कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

रुस्दीको 'नाइफ'

लेखक सलमान रुस्दीले दुई वर्षअघि आफूमाथि भएको आक्रमणबारे ‘नाइफ : मेडिटेसन्स् आफ्टर एन एटेम्प्टेड मर्डर’ पुस्तक सार्वजनिक गरेका छन्, जसमा उनले चक्कु आक्रमण र त्यसपछि गुजार्नु परेका कठिन अवस्थाबारे लेखेका छन्
सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले रुस्दीको हत्या गर्न फतवा नै जारी गरे, फतवामा पुस्तक प्रकाशनमा संलग्न सबैको हत्या गर्न भनिएको थियो भने रुस्दीको हत्यामा संलग्नलाई पुरस्कृत गर्ने उल्लेख थियो
रुस्दीले पुस्तकका ३० पानामा आक्रमणकारीबीच कल्पना गरिएको संवाद उल्लेख गरेका छन्, उक्त संवाद सिंगो पुस्तककै सबैभन्दा रमाइलो अंश भएको उनको दाबी छ

काठमाडौँ — उपन्यास लेखेकै कारण इरान सरकारले टाउकाको मूल्य तोकेपछि विश्वप्रसिद्ध लेखक सलमान रुस्दी वर्षौंसम्म लुकेर बसे । एक दशकभन्दा लामो समयको विरक्त जीवनबाट अघाएका रुस्दीलाई एक दिन लाग्यो, ‘ओहो ∕ मैले त मेरो आफ्नै जीवन पो बाँच्नुपर्छ ।’ त्यसलगत्तै उनको दैनिकी फेरियो । बिस्तारै सामाजिक गतिविधिमा सक्रिय हुन थाले ।

रुस्दीको 'नाइफ'

अनि, देखिन थाले साहित्यिक कार्यक्रममा निर्धक्क र कुनै सुरक्षाबिना नै । २०२२ अगस्ट १२ को दिन भने रुस्दीको जीवनमा निकै भयानक भएर आयो, एक छटपटाहटपूर्ण सपनाजस्तो ।

अमेरिको न्युयोर्क सहरमा आयोजित एक साहित्यिक कार्यक्रममा बोल्नका लागि स्टेजमा उभिएका थिए रुस्दी । राल्फ हेनरी रिजसँग हुने एउटा अन्तरसंवादका लागि कार्यक्रममा पुगेका थिए उनी । तर संवाद हुनुअघि नै रुस्दीमाथि भयानक आक्रमण भयो । अमेरिकाको न्युजर्सीका २४ वर्षीय हादी मतारले हत्या गर्ने उद्देश्यले रुस्दीको पेट र घाँटीमा कम्तीमा एक दर्जन पटक चक्कु प्रहार गरे ।

आक्रमणपछि रुस्दी तत्कालै भुइँमा ढले । कार्यक्रममा उपस्थित मानिसहरू मञ्चमा पुगेर उठाएपछि उनलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पताल पुर्‍याइयो । सात घण्टा लामो शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थाबारे सूचना सार्वजनिक गरियो । ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन्,’ रुस्दीका एजेन्ट एन्ड्रिउ वाइलले भनेका थिए, ‘पाखुराका नसा काटिएका छन् र चक्कु प्रहारबाट कलेजोमा क्षति पुगेको छ ।’

उपचारका क्रममा अस्पतालमा १८ दिन र रिहाबमा तीन साता बिताए रुस्दीले । त्यतिबेला एक शल्यचिकित्सकले रुस्दीलाई भनेका थिए, ‘तपाईं वास्तवमा भाग्यमानी पनि हो र अभागी पनि ।’ त्यतिबेला रुस्दीले सोधे– भाग्यमानी कुन अर्थमा ? ‘तपार्इंलाई आक्रमण गर्ने व्यक्तिलाई चक्कु प्रहार गरेर मानिसलाई कसरी मार्ने भन्ने थाहा थिएन ।

चिकित्सकले भनेजस्तै भाग्यमानी भएका कारण रुस्दीले पुनर्जीवन पाए । तर विडम्बना ∕ अमेट घाउ बोक्न बाध्य भए । चक्कु आक्रमणमा कलेजोमा गहिरो चोट लागेका कारण उनले दायाँ आँखाको ज्योति गुमाए । उनको एउटा हात केही काम गर्न सक्ने अवस्थामा रहेन । आक्रमणलगत्तै प्रहरीले नियन्त्रणमा लिएका मतारलाई दोस्रो तहको हत्या अभियोग लगाइएको छ । पुनर्जीवन पाएपछि रुस्दीले २०२३ मा पहिलो उपन्यास बजारमा ल्याए, ‘भिक्ट्री सिटी’ । यद्यपि, उक्त पुस्तक लेखनका लागि उनले पहिलेदेखि नै तयारी गरिरहेका थिए । उक्त पुस्तकमा रुस्दीले १४ औं शताब्दीमा एक सहरमा शासन गर्ने र पितृसत्तात्मक समाजलाई चुनौती दिने महिलाको कथा लेखेका छन् ।

