह्रथुम, सोलुखुम्बु र सुनसरीमा ५/५, धनकुटामा ४ र उदयपुरमा ३ वटा अस्पताल शिलान्यास भएको थियो ।

यद्यपि अधिकांश अस्पतालको निर्माण काम सुरु हुनै सकेको छैन । केहीमा टेण्डर प्रक्रिया सकिएको छ भने केहीमा टेण्डर प्रक्रिया सकेर निर्माण कार्य सुरु भइरहेको पालिका अध्यक्षहरूले बताए । कतै जग्गा विवाद, कतै जनप्रतिनिधिबीचको स्वार्थको लडाइँ त कतै आफ्नो मान्छेलाई टेण्डर पार्ने प्रतिस्पर्धाले अस्पताल निर्माण चुनौतिपूर्ण बनेको जनप्रतिनिधिहरूको भनाइ छ ।

प्रकाशित : माघ ८, २०७८ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×