कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अन्तिम लडाइँमा सुनक

मत सर्वेक्षणअनुसार कन्जरभेटिभ पार्टी आगामी चुनावमा भारी पराजयको बाटोमा छ । सर्वेक्षणहरूमा प्रमुख प्रतिपक्षी लेबर पार्टी अगाडि देखिएको छ । गत अप्रिलमा युगभले आफ्नो सर्वेक्षणमा आगामी चुनावमा लेबरले ४०३ सिट र कन्जरभेटिभले १५५ सिट जित्ने उल्लेख गरेको छ ।
अफिस फर नेसनल स्ट्याटिटिक्सको नयाँ तथ्यांकले देशमा मुद्रास्फीति २.३ प्रतिशतमा झरेको देखाएको भोलिपल्टै सुनकले निर्वाचन घोषणा गरेका हुन् 
नवीन पोखरेल

लन्डन — केही महिनायता बेलायतमा आगामी चुनावको मितिबारे विभिन्न अनुमानहरू चलिरहेका थिए । राजनीतिक वृत्तमा आगामी वर्षको जनवरीमा निर्वाचन हुने अड्कलबाजी थियो । कानुनतः बेलायतको संसद्को पाँचवर्षे कार्यकाल १७ डिसेम्बर २०२४ सम्म भएकाले पनि तत्काल चुनाव नहुने आकलन अधिकांशको थियो ।

अन्तिम लडाइँमा सुनक

उक्त मितिबाट बढीमा २५ दिन थपेर सरकारले २८ जनवरी २०२५ भित्र आमनिर्वाचन गर्न सक्ने सुविधा सरकारसँग थियो । तर बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद्को कार्यकाल बाँकी रहेकै बेला गत साता अप्रत्याशित रूपमा आमनिर्वाचन घोषणा गरेका छन् । उनले जुलाई ४ का लागि आमनिर्वाचन घोषणा गरेसँगै अब बेलायतमा चुनाव कहिले हुन्छ भन्ने केही महिनायताका अनुमानको अन्त्य भएको छ ।

प्रधानमन्त्रीका रूपमा टेन डाउनिङ स्ट्रिट छिरेको १९ महिनापछि उनले नयाँ निर्वाचन घोषणा गरेका हुन् । सुनक २५ अक्टोबर २०२२ मा लिज ट्रसको उत्तराधिकारीका रूपमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेको करिब तीन महिनापछि सुनकले मतदाताहरूसमक्ष पाँच वाचा गरेका थिए । आर्थिक वृद्धि, मुद्रास्फीति घटाउने, ऋण घटाउने, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा कुर्नुपर्ने समय घटाउने र साना डुंगामा इंग्लिस च्यानल पार गरेर आउने गैरकानुनी आप्रवासी रोक्ने उनका वाचा थिए ।

अफिस फर नेसनल स्ट्याटिटिक्सको नयाँ तथ्यांकले देशमा मुद्रास्फीति २.३ प्रतिशतमा झरेको देखाएको भोलिपल्टै सुनकले निर्वाचन घोषणा गरेका हुन् । प्रधानमन्त्री सुनक यही मुद्दालाई मुख्य उपलब्धिका रूपमा लिएर मतदातासमक्ष जान लागेको कतिपय विश्लेषकहरू बताउँछन् । सुनकले बेलायती अर्थतन्त्र वृद्धिदर अति विकसित राष्ट्रहरू जी–७ को हाराहारीमा पुगेको पनि दाबी गरेका छन् । चुनाव घोषणाका क्रममा सुनकले विगत पाँच वर्षमा ब्रिटेनले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा चुनौतीपूर्ण परिस्थिति सामना गरेको र आफूलाई बेलायती भएकोमा गर्व लागेको बताए । उनले बेलायतको अर्थतन्त्र अझै बढ्दै गएको, मुद्रास्फीति सामान्य अवस्थामा फर्किएको, ब्याजदर घटेको र सरकारी योजनाले काम गरिरहेको बताए । यद्यपि, उनले हाल धेरै मानिसका लागि अवस्था सजिलो नरहेको भने स्वीकार गरेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनक । तस्बिर : रोयटर्स

‘अफिस फर नेसनल स्ट्याटिटिक्सको पछिल्लो तथ्यांकअनुसार मुद्रास्फीति २.३ प्रतिशतमा झरेको छ,’ जोन्सन ग्रुप यूकेका आर्थिक परामर्शदाता तथा इसेक्स युनिभर्सिटीका प्रा. मुकुन्द बाँस्तोला सुनकले अहिले नै चुनाव घोषणा गर्नुको कारणबारे भन्छन्, ‘बैंक अफ इंग्ल्यान्डको लक्ष्य २ प्रतिशत हो । यो तथ्यांक पुनः बढ्न सक्छ भन्ने अनुमानका कारण सुनकले यसलाई चुनावी नाराको रूपमा प्रयोग गर्न चाहन्छन् ।’

यसपालि खाद्यान्नको कम मूल्यका कारण मुद्रास्फीति घटेको तर सेवा क्षेत्रले अझै पनि संघर्ष गरिरहेको यर्थाथलाई सुनकले राम्रोसँग बुझेका कारण ‘मौकामा चौका’ हान्न चाल चालेका बाँस्तोला बताउँछन् ।

