वासिङ्टन — अमेरिकाले सन् २०२३ अक्टोबरमा ७ मा इजरायलमा आक्रमण गराएको भन्दै हमास नेताहरूविरुद्ध मुद्दा चलाएको छ । अमेरिकाको कानुन मन्त्रालयका अनुसार याह्या इब्राहिम सिनवर र अन्य पाँच नेताहरूविरुद्ध मुद्दा लगाएको हो ।
सिनवर गत अगस्टयता हमासका राजनीतिक ब्यूरो प्रमुख छन् । मुद्दा लगाइएका अन्य नेतामा हमासका पूर्वप्रमुख इस्माइल हानिया, हमासको हतियार विभाग उपप्रमुख मार्वान ईसा, वेस्ट ब्यांक र गाजाबाहिर हमास नेता खालिद मसाल, मोहम्मद डेइफ र अलि बराका छन् । हानियाको गत जुलाई ३१ मा इरानमा हत्या भएको थियो ।
त्यस्तै, ईसा र डेइफको पनि इजरायलले गरेका पछिलल्ला आक्रणमा ज्यान गइसकेको दाबी गरिएको छ । सिनवार हाल गाजास्थित भूमिगत सुरुङमा लुकिरहेको ठानिएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार हमास नेताहरूमाथि गत फेब्रुअरीमा नै अभियोग दर्ता गरिएको थियो । तर उनीहरूमध्ये कसैलाई पक्राउ गर्न सकिने आशामा मुद्दा दायर गरिएको विषय गोप्य राखिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएको छ ।
हमास नेताहरूमाथि अमेरिकी नागरिकको हत्या गरेको, आतंकवादलाई आर्थिक सहयोग गरेको र विनाशकारी अस्त्रहरू प्रयोग गरेको लगायतका ७ वटा आरोप लगाइएको छ । बीबीसीका अनुसार उक्त मुद्दा हमासले ११ महिना अघि दक्षिणी इजरायलमा गरिएको भीषण हमला र केही दशकयता गरेका हिंसासँग सम्बन्धित छ ।
हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणमा करिब १२ सय जनाको ज्यान गएको थियो । आक्रमणलगत्तै हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । बन्धक बनाएर लगिएकामध्ये ६ जनाको शनिबार दक्षिणी गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमा शनिबार शव फेला परेको थियो ।
तीमध्ये पाँचजना इजरायली र एक अमेरिकी नागरिक रहेको पुष्टि भइसकेको छ । २७ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । ९७ जना भने अझै पनि हमासको नियन्त्रणमा छन् । अक्टोबर ७ को आक्रमणपछि इजरायलले सुरू गरेको जावफी आक्रमणमा गाजामा ४० हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्लन्डले ‘एक दशकदेखि अमेरिकी नागरिकको हत्या गर्ने, अमेरिकाको सुरक्षामा जोखिम पुर्याउने र त्यसका लागि आर्थिक प्रबन्ध गर्ने कार्यमा संलग्नहरूविरुद्ध’ मुद्दा दायर गरिएकोब बताए । उनका अनुसार प्रतिवादीहरूले इजरायललाई ध्वस्त पार्ने हमासको उद्देश्यका लागि सर्वसाधारण मानिसहरूको हत्याको नेतृत्व गरेका छन् ।
त्यस्तै, उनीहरूमाथि सार्वजनिक स्थानमा बम राखेर मानिसहरूको ज्यान लिएको, आतंकवादी आक्रमणका लागि अर्थ संकलन गरेको लगायतका अभियोग पनि लगाइएको छ ।
प्रकाशित : भाद्र १९, २०८१ १५:४४