Highlights
- युक्रेनमाथिको आक्रमणका कारण रुस र बेलारुसले पेरिस ओलम्पिकमा प्रतिबन्धको सामना गरिरहेका छन् । अर्कोतर्फ प्यालेस्टाइनमाथि आक्रमण गरेको इजरायलका ८८ खेलाडीले प्रतियोगितामा भाग लिइरहेका छन् । त्यसैले त प्रश्न उठेको छ– इजरायलमाथि प्रतिबन्ध हुन्न भने रुस र बेलारुसमाथि मात्रै किन ?
काठमाडौँ — नाममा के छ ? सबथोक हुन्छ । हुँदैन थियो त दक्षिण कोरिया पूरा देश नै त्यसै रिसाउने थिएन । भयो के भन्दा पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा दक्षिण कोरियाली टिमको पालो आउँदा नाम लिइएको थियो, ‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया’ भनेर । यो चाहिँ उत्तर कोरियाको औपचारिक नाम हो । शत्रु देशको नाम उसकै हो भनेर औपचारिक रूपमै घोषणा हुँदा दक्षिण कोरिया रिसाउने नै भयो, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसम्म नै गुनासो पुग्यो ।
र, कमिटीले माफी नै माग्नुपर्यो । अझ दक्षिण सुडानको कुरा । बास्केटबलको एउटा खेलमा दक्षिण सुडान प्युटोरिकाविरुद्ध भिड्दै थियो । खेल अगाडि जति बेला दक्षिण सुडानको राष्ट्रिय गीत बजाउनुपरेको थियो, बज्यो सुडानको । तुरुन्तै होहल्ला भयो । आयोजक अप्ठ्यारोमा परिहाल्यो । यसमा पनि ओलम्पिक कमिटीले माफी नमागी सुखै भएन । यस्ता केही न केही बिग्रेका घटना त पेरिस ओलम्पिकमा कति–कति, भनेर साध्यै छैन ।
अब त भन्न सुरु भएको छ, यसपल्टको ओलम्पिक अहिलेसम्मकै सबैभन्दा खराब हुन सक्छ । धेरैलाई ओलम्पिक भिलेजमै समस्या । अझ धेरैलाई त्यस भिलेजमा उपलब्ध खानामै समस्या । खेलाडीले आफूले भने जति पनि खान नपाउने पनि अवस्था । फेरि भिलेजबाट खेल स्थल जान उत्तिकै समस्या । पेरिस सहरको पूरा यातायातमै पनि समस्या । विशेषतः रेल संरचनामै । सञ्चार सम्बन्धमै पनि गतिलो हुन सकेन । यो त समस्याकै शृंखला भयो, त्यो पनि भर्खर प्रतियोगिता सुरु भएको स्थितिमा ।
भन्न त पेरिसको दाबी नै छ, यत्तिको ओलम्पिक कहिले पनि भएको छैन्, हुने पनि छैन । तर त्यस्तो हुन सकेको छैन । पेरिस ओलम्पिकको उद्घाटन समारोहलाई लिएर पनि धेरैलाई केही न केहीमा चित्त बुझेको छैन । धेरैलाई त गम्भीर गुनासो नै रहेको छ । लियोनार्दो दा भिन्चीको एउटा महान् कृति हो, ‘द लास्ट सपर’ । यसमा यशु आफ्ना १२ शिष्यसँग अन्तिम भोज लिएको दृश्य छ । उद्घाटन समारोहमा यसकै नक्कल गरेर घोचपेच गर्न खोलिएको आरोप छ ।
युक्रेनमाथि रुसी आक्रमणको विरोधमा पेरिसमा गरिएको प्रदर्शन ।