जीवन नै खतरामा पार्ने २०२२ को आक्रमणका विषयमा भने रुस्दीले हालै एक पुस्तक बजारमा ल्याएका छन् । र, यसको नाम हो, ‘नाइफ ः मेडिटेसन्स् आफ्टर एन एटेम्प्टेड मर्डर’ । पुस्तकमा रुस्दीले आफूमाथिको चक्कु आक्रमण र त्यसपछि गुजार्नु परेका कठिन दिनको विस्तृत विवरण उतारेका छन् । खासमा यो त्यतिमा मात्रै सीमित छैन । यसमा उनले आफ्नो जीवनबारे लेखका छन् । आफ्नो विवाह र सन्तानका विषय उठाएका छन् । र, यसमा मृत्युको मुखबाट बाँचेका रुस्दीको जीवनको नयाँ संस्करणबारे उल्लेख छ ।

रुस्दीले पुस्तकका ३० पानामा आफू र आक्रमणकारीबीच भएको संवाद उल्लेख गरेका छन् । कल्पना गरेर तयार पारिएको उक्त संवाद पुस्तकको सबैभन्दा रमाइलो अंश भएको रुस्दी बताउँछन् । पुस्तकमा उनले चक्कु प्रहार गर्ने मातरको नाम भने लेखेका छैनन् । आक्रमणकारीलाई उनले ‘ए’ भनेर उल्लेख गरेका छन् ।

‘त्यो मात्र २४ वर्षको व्यक्ति हो । उसलाई थाहा हुनुपर्थ्यो कि उसले आफ्नो र मेरो पनि जीवन बर्बाद गर्न गइरहेको छ । तर पनि ऊ हत्या गर्न तयार थियो,’ रुस्दी भन्छन्, ‘ऊ कुनै आपराधिक पूष्ठभूमि नभएको व्यक्ति हो र कुनै प्रकारको आतंकवादी निगरानी सूचीमा पनि थिएन ।’

‘खासमा मलाई ती व्यक्ति (आक्रमणकारी) सँग भेट्न र केही प्रश्न सोध्न मन थियो,’ रुस्दीले गार्डियनसँगको अन्तर्वार्तामा भनेका छन् । तर पेरिसको चक्कु आक्रमणको घटनाबारे अध्ययन गरेपछि आफ्नो सोच बदलिएको रुस्दी बताउँछन् ।

उक्त मुद्दाको सुनुवाइको अन्त्यमा घटनाका पीडित स्यामुयल बेक्केटले ‘मलाई किन चक्कु प्रहार गरेको’ भनेर आक्रमणकारीलाई सोधेका थिए । तर त्यसको जवाफमा आक्रमणकारीबाट उनले पाएको जवाफ थियो, ‘मलाई थाहा छैन । तर मलाई माफ गरिदिनूस् ।’ त्यसपछि भने आफूले कल्पना गरेर संवाद लेख्नु नै उचित हुने ठानेको रुस्दीको भनाइ छ ।

आक्रमणकारी मतारले जेलबाटै अमेरिकी अखबार न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिएका थिए । त्यसमा उनले ‘रुस्दी इस्लामलाई आक्रमण गर्ने व्यक्ति भएको’ दाबी गरेका थिए । मातरले ‘रुस्दी आक्रमणपछि पनि बाँच्न सफल भएकामा आफूलाई आश्चर्य लागेको’ बताएका थिए ।

साहित्यिक लेखनमा करिब पाँच दशक लामो अनुभव छ रुस्दीसँग । १९४७ जुन १९ मा भारतको बम्बे (हाल मुम्बई) मा कश्मीरी मुस्लिम परिवारमा जन्मिएका हुन् उनी । अध्ययनका लागि १९६४ मा बेलायत पुगेका अहमद सलमान रुस्दी पछि उतैको नागरिक बने । बेलायती नागरिक बनेपछि उनले मुस्लिम धर्मका संस्कार त्याग्दै गए । विज्ञापनसम्बन्धी काम गरेका रुस्दीले केही समय अभियनमा पनि बिताए । तर अभिनय क्षेत्रमा खासै नजमेपछि उनी साहित्यतिर लागे ।

