कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

शिक्षामा परोपकारी हात

सुर्खेतको वीरेन्द्रनगरकी रचना सुनार बालन शिक्षा एकेडेमीकी प्रिन्सिपल हुन् । उनको विद्यालयमा हाल ४० बालबालिकाले निःशुल्क अध्ययन गरिरहेका छन् । विद्यालयले यही शैक्षिक सत्रमा थप २० जनाका लागि छात्रवृत्तिको आवेदन खुलाएको छ । 
तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की रचना सुनार बालविवाहले जरो गाडेको समुदायमा हुर्किइन् । ६ बहिनी र भाइमध्येकी जेठी हुन् उनी । मध्यम वर्गीय परिवारमा जन्मेहुर्केकी उनलाई पनि अभिभावकले कलिलैमा विवाह गरेर पठाइदिने तयारीमा थिए । १० कक्षामा पढ्दै गरेकी उनी भने विवाहका लागि राजी भइनन् ।

शिक्षामा परोपकारी हात

तर उनको परिवार भने त्यसमा टसमस भएन । त्यतिबेला नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको छात्रवृत्तिमा अध्ययनरत रचनाले जुक्ति लगाइन् । बालविवाह भयो भने छात्रवृत्तिमा अहिलेसम्म पाएको सबै पैसा संस्थाले फिर्ता माग्छ भनेपछि उनको परिवार पछि हट्यो ।

धेरै छोरी भएकै कारण रचनाकी आमाले पारिवारिक र सामाजिक भेदभाव सहनुपरेको थियो । छोरीहरूले गाउँ बदनाम गराउने र कुल धान्ने छोरा नभएको भन्दै आफन्त र गाउँलेले आमामाथि तिखा वचन लगाएको सानैदेखि सुन्दै आएकी थिइन् रचनाले । त्यसैका कारण पनि उनमा परिवार र समाजका लागि केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति पलाएको थियो । सानैबाट शिक्षक पेसामा रुचि राख्ने उनले कक्षा १० को परीक्षा दिएपछि नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पाँच महिना पढाइन् । त्यसयता रचना निरन्तर शिक्षा क्षेत्रमै क्रियाशील भए पनि हाल भूमिका फेरिएको छ । त्यो हो, बालन शिक्षा एकेडेमीकी प्रिन्सिपल ।

तर यो भूमिकासम्म आइपुग्न भने रचनाले निकै मिहिनेत गरेकी छन् । सुरुमा उनले धूलो माटोमा खेल्दै आएका ६/७ जना बालबालिकालाई जम्मा गरेर चौरमै खेलाउने, कपाल काट्दिने, सरसफाइ गर्दिनेलगायतका काम गरिन् । । केही दिनपछि बच्चाहरूमा आएको परिवर्तन देखेर अभिभावकहरू रचनालाई खोज्दै आए । ‘ट्युसन, बाल क्लब, चर्ज वा के हो यो ?’ त्यतिबेला अभिभावकले उनलाई सोधेका थिए । आफूले पैसाका लागि नभई विद्यालय खोल्ने प्रयास गरेको बताइन् । ‘त्यो कुरा सुनेर सबैले मलाई हाँसोमा उडाए,’ उनले भनिन्, ‘केहीले त मलाई जागिर गर्नका लागि पनि सुझाए ।’

तर रचनाले भने विद्यालय खोलेर सकेसम्म निःशुल्क शिक्षा दिने सपना त्यागिनन् । २०७५ मा उनले विद्यालय सञ्चालनमा ल्याइन पहिलो वर्ष ६/७ जना अभिभावकले विश्वास गरेर बच्चा भर्ना गरेका उनले बताइन् । ‘पहिलो वर्ष ५ देखि ६ सय रुपैयाँसम्म शुल्क लिएँ,’ उनले भनिन्, ‘त्यसबाट शिक्षकलाई तलब दिएँ र बालबालिकाका लागि सामानहरू किने ।’ छोटो समयमै बच्चाहरूको प्रगति देखेपछि विद्यालयमा ६० जना बच्चा भर्ना भए । तर आफूले छात्रवृत्तिमा पढ्ने अवसर पाएकी रचनाले केही विद्यार्थीलाई निःशुल्क पढाउने योजना बनाइन् ।