बेलायतमा सेवा क्षेत्रमा राम्रो सुधार नहुँदासम्म मुद्रास्फीति कुनै पनि बेला बढ्न सक्छ । त्यसैले यो तथ्यांक पुनः बढ्न सक्छ भनेर पनि आम जनताको समर्थन जुटाउन निर्वाचन घोषणा भएको हुन सक्छ । सुनकले ब्रिटेन प्राविधिक रूपमा आर्थिक मन्दीबाट बाहिर निस्किएको तर्क गरिरहेका छन् । यसको आधार भनेको भर्खर प्राप्त प्रतिवेदनअनुसार जीडीपी ०.६ प्रतिशतले बढ्नु हो । तर, यो पनि तेस्रो त्रैमासिकसम्म पुनः केही संकुचित हुन सक्ने आकलनले गर्दा सकेसम्म धेरै सिट बचाउने प्रयास स्वरूप निर्वाचन घोषणा भएको सजिलै बुझ्न सकिने बाँस्तोलाको विश्लेषण छ ।

पूर्वकाउन्सिलर तथा संसदीय निर्वाचनमा लेबरबाट उम्मेदवार बनिसकेका बच्चुकैलाश कैनी सुनकले आफ्नो दल कन्जन्भेटिभभन्दा प्रतिपक्षी दल लेबर २१ पोइन्टले अघि रहेको अवस्थामा निर्वाचन घोषणा गर्नु रोचक र चुनौतीपूर्ण भएको बताउँछन् । सुनकले अप्रत्याशित निर्वाचन घोषणा गर्नुमा दुई मुख्य कारण देख्छन् कैनी । पहिलो, आगामी दिनमा अर्थतन्त्र थप बिग्रन सक्ने र उनका अन्य प्राथमिकताजस्तै राष्ट्रिय स्वास्थ्य सेवा, इमिग्रेसन, जनताको जीवनस्तर आदि विषयमा उनका प्रतिबद्धता पूरा नहुने सम्भावना र दोस्रो, उनकै दलका केही नेताहरूले सुनकको कार्यशैलीबारे प्रश्न उठाइरहेकाले निर्वाचनअघि नै उनको नेतृत्वलाई दिन सक्ने चुनौती ।

६५० सिटका लागि प्रतिस्पर्धा

संयुक्त अधिराज्य (यूके) मा ६५० निर्वाचन क्षेत्र छन् । प्रत्येक क्षेत्रबाट एक जना सांसद निर्वाचित भएर बेलायती संसद् हाउस अफ कमन्स वेस्टमिनिस्टर जान्छन् । ३२६ भन्दा बढी सिट जित्ने पार्टीले अर्को सरकार बनाउन सक्छ । प्रत्येक निर्वाचन क्षेत्रमा १८ वर्ष वा सोभन्दा माथिका नागरिकले भोट दिन पाउँछन् । अधिकांश उम्मेदवारहरूले राजनीतिक दलको प्रतिनिधित्व गर्ने भए पनि स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रन पाउँछन् ।

ब्रिटिस नागरिक, बेलायतमा बस्ने आइरिस वा ईयू नागरिक, राष्ट्रमण्डल देशका नागरिक जसलाई यूके प्रवेश गर्न वा बस्न अनुमति छ वा जसलाई अनुमति आवश्यक छैन र स्कटल्यान्ड वा वेल्स बस्ने अर्को देशको नागरिक जसलाई यूकेमा प्रवेश वा बस्न अनुमति छ वा जसलाई अनुमति आवश्यक छैन उनीहरू मतदानका लागि योग्छ हुन्छन् । बेलायतमा करिब ५ करोड मतदाता रहेका जनाइएको छ । मतदानका लागि पोस्टल र प्रत्यक्ष दुवै माध्यम प्रयोग गर्न सकिने व्यवस्था छ । मतदानका लागि नाम दर्ता गर्ने समयसीमा १८ जुन तोकिएको छ ।

परिवर्तनको पर्खाइमा मतदाता

विगत डेढ दशकदेखि बेलायतमा बसोबास गर्दै आएकी साहित्यकार संगीता स्वेच्छा बेलायतका जनताले परिवर्तन चाहेको बताउँछिन् । जुलाई ४ मा हुने चुनावले देशको भावी राजनीतिक र आर्थिक दिशामा ठूलो प्रभाव पार्ने उनको अपेक्षा छ । ‘निर्वाचनले स्वास्थ्य सेवा, शिक्षा, अर्थतन्त्र, सामाजिक नीतिहरूलगायत अन्तर्राष्ट्रिय विकास अनुदानजस्ता प्रमुख मुद्दामा बेलायतको अडानलाई पुनः परिभाषित गर्ने मलाई आशा र विश्वास छ, !’ उनले भनिन् ।

बेलायतको जनमत र डेटा कम्पनी युगभको मे २० मा भएको सर्वेक्षणअनुसार ४९ प्रतिशत जनताले बेलायतको अर्थतन्त्र सबैभन्दा मूल समस्या भएको बताएका छन् । यसपछि ