१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

तीनपुस्ते लेन्सबाट उपत्यका

विन्ड हर्स ग्यालरीमा ‘पोस्टकार्ड्स फ्रम काठमाडूज पास्ट’ प्रदर्शनीमा राखिएका तस्बिरमा १९६० देखि २०२३ सम्मको काठमाडौं उपत्यकाको परिवर्तित स्वरूपसँग साक्षात्कार
सहरीकरणको होडमा रहेको उपत्यकामा बस्ती बढेका छन्, अग्ला घर–भवन र सडक विस्तार तीव्र छ, जसको साक्षी समय बताउने तस्बिर छन्
रीना मोक्तान

बौद्ध यस्तो पो थियो ? आश्चर्यचकित हुँदै छेउमा भएकी साथीलाई भित्तामा झुन्डिएको तस्बिर देखाउँदै थिइन् एक महिला । उनी थप बोल्नुअघि अर्की साथी गम्भीर भइहालिन्, ‘स्वयम्भू पनि यस्तै पो भए ।’ तीनै जनाको ध्यान त्यही तस्बिरमा । भूकम्पले गजुरविहीन भएको बौद्धको भत्किएको स्वरूप । छेउमा माटो र इँटाका थुप्रा । स्तूपको सेतो रङ धुलो–माटोले ढाकेको छ । प्रार्थना गरिरहेको समूह र बौद्धको भत्किएको स्वरूपलाई सुन्दर ढंगमा एउटै फ्रेममा कैद गरिएको छ । झट्ट हेर्दा लाग्छ, ‘भूकम्पले भत्किएकाहरूका लागि यो समूहले प्रार्थना गर्दै छ ।’

तीनपुस्ते लेन्सबाट उपत्यका

विन्ड हर्स ग्यालरीमा ‘पोस्टकार्ड्स फ्रम काठमाडूज पास्ट’ शीर्षकमा प्रदर्शनीमा राखिएको तस्बिर हो यो । दास परिवारका नयाँ पुस्ताले खिचेको तस्बिरको स्टेटमेन्टमा लेखिएको छ, ‘अनब्रोकन डिभोसन’ अर्थात् अटुट आस्था ।

कसिसदास श्रेष्ठले सन् २०१५ मा खिचेको यही तस्बिरको लहरमै झुन्डिएको छ, बौद्धको नौलो दृश्य । गुजमुज्ज परेका थोरै घरहरूले घेरिएको छ, बौद्ध स्तूप । घरभन्दा धेरै हरिया जंगल । स्तूपको पृष्ठभूमिमा छ सेतो हिमाल । लहलह झुलेका धानछेउ टक्क उभिएको बौद्धको यो तस्बिरले सन् १९६२ तिर पुर्‍याउँछ । गजुरसहितको बौद्धको दृश्य निकै शालीन देखिन्छ । कसिसका हजुरबुवा द्वारिकादासले खिचिएको यो तस्बिरलाई श्यामश्वेत र रंगीन भर्सनमा प्रदर्शनमा राखिएको छ । दुवै तस्बिरले त्यतिबेलाको इतिहासलाई जोगाइरहे झैं लाग्छ । त्यतिबेलाको समय, समाज र स्वरूप तस्बिरमा अटाइएको छ ।

दास परिवारका तीनपुस्ते पोस्टकार्डमा ९० को दशकको काठमाडौं र इतिहास भेटिन्छ । १९६० देखि २०२३ सम्म आइपुग्दाका काठमाडौंका परिवर्तित स्वरूपलाई दासका तीन पुस्ताले खिचेका लेन्सहरूबाट साक्षात्कार गर्न पाइन्छ । बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमण होस् वा पुराना घरहरूले सजिएको काठमाडौं । भक्तपुरको दरबार स्क्वायरमा बाख्रा डोर्‍याइरहेका तस्बिर होस् वा नौतले धरहरा अगाडि चरिरहेका गाईबस्तु । नेपालमा पोस्टकार्डलाई प्रारम्भ गरेका यी तीन पुस्ताको तस्बिरमा इतिहास र वर्तमानको कोलाज भेटिन्छ । साथै प्रस्ट देखिन्छ, सहरीकरणले कुरूप बन्दै गएको काठमाडौं । त्यसैले त प्रदर्शनीका तस्बिर नियाल्नमा व्यस्त फोटोग्राफर विकास रौनियार भन्दै थिए, ‘छोटो समयमा काठमाडौं परिवर्तन भयो । तर, त्यो परिवर्तन विकास थियो कि विनाश भन्ने प्रश्न छ है ?’