‘आर्थिक अवस्था निकै कमजोर भएका १० जना विद्यार्थीलाई त्यही वर्षदेखि निःशुल्क पढाउने थालें,’ उनले भनिन्, ‘त्यसपछि भने विज्ञापन नै खोलेर छनोट गरी निःशुल्क रूपमा पढाउन थालिएको हो ।’ उनको विद्यालयमा हाल ४० बालबालिकाले निःशुल्क अध्ययन गरिरहेका छन् । यही शैक्षिक सत्रका लागि २० जनाका लागि आवेदन खुलाएकी छन् रचनाले । आवेदन आएपछि डकुमेन्ट हेर्ने र अन्तर्वार्ता लिएर विद्यार्थीहरू छनोट गर्ने गरेको उनले बताइन् । आवश्यक परे घरैसम्म गएर पनि विद्यार्थी र अभिभावकको अवस्थाबारे बुझ्ने गर्छिन् ।

रचनाका अनुसार हाल निःशुल्क अध्ययन गरिरहेका १५ जना बालबालिकालाई फ्रिडम फन्टले सहयोग गर्दै आएको छ । पाँच जना बालबालिकाको अभिभावकत्व स्थानीय व्यक्तिहरूले लिएका छन् । अरू बालबालिकाको खर्च उनी आफैंले बेहोर्छिन् । निःशुल्क पढाएका मध्ये केही सडक बालबालिका पनि छन् । ‘हामीले कक्षा ४ सम्मका बालबालिका भर्ना गर्ने गरेका छौं,’ रचनाले भनिन् । त्यसपछि भने अन्य विद्यालयमा पढाउने उनले बताइन् ।

रचनाको परिचय विद्यालयको प्रिन्सिपलमा मात्र सीमित छैन । विद्यालय सञ्चालन गर्नुअघि उनी संवाद समूहमा आबद्ध थिइन् । उनको नेतृत्वमा संवाद समूहले ८० भन्दा बढी बालविवाह रोकेको थियो । त्यसका साथै पढाइ छोडेका गाउँका धेरै बालबालिकालाई विद्यालय भर्ना गर्न सफल भएकी थिइन् उनी । सानैमा विद्यालय छाडेका १० जना आमाहरूलाई उनले अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारे सुर्खेतमा भर्ना पनि गरिदिइन् । उनीहरूलाई कापीकिताब व्यवस्था गरिदिनेदेखि लिएर अंग्रेजी, गणित, विज्ञानको ट्युसन लिन लगाएर शुल्क पनि तिरिदिइन् । १० मध्ये ८ जनाले ८ कक्षा पास गरे भने दुई जनाले एसईई पास गरेपछि ११/१२ मा पढ्दै गरेका छन् । पढ्दै गरेकालाई मन्टेश्वरी तालिम दिएर शिक्षक बनाउने योजना छ उनको ।

रचनालाई बालबालिकाको मात्र होइन, उनीहरूका अभिभावकको चिन्ता पनि उत्तिकै छ । प्रत्येक महिना समाजका प्रभावशाली व्यक्तिसँग विद्यार्थी र गाउँका महिलाबीच स्वास्थ्य, शिक्षालगायतका विषयमा छलफल पनि गराउँछिन् उनले । त्यस्तै, समुदायका अभिभावकको लागि पनि आयआर्जनमूलक कार्यक्रममा जोड्ने गर्छिन् । जिल्लामा काम गरिरहेका विभिन्न संघसंस्थासँग मिलेर उनले अभिभावकलाई सीपसँग जोड्ने गर्छिन् । केहीले पार्लरको काम सिकेर व्यवसाय चलाएका छन् भने केहीले सिलाइकटाइको काम गर्छन् ।

यसका साथै एक दशकदेखि उनले ‘बाल बगैंचा’ कार्यक्रम पनि चलाउँदै आइरहेकी छन् । कार्यक्रममा उनले हरेक शनिबार विभिन्न विद्यालयका विद्यार्थीलाई पढ्न प्रेरित गर्नेदेखि लिएर एकअर्काका समस्या सुन्ने र समाधान निकाल्ने काममा जुटाउँछिन् । बालबालिकाहरूले अतिरिक्त क्रियाकलाप पनि बाल बगैंचामा आएर सिक्छन् र अभ्यास गर्छन् । बालबालिकाकै क्षेत्रमा काम गरेको भन्दै रचनाले २०१७ मा नर्वेमा ‘हियर माई भ्वाइस’ अवार्ड पनि पाइन् । नेपाली पाँच लाख बराबरको अवार्डबाट पाएको रकमबाट उनले विद्यार्थीका लागि शैक्षिक र खेलकुदका सामग्री किनिन् । रचनालाई नेपाल सरकारले २०२० मा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको थियो ।

प्रकाशित : वैशाख २०, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?