त्यसैले फ्रान्सभित्रै पनि यो ‘ओलम्पिकलाई बहिस्कार गरौं’ भन्ने सम्मका नारा लाग्ने गरेका छन् । फ्रान्सेली इसाई धार्मिक नेताहरूले त खुलेर यसको विरोध गरिरहेका छन् । आयोजकका तर्फबाट भने उही अपेक्षित उत्तर मात्र आएको छ र यो हो, ‘हाम्रो उद्देश्य यस्तो थिएन नै ।’ अनि यदि कसैलाई साँच्चै चोट लागेको छ भने, ‘हामी माफी माग्न चाहन्छौं ।’ हुँदाहुँदा अमेरिकी राष्ट्रपति चुनावका एक प्रत्याशी डोनाल्ड ट्रम्पले समेत यत्तिको हुनै नपर्ने धारणा पोखिसकेका छन् ।
यो सबै पृष्ठभूमि किन पनि भन्दा पेरिस ओलम्पिक २०२४ ठ्याक्कै जोडिनुपर्ने खेलसँग मात्रै हो । पेरिस ओलम्पिकमा खेलाडीको बहादुरी र नायकत्वको चर्चा हुनुपर्ने हो । तर चर्चा भने राजनीतिसँग जोडिएर भइरहेको छ । कुनै पनि ठूलो खेल महोत्सव तात्कालीन राजनीतिक घटनाक्रमबाट अछुतो त रहन सक्ने नै भएन । तर पेरिस ओलम्पिक यी घटनाक्रमबाट अत्याधिक प्रभावित रहे । त्यसैले खेलको मैदानी कथाभन्दा राजनीतिकका कुराले बढी महत्त्व पाएका छन् ।
ओलम्पिक कमिटीको नारा नै हो, खेलमा राजनीति छिर्नु हुन्न । तर राजनीति खेलमा मज्जाले छिरिरहेको छ । यसका लागि एउटा कमिक्सको प्रसंग सान्दार्भिक नै हुन्छ । कमिक्सका पारखीका लागि ‘एस्ट्रिक्स’ खुबै प्रिय नाम हो । विश्वमा असाध्यै रूचाइएको कमिक्सको शृंखलामा पर्छ, एस्ट्रिक्स । त्यसमध्ये एउटा कथाको शीर्षक नै रहेको छ, ‘एस्ट्रिक्स एट द ओलम्पिक गेम्स’ । यसमा एस्ट्रिक्स ओलम्पिकमा सहभागी हुन आफ्नो गाउँबाट यात्रा गर्छन् । यसमा ओलम्पिकका खराव पक्षबाट मज्जाले उजागर गरिएको छ ।
यसका लेखक फ्रान्सेली चित्रकार रेने र अल्बर्टो हुन् । यो एक प्रकारले प्राचीन ओलम्पिकको कुरा भयो । संयोगले आधुनिक ओलम्पिकका जन्मदाता मानिएका पिएर डे कुर्टबिन पनि फ्रान्सेली नै हुन् । उनी इतिहासकार पनि थिए । अनि शिक्षाविद् पनि । सन् १८९६ मा उनले ग्रिसबाट ओलम्पिक आयोजनाको सुरुआत गर्दा उद्देश्य राखिएको थियो, खेलबाट शान्तिको स्थापना । अर्को शब्दमा भन्दा खेलको आयोजना नै शान्ति कायम होस् भनेर हो ।
फ्रान्सको राजधानी पेरिसमा ‘ओलम्पिक बहिष्कार’ पक्षधरले गरेको प्रदर्शन ।
तर मैदानमा यस्तो भएको चाहिँ कहिले छ र भने ? उदाहरण दिन सकिने घटना हातको औंलामा गन्न सकिन्छ । पेरिस ओलम्पिकको फुटबलतर्फ पहिलो खेल इजरायलको जुरेको थियो । खेलमा क्रममा इजरायलको राष्ट्रिय गीत त बज्नै पर्यो । तर जति बेला गीत बज्यो, दर्शकले त्यसको सक्दो खिल्ली उडाए । उल्टै गीतका क्रममा धेरैले ‘फ्री प्यालेस्टाइन’ को नारा लगाइरहेका थिए । यसपल्टको ओलम्पिकमा दस हजारभन्दाबढी खेलाडीको सहभागिता छ ।
यी खेलाडीहरू दुई सयभन्दा बढी देशका हुन् । इजरालयको टिम भने ८८ खेलाडीको रहेको छ । तिनै खेलाडीलाई फ्रान्सले विशेष सुरक्षा व्यवस्था गरेको छ । त्यतिले नपुगेर इराजयका सुरक्षाकर्मी पनि खेलाडी सँगसँगै हुनेछन् । डर छ, कतै इजरायली खेलाडीमाथि कहीं कतै आक्रमण त हुने हैन् ? फेरि यो भन्दा बढी इजरायललाई यस ओलम्पिकमा सहभागिता गराउन दिएकैमा धेरैको आपत्ति छ । सबैलाई थाहा छ, अहिले गाजामा युद्ध चलिरहेको छ । अहिलेसम्म ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्यालेस्टानविरुद्ध जसरी इजरालय आक्रामक भएर प्रस्तुत भइरहेको छ, त्यसको त पश्चिमेली देशहरूले नै विरोध गरिरहेका छन् । ओलम्पिकको इतिहास पल्टाएर हेर्ने हो भने फरकफरक अवसरमा खेल भावनालाई तहसनहस पार्ने गरेर युद्ध छेडेका देशलाई प्रतिबन्ध लगाउने चलन छ । धेरैको मत छ, इजरायलले प्यालेस्टाइनी भूमिमा जे गरिरहेको छ, त्यो ठीक छैन । बेठीक मात्र होइन्, इजरालयको काम नै बर्बरपूर्ण छ ।
पेरिस ओलम्पिक उद्घाटन समारोहमा प्यालेस्टाइनको झन्डा बोकिरहेका बक्सर वासिम अबु सालले बालबालिकालाई बम हानिएको चित्रण गर्ने सर्ट लगाएका थिए । ‘यो सर्टले प्यालेस्टाइनको वर्तमान चित्रलाई प्रतिनिधित्व गर्छ,’ आफ्नो पहिलो खेलमै हारेका सालले फ्रान्सेली समाचार संस्था एएफपीलाई भने, ‘बालबालिकाहरूलाई निर्दयीरूपमा मारिएको छ, बालबालिका जसको अभिभावक सहिद भएका छन्, उनीहरू खाना र पानी खान नपाई बाँचिरहेका छन् ।’ मैदानभित्र, खेलका दौरान तथा उद्घाटन र समापन समारोहमा राजनीतिक सन्देश दिन खोज्नेलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले निलम्बन गर्ने गरेको छ । तर खेलाडीहरूले यो कुरा प्रेस कन्फ्रेन्समा वा समाजिक सञ्जालमा बोल्न सक्ने छन् ।
प्यालेस्टाइन ओलम्पिक कमिटीका अध्यक्ष जिब्रिल राजोउबले यो शान्तिको सन्देश र ध्यान आकृष्ट गर्ने सन्देश भएको जनाए । ‘यो युद्धविरोधी र हत्याविरोधी सन्देश हो ।’ प्यालेस्टाइन ओलम्पिक कमिटिले पेरिस ओलम्पिकको उद्घाटनअघि नै इजरायली खेलाडीलाई निलम्बन गर्नुपर्ने भनेर आईओसीलाई पत्र लेखेको थियो । ‘जसले ओलम्पिक चार्टरलाई उल्लंघन गरेको छ, त्यसलाई यो कारबाही गर्ने समय हो । दोहोरो चरित्रले खेलकुदमा राम्रो सन्देश दिँदैन, राम्रो नियत भएकाहरूलाई पनि यो गलत हो । इजरायलविरुद्ध कुनै कारबाही नलिनु युरोपको विरासत र तिनीहरूको अपराधको हिस्सा हो,’ राजोउबले दोस्रो विश्वयुद्धमा गरिएको होलोकोस्ट (नरसंहार) को उदाहरण दिँदै भने । पेरिस ओलम्पिकमा प्यालेस्टाइनका ८ खेलाडी खेलिरहेका छन् र उनीहरूले त्यसमा इजरायली प्रतिद्वन्द्वी परेमा नखेल्ने पनि घोषणा गरेका छन् ।
तर पनि यही इजरायलले पेरिस ओलम्पिकमा भाग लिइरहेको छ । आलोचकरू के मान्छन् भने खासमा इजरायलमाथि प्रतिबन्ध लगाउनुपर्ने थियो । जस्तो, सन् १९२० मा एन्त्रोपमा भएको ओलम्पिकका बेला जर्मनी, अस्ट्रिया, हंगेरी, बुल्गेरिया र टर्कीलाई सहभागिताबाट वञ्चित गरिएको थियो, प्रथम विश्वयुद्धमा उनीहरूको भूमिकाका लागि । सन् १९२४ को ओलम्पिकमा पनि जर्मनीले भाग लिन पाएन् । सन् १९४८ मा लन्डनमा ओलम्पिक हुँदा यस्तै प्रतिबन्ध जर्मनी र जापानविरुद्ध थियो ।कारण थियो, दोस्रो विश्व युद्धमा तिनीहरूले खलेको भूमिका । सन् १९६४ देखि १९९२ सम्म रंगभेदी नीतिका कारण दक्षिण अफ्रिका प्रतिबन्धबाट गुज्रेको थियो ।
सन् १९७२ मा जिम्बावेले पनि उसको रंगभेदी नीतिकै कारण म्युनिक ओलम्पिकमा भाग लिन पाएन् । पछिल्लो समय तालिवान सत्ता चलिरहेको बेला सन् २००० को ओलम्पिकमा अफगानिस्तानको सहभागिताको अवसर पाएन । कुरा त रुस र बेलारुसको फनि छ ।
रुसले युत्रेनमाथि आक्रमण गरेको साढे दुई वर्ष पनि भइसकेको छ । रुसलाई बेलारुसले साथ दिइरहेको छ । कम्तीमा यी दुई देशमाथि पेरिस ओलम्पिकमा प्रतिबन्ध पनि छ । पेरिस ओलम्पिकका क्रममा रुस र बेलारुसको नाम कतै सुन्न पाइने छैन । सबैलाई थाहा छ, रुस विश्व खेलकुदको महाशक्ति हो । रुससँग विश्वस्तरीय खेलाडीको कुनै कमी छैन । बेलारुस पनि खेलकुदमा कम्तीको छैन । तर पनि यी दुई देश पेरिस ओलम्पिकमा अनुफस्थित नै छन् ।
कारण, सबैलाई थाहा छ, युत्रेनमाथि रुसी आक्रमण । तर तिनै देशका खासखास खेलाडी भने पेरिसमा छन । सायद, तिनले पदक पनि जित्ने छन् । तर देशको नाममा होइन । यी खेलाडीले ‘एआईएनएस’ को नाममा खेल्छन् । त्यसो भनेको ‘इन्डिभ्युजल न्युट्राल एथलेट्स’ हो । यहाँनिर रुस र बेलारुसतिर हल्का सहानुभूमि राख्ने पनि छन् । तिनको तर्क हो, इजरायलमाथि प्रतिबन्ध हुन्न भने रुस र बेलारुसमाथि मात्रै प्रतिबन्ध किन त ?
सन् २०२२ मै ओलम्पिक कमिटीले रुस र बेलारुसलाई प्रतिबन्ध लगाएको थियो, खेल भावनालाई तोडेको आरोपमा । यसबीच, अन्तर्राष्ट्रिय खेलकुदमा रुस र बेलारुसको कहिले फुर्नआगमन हुने हो, त्यो टुंगो छैन । यसको अर्थ युत्रेन युद्धमा कुनै भूमिका नै नभएका, अझ रुस र बेलारुसले गरेको काममा फरक मत राख्ने खेलाडीले पनि त भाग लिन पाएनन् । चिन्ता यसमा पनि छ । खासमा मूल चिन्ता हो, ओलम्पिकमाथि भू–राजनीतिको सिधासिधा प्रभाव ।
खासमा ओलम्पिक कहिले पनि भू–राजनीतिबाट टाढा रहेन् । इतिहास पल्टाउने हो भने यसका अनेक उदाहरण सजिलै भेटाउन सकिन्छ । सन् १९३६ को ओलम्पिकलाई त हाकाहाकी ‘नाजी ओलम्पिक’ भनिन्छ । त्यो वर्ष जर्मनीको बर्लिनले ओलम्पिकको आयोजना गरेको थियो । जर्मनीमा ओलम्पिकको आयोजना गर्ने निर्णय भने सन् १९३१ मै भएको थियो । तर त्यसपछि जर्मनीमा नाजी पार्टीको उदय भयो, सत्तामा एडोल्फ हिटलर पुगे ।