विकासलाई प्रदर्शनीको पहिलो दिनमै ग्यालरीमा डोर्‍याउने अर्को कारण रहेछ, ज्ञानेन्द्रदास श्रेष्ठ । कसिसका बुवा ज्ञानेन्द्रले विकासलाई त्यतिबेला खुबै सहयोग गरेका रहेछन् । कान्तिपथको दास स्टुडियोमा फोटो धुलाउन विकास पनि पुगिरहन्थे । प्रदर्शनीमा राखिएका ज्ञानेन्द्रका कति तस्बिर त उनले उहिल्यै हेरिसकेका थिए । ऐतिहासिक महत्त्वका तस्बिर संरक्षणमा नयाँ पुस्ता कसिसले पुर्‍याएको योगदानको उनी खुलेर तारिफ गर्छन् । ‘सबैभन्दा ऐतिहासिक महत्त्वका तस्बिरहरूको संग्रह छ दास स्टुडियोमा । कसिसको पुस्ताले यसलाई सुरक्षित राखेको छ । यसले हाम्रो भिजुअल इतिहासलाई संरक्षण गर्नमा ठूलो योगदान पुर्‍याउँछ,’ विकासले तस्बिरहरू नियाल्दै भने, ‘तस्बिरमा काठमाडौंको विकास र विनाश दुवै देखिन्छ । कस्तो थियो, भू–दृश्य कति परिवर्तन भयो भन्ने कुरा १९६० तिरका बौद्धको तस्बिरमा देखिन्छ । बौद्धको पछाडि देखिएको हिमालको दृश्य र वर्तमान अवस्थाले उपत्यकामा आएको ठूलो परिवर्तन देखाउँछ । त्यसैले उपत्यकालाई जोगाउनुपर्ने कुरामा पनि प्रेरित गर्छ जस्तो लाग्छ । त्यतिबेलाको उपत्यकालाई हेर्नु त अहिलेको पुस्ताका लागि दुर्लभ अनुभव हुनेछ ।’ विकासलाई प्रदर्शनीमा राखिएका ‘एयरपोर्ट’ को तस्बिर निकै रोचक लागेछ । त्यो बेलाको विमानस्थल एउटा टावर र छेउमा विमान देखिन्छ । विमान राखिएको जमिन चिल्लो छैन । एयरपोर्टको पृष्ठभूमिमा हिमाल सेतै देखिन्छ । ‘विमानस्थल त्यतिबेला गौचरन थियो । तस्बिरले त्यही देखाउँछ,’ विमान चित्रित तस्बिरमा घोत्लिँदै विकासले भने ।

प्रदर्शनीमा राखिएका तस्बिरले पनि सहरीकरणकै विषय पछ्याएको छ । विकासनिर्माणका नाममा ठडिँदै गएका कंक्रिटको सहर काठमाडौंले पुरानो सौन्दर्य हराउँदै त गएको होइन ? उपत्यकामा सहरीकरण तीव्र छ । कति तीव्र छ भन्ने तस्बिरले देखाउँछन् । खुला र हरियाली घट्दै घरहरू बढेका छन्, सडक विस्तार भएको छ ।

‘प्रदर्शनीमार्फत मैले पनि नेपालको सहरीकरणमाथि नै मानिसहरूको ध्यान तान्न खोजेको हो खासमा । पुरानो भन्नेबित्तिकै नराम्रो पनि होइन, नयाँ भन्नेबित्तिकै नराम्रो पनि होइन । यी तस्बिरलाई जुम गरेर हेर्ने हो भने काठमाडौं उपत्यका हेर्दा बर्बादै भएको देखिन्छ । यसले केही परिवर्तन ल्याउला भन्ने अपेक्षा छैन, तर यसलाई मनन गरून्, सोचून्,’ कसिस सुनाउँछन्, ‘काठमाडौं के थियो र के भयो । अब बाँकी नेपालले काठमाडौंकै गल्तीलाई दोहोर्‍याउने कि सहरीकरणको प्रणालीलाई दिगो विकासका हिसाबमा सोच्ने ? टुँडिखेलको आकार घटिसक्यो, पशुपति पछाडिको खुला ठाउँ नै छैन । कंक्रिट विकासलाई हामीले विकासका रूपमा मात्र सोच्यौं भन्ने लाग्छ । सुधार्ने समय अझै छ भन्ने लाग्छ ।’