१९७५ मा पहिलो पुस्तक ‘ग्रिमस’ बजारमा ल्याए । तर पुस्तकले सोचेअनुसार सफलता पाएन । तर पनि उनी आलोचकका नजरमा ‘सम्भावना बोकेका लेखक’ का रूपमा भने दरिए । पहिलो पुस्तक लेखेको ६ वर्षपछि उनको दोस्रो कृति ‘मिडनाइट्स चिल्ड्रेन’ बजारमा आयो । यसले उनलाई पहिलो पुस्तकको असफलता मात्र बिर्साइदिएन, बुकर पुरस्कार पनि जित्यो । रुस्दीले पाँच वर्ष लगाएर तयार पारेको पुस्तक त्यतिबेला बेलायतमा मात्रै १० लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । सन् १९८८ मा ‘द सटानिक भर्सेस’ लेखेपछि भने उनको जीवनले नयाँ मोड लियो । पुस्तकमा ईश्वर निन्दा गरेको भन्दै उनलाई इस्लाम धर्मसँग सम्बन्धित कैयौं व्यक्तिले ज्यान मार्ने धम्की दिए । जसका कारण रुस्दीको दैनिकी फेरियो ।

पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै विश्वभर नै हंगामा भयो । विवाद र आक्रोश बढ्दै गएपछि ज्यान जोगाउन उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भए । बेलायत सरकारले रुस्दीलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो । तर पुस्तकमाथिको विवाद चर्किंदै गएपछि ‘साहित्यिक विश्व’ नै दुई धारमा विभाजितजस्तै देखियो । रुस्दीविरुद्ध उभिएको मुस्लिम विश्वले लेखक र पुस्तकप्रति कडा प्रतिक्रिया दिन थाल्यो । यद्यपि, पश्चिमा मुलुक भने रुस्दीको पक्षमा देखिए । पश्चिमा देशका लेखक तथा बौद्धिक वर्गले मुस्लिम कट्टरपन्थीले रुस्दीलाई दिएको धम्की अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भन्दै विरोध गरिरहे । उपन्यास अति यथार्थवादी र उत्तरआधुनिक भएको तथा यसले ईश्वर–निन्दा नगरेको उनीहरूको दाबी थियो ।


रुस्दीको जीवन नै खतरामा पार्ने पुस्तक ‘द सटानिक भर्सेस’ १९८८ को सेप्टेम्बरमा छापिएको हो । पुस्तकमा उठाइएको विषयवस्तु धर्मविरोधी रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनायो । फलस्वरूप रुस्दीको जन्मदेश भारतले नै पहिलो पटक पुस्तकमाथि प्रतिबन्ध लगायो । त्यसपछि पाकिस्तानलगायत विभिन्न मुस्लिम देश तथा दक्षिण अफ्रिकाले पनि प्रतिबन्ध लगाए ।

तर, पश्चिमा देशहरूमा उपन्यासको निकै प्रशंसा भयो र ह्विटब्रेड पुरस्कार प्राप्त गर्‍यो । त्यसले झन् मुस्लिम समुदायलाई आक्रोशित बनायो र सडक प्रदर्शन हुन थाले । मुस्लिम धर्मगुरुहरूले त्यसलाई ‘इस्लामको अपमान’ का रूपमा व्याख्या गर्न थाले । उनीहरूले पुस्तकमा उल्लेख गरिएका कैयौं विषयवस्तुमा आपत्ति जनाएका थिए ।

पुस्तकमा यौनकर्मीका रूपमा चित्रित दुई पात्रको नाम इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका दुई श्रीमतीको नामसँग मिलेपछि मुस्लिम समुदाय निकै आक्रोशित बनेको थियो । त्यस्तै, मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस) सँग पुस्तकको नाम जोडिएका कारण पनि यसले विरोध र आक्रोश निम्त्याएको थियो ।

पुस्तक प्रकाशन भएको अर्को वर्ष सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले रुस्दीको हत्या गर्न फतवा नै जारी गरे । फतवामा पुस्तक प्रकाशनमा संलग्न सबैको हत्या गर्न भनिएको थियो भने रुस्दीको हत्यामा संलग्नलाई पुरस्कृत गर्ने उल्लेख थियो । खोमेनीले रुस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोके । पुस्तकका कारण पश्चिमा देश र इरानबीचको कूटनीतिक सम्बन्धमा समेत तनाव उत्पन्न भयो । इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा आक्रमणहरू भए । बेलायत र केही मुस्लिम नेताले त्यसलाई परिमार्जन गर्न आग्रह गरे । अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशले रुस्दीलाई दिइएको हत्याको धम्कीको निन्दा गरे । केहीले भने इरानी सर्वोच्च नेता रुहोल्लाहलाई समर्थन गरे ।

सन् १९८९ जनवरीमा बेलायतको ब्राडफर्डमा मुस्लिमहरूले विरोध जनाउँदै पुस्तकको एक प्रति जलाए । त्यसको केही महिनामा रुस्दीको विरोधमा भएका प्रदर्शनमा केही मानिसको ज्यान गयो । पुस्तक प्रकाशक भाइकिङ पङ्गुइनको लन्डनस्थित कार्यालयमा मुस्लिमहरूले धर्ना दिए भने न्युयोर्क कार्यालयमा हत्याको धम्की पठाए । तर पुस्तक भने दुवै देशमा ‘बेस्टसेलर’ बन्यो । युरोपेली आर्थिक समुदाय (ईईसी) मा आबद्ध देशले अतिवादी मुस्लिमले दिएको प्रतिक्रियाको विरोधमा भएका प्रदर्शनलाई समर्थन गरे र अस्थायी रूपमा तेहरानबाट राजदूतहरूसमेत फिर्ता बोलाए ।

श्रीमतीसहित लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिम समुदायमाथि परेको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे । रुस्दीले ईश्वर निन्दाका अभियोग अस्वीकार गर्दै आएका छन् । आफ्नो उपन्यासले मुख्य रूपमा आप्रवासी अनुभव केलाएको रुस्दीको दाबी छ । तर इरानी नेता खोमेनीले रुस्दीको हत्याको आह्वान जारी नै राखे ।

सन् १९८९ को फेब्रुअरीमा रुस्दीविरुद्ध मुस्लिमहरूले मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १२ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए । त्यस्तै, भारत प्रशासित कश्मीरमा पुस्तकको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ३ जनाको मृत्यु भएको थियो । कम्तीमा एक सय जना घाइते भएका थिए ।

पाकिस्तानको इस्लामाबादस्थित अमेरिकी सूचना केन्द्रबाहिर चर्केको हिंसामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा ८३ जना घाइते भए । १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खोमेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गरेका थिए । पछि सन् २००४ मा मुम्बई आउँदा पनि मुस्लिमहरूले रुस्दीको चर्को विरोध गरेका थिए ।

‘द सटानिक भर्सेस’ को विषयवस्तुका कारण लेखक रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेन, पुस्तकका जापानी अनुवादक हितोसी इगारसी युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा १९९१ को जुलाईमा मृत फेला परे । संस्कृति विषयका सहायक प्राध्यापक हितोसीलाई कैयौं पटक छुरा प्रहार गरेर छाडिएको थियो । १९९१ मै इटालीका अनुवादक इटोरे क्रपिओलोलाई पनि छुरा प्रहार गरियो । तर उनी ज्यान जोगाउन सफल भए ।

चार पटक विवाह गरेका रुस्दीका दुई सन्तान छन् । उनी २००० यता अमेरिकामा बस्दै आएका छन् । रुस्दीले साहित्य सेवाका लागि बेलायती महारानीबाट दिइने उच्च नाइट उपाधि पाइसकेका छन् । २००७ मा नाइट उपाधि दिएका बेला पनि पाकिस्तान र इरानमा विरोध प्रदर्शन भएका थिए ।

‘द सटानिक भर्सेस’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई केन्द्रमा राखेर उनले ‘जोसेफ एन्टोन’ शीर्षकमा संस्मरणसमेत लेखेका छन् । ‘मिडनाइट चिल्ड्रेन’मा भारतीय कथावस्तु उठाएका रुस्दीले तेस्रो उपन्यास ‘सेम’मा पाकिस्तानबारे लेखे । रुस्दीका ‘हरुन एन्ड द सी अफ स्टोरिज’, ‘द मुअर्स लास्ट साई’, ‘द ग्राउन्ड बिनिथ हर फिट’, ‘फ्युरी’, ‘सालिमार द क्लाउन’, ‘द इन्च्यान्ट्रेस अफ फ्लोरेन्स’, ‘टु इअर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स’, ‘द गोल्डेन हाउस’, ‘किचोट’ लगायतका कृति प्रकाशित छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : वैशाख १९, २०८१ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?