त्यति बेला पनि बर्लिन ओलम्पिक बहिस्कार गर्नुपर्छ भने नारा लागेकै थियो । यो उति साह्रो प्रभावशाली भने भएन् । तर हिटलर र उनको नाजी पार्टीले यो ओलम्पिकबाट सक्दो स्वार्थ पूरा गर्न खोजे । अझ हिटलरले यो ओलम्पिकको चर्को दुरुपयोग गरे भन्दा हुन्छ । सन् १९५६ को मेलबर्न ओलम्पिकमा पनि बहिस्कारका चर्को नारा लागे । इजरायलले छेडेको युद्धको विरोधमा इजिप्ट, लेवनान र इराकले ओलम्पिकमा सहभागिता जनाएनन् ।
त्यही बेला तात्कालीन सोभियत संघले हंगेरीको बुढापेस्टमा गरेको आक्रमणको विरोधमा नेदरल्यान्ड्स, स्पेन र स्विटजरल्यान्डजस्ता देश मेलबर्न गएनन् । सन् १९६८ को ओलम्पिक मेक्सिकोमा भएको थियो । प्रतियोगिता सुरु हुन दस दिन जति अगाडि विद्यार्थीले प्रदर्शन सुरु गरेका थिए । उनीहरूको आपत्ति थियो, देश आफैंमा गरिबीबाट गुज्रिरहेको थियो, तर सरकारले भने भएभरको अर्थ ओलम्पिक आयोजनामै लगाएको छ । प्रदर्शनकारीमाथि गोली प्रहार हुँदा दुई सयभन्दा बढीको मृत्यु भएको थियो ।
सन् १९७२ को म्युनिक ओलम्पिकमा त अकल्पनीय घटना नै भयो । ‘ब्ल्याक सेप्टेम्बर’ नामको प्यालेस्टाइन संगठनले ओलम्पिक भिलेजमा छिरेर इजरायली खेलाडीलाई आफ्नो कब्जामा लिए र त्यसमध्ये दुईको हत्या पनि गरे । उनीहरूको माग थियो, दुई सय प्यालेस्टाइनलाई इजरायली कारगारबाट मुक्ति । सन् १९७६ को ओलम्पिक दुई दर्जन अफ्रिकी देशले बहिस्कार गरे । कारण थियो, ओलम्पिक कमिटीले न्युजिल्यान्डलाई प्रतिबन्ध लगाउन अस्विकार गर्नु ।
न्युजिल्यान्डको रग्बी टिमले त्यति नै बेला प्रतिबन्धित दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो । सन् ८० को दशक शीतयुद्ध उत्कर्षमा थियो । कुनै पनि बेला अर्को विश्वयुद्ध हुन सक्ने भय थियो । यसबीच एउटा ओलम्पिक तत्कालीन सोभियत संघमा भयो भने अर्को ओलम्पिक अमेरिकामा । सन् १९८० को ओलम्पिक मस्कोमा भएको थियो, त्यसलाई अमेरिकालगायत उसका समर्थकले देशले बहिस्कार गरे । जति बेला सन् १९८४ मा लस एन्जलसमा ओलम्पिक भयो, बहिस्कार गर्ने पालो सोभियत संघ र उसका समर्थकको थियो ।
यति भनेपछि छर्लङ हुन्छ, लगभग राजनीतिक मुद्दा अहिलेसम्म पनि तिनै हुन् । अनि पात्र पनि लगभग तिनै । खाली फेरिएको भनेको समय र ओलम्पिक आयोजनाका संस्करण हुन् । अहिलेको पेरिस ओलम्पिक पनि यसकै एउटा अर्को कडी भएको छ । समस्या अलिकति बढी के छ भने पेरिस ओलम्पिकमा भूराजनीतिको प्रभाव अलिकति बढी नै भयो । ओलम्पिकमा खेलको भन्दा झेल गर्नेको बढी चर्चा हुन्छ भने त्यसको मज्जा नै के रह्यो र भने ?
प्रकाशित : श्रावण १६, २०८१ ११:२४