कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

उपनिर्वाचनले इलामका होटलमा ६ करोड बढीको कारोबार

इलाम — माङसेबुङ–२ गजुरमुखी बजारस्थित परदेशी होटलकी सञ्चालक निर्मला कटुवाल वैशाख महिनामा निकै व्यस्त भइन् । उपनिर्वाचनमा भाग लिएका राजनीतिक दल, तिनका उम्मेद्वारसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताको आउजाउले व्यस्तता बढाएको उनले सुनाइन् । गजुरमुखी धार्मिक र पर्यटकीयस्थल हो । शनि, सोम र मंगलबार पाठपूजा र गजुरमुखीदेवीको दर्शन गर्न आउनेको भीड लाग्छ ।

उपनिर्वाचनले इलामका होटलमा ६ करोड बढीको कारोबार

‘बाँकी ४ दिन सुनसान प्रायः रहन्थ्यो, वैशाख लागेपछि कुनैदिन खाली बस्नु परेन, देशका मन्त्री र सांसद सबै आइपुगे व्यापार पनि राम्रै भयो,’ उनले भनिन् ।

इलाम बजारमा पाहुना घर सञ्चालन गर्दै आएकी अनिता कार्कीले चैत अन्तिमदेखि बढेको चहलपहल अहिलेसम्म जारी रहेको बताइन् । ‘कोरोना कहरपछि होटलहरुमा कहिल्यै यत्तिको चहल पहल भएको थिएन, ठूल्ठूला मेला र महोत्सव भएका थिएनन्, महिनाभरि दश–पन्ध जना पाहुनाको सत्कार गरेर व्यवहार चलाइयो, उपनिर्वाचनको माहौल सुरु भएपछि अचानक चाप बढ्यो, सुताउने ठाँउ नपुगेर फर्काउन पर्दा दुःख लागेको छ,’ कार्कीले भनिन् ।

राँके बजारका समिर राईले होटलसँगै स–साना चिया, चमेना र नास्ता पसलमा पनि पछिल्लो एक महिना राम्रै कारोबार भएको सुनाए । ‘दैनिक १ देखि २ हजार रुपैयाँको चियानास्ता बेचिन्थ्यो, चुनावको चहलपहल बढेपछि एकैदिन भएपछि २५ हजारसम्मको व्यापार गरियो,’ राईले भने ।

इलाम–२ मा पर्ने सदरमुकाम इलाम बजार सँगै मंगलबारे, नेपालटार, घुर्बिसे, राके, चिसापानी, माङसेवुङ र जीतपुरलगायतका होटल वैशाखमा प्रायः खाली भएनन् । प्रतिनिधिसभा तर्फ एउटै मात्र क्षेत्रमा चुनाव भएकाले इलाममा यो महिना नेता कार्यकर्ताको चहलपहल निक्कै नै बाक्लो थियो ।

होटल एशोसिएसन इलामका अध्यक्ष देवीप्रसाद पौडेल उपनिर्वाचनका क्रममा इलामका होटलमा साढे ६ करोड हाराहारी कारोबार भएको बताँउछन् । उनका अनुसार इलाम सदरमुकामसहित विभिन्न स्थानीय तहमा साना ठूला र मझौला गरी पाहुना राख्न मिल्ने साढे चार सय होटल छन् । ती होटलमा उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता भएपछि वैशाख १२ गते मौन अवधि सुरु नभएसम्म दैनिक ३ हजार ५ सय मानिस बास बसेको र उनीहरुले दैनिक जनही सरदर ९ सय रुपैयाँका दरले खर्च गरेको पौडेलले अनुमान गरे ।

तीन हजार ५ सय मानिसले होटल बास र खाना खर्चमा मात्रै दैनिक नौ सयका दरले खर्च गर्दा समग्रमा एकतीस लाख पचास हजार रुपैयाँको कारोवार भयो, मासुमदिरा र कोसेली खरिदविक्रीको हिसाव नजोड्दा पनि २० दिनमा होटल व्यवसाय तर्फ ६ करोड ३० लाखको कारोवार भएको उनको तर्क छ ।

‘प्रायः दलका नेता कार्यकर्ता समूहमै यहाँ आए, पर्यटकीय क्षेत्रको पहिचान बनाएको इलाम राजनैतिक पर्यटनको हब जस्तै भयो, चुनाव प्रचारप्रसारको बहानामा तीर्थाटन गरे, पर्यटकीय स्थल घुमे, सुस्ताएका इलामे व्यवसायीले ठाँउठाँउका पाहुनालाई सेवा गर्ने अवसर मिल्यो,’ पौडेल थप्छन् ।

उपनिर्वाचन भएको इलाम–२ का होटलबाहेक क्षेत्र नम्बर १ मा पर्ने श्रीअन्तु, कन्याम हुँदै सन्दकपुरसम्मका होटल र होमस्टे भरिभराउ थिए । निर्वाचनको बहानामा पर्यटन प्रवर्द्धन पनि राम्रो भएको स्थानीय बताँउछन् ।

प्रकाशित : वैशाख १९, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?