सहरीकरणलाई दिगो ढंगमा अगाडि बढाउन सके यसका सकारात्मक पाटाले लाभ दिने कसिसको भनाइ छ । ‘नगरपालिकामा मेयर २ पटक फेरिइसके । तर, वायु प्रदूषणमाथि काम नै हुँदैन । मेयरले यसलाई आफ्नो योजनामा राख्दै राख्दैन । सहरीकरणको नकारात्मक पाटो मात्रै छन् भन्ने होइन । पुरानो भन्दैमा राम्रो नै अनि नयाँ भन्दैमा नराम्रो नै भन्न मिल्दैन । पाटनको एउटा तस्बिरमा मेरो हजुरबुवाको समयमा गाडीलाई पाटनभित्रै पार्क गराइएको छ । तर, बुवाको पालासम्म आइपुग्दा त्यही ठाउँमा गाडी हटेर तरकारी र लुगाको बजार लागेको छ । तर, मेरो पालामा त्यही ठाउँको दृश्य खिच्दा पार्किङ र बजारलाई राख्न दिइएको छैन ।’

हजुरबुवा द्वारिकादासले दार्जिलिङमै दाइ दुर्गादास र बुवा ठाकुरदास प्रधान श्रेष्ठसँग फोटो खिच्न सिके । सन् १९४० तिरै उनीहरू हातले नै फोटोलाई रंगाउँथे । सन् १९२७ मा सुरु भएको दार्जिलिङको दास स्टुडियोले झन्डै सय वर्ष मनाउन लागिसक्यो । दार्जिलिङबाट काठमाडौं आएका द्वारिकाले भने काठमाडौंमा स्टुडियो खोले । कलर फोटो ह्यान्ड प्रिन्ट गर्नुपर्थ्यो । कसिसका बुवा ज्ञानेन्द्रले सन् १९८० मै ‘दास कलर ल्याब’ खोले । उनी नेपालमा डिजिटल कलर र कम्प्युटर कलर प्रोसेसिङ सुरुवात गर्नेहरूमै पर्छन् । कसिस जन्मँदा कलर फोटोग्राफी सामान्य भइसकेको थियो । प्रदर्शनीमा राखिएका तस्बिरहरूमै पनि त्यसको प्रयोग कलात्मक देखिन्छ । द्वारिका र ज्ञानेन्द्रका तस्बिर अधिकांश श्यामश्वेत छन् । केही रंगीन तस्बिरमै पनि पुराना टेक्चर । तर, कसिसका तस्बिरहरू रंगीन अनि चम्किला । तर, के श्यामश्वेत समयमा जिन्दगी रंगीन थिएन र ?

कसिसले खिचेको तलेजुको तस्बिरको पृष्ठभूमिमा ठूल्ठूला ट्यांकी देखिन्छ । मन्दिर परिसरमै पाइप देखिन्छ । रंगीन युगमा जीवन अस्तव्यस्त पो भइरहेको हो कि भन्ने भान हुन्छ । ‘यो प्रदर्शनीमा मैले फोटोलाई आर्टका रूपमा राखेको छु । त्यो फोटो खिच्दा नेपाल वायु प्रदूषणको पाँचौं देशमा परेको थियो,’ उनले भने, ‘यो फोटोको वास्तविक दृश्य स्मोकी छ । तर, यसलाई यहाँ नीलो देखाइएको छ । त्यसैले यो फोटो शीर्षक हो, एआई ब्लुस्काई । आकाशलाई नीलो बनाइएको छ ।’

तस्बिरहरू : केशव थापा/कान्तिपुर

डकुमेन्ट्री फोटोग्राफीमा आफ्नो पहिचान बनाइसकेका कसिस दास परिवारको विरासत जोगाउनुपर्छ भन्ने दबाबले फोटोग्राफीमा होमिएका होइनन् । संगीतले उनलाई फोटोग्राफीमा डोर्‍यायो । भुटानी शरणार्थी र सशस्त्र द्वन्द्वको समयताका हुर्कंदै गर्दा कसिसलाई लाग्यो, ‘मेरो पुस्तालाई यी घटनाहरू मैले नै बुझाउनुपर्छ ।’ सन् २००२ मा रोल्पा पुग्दा बुवा र हजुरबुवाले पत्याएकै थिएनन् । ‘मेरो आमालाई मेरो यो डकुमेन्ट्री शैलीको फोटोग्राफी मनपर्छ । बुवालाई त आई कन्ट्याक्ट हुने नै मनपर्छ । उहाँले आफ्नो पूरा समय त पोस्टकार्ड बनाउनमै खर्चनुभयो,’ कसिसले भने, ‘बुवालाई चाहिँ पोस्टकार्डजस्तै चिटिक्कको फोटो मनपर्छ ।’ हजुरबुवाको क्यामरा समातेर फोटोग्राफी सुरु गरेका कसिसको युग प्रविधिसँगै फड्को मार्दै छ । हजुरबुवा र बुवाले आफ्नो समयमा त्यतिबेलै सुन्दर तस्बिरहरू खिचे, कसिसलाई अहिले चुनौती छ, ‘काठमाडौंलाई उनीहरूले भन्दा फरक कसरी खिच्ने ?’

प्रकाशित : वैशाख १६, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?