कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

रासस

काठमाडौँ — पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले उक्त जानकारी दिएका हुन् ।

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनले भने, 'आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौँ । अब आगामी साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क गर्छौं ।'

यसैगरी सदस्यसचिव थापाले सेतो सत्तल गुहेश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिए ।

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव थापाले मंगलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गरेका छन् ।

विशेष अदालतले मंगलबार सदस्यसचिव थापासहित प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते उनीहरु तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित : वैशाख १९, २०८१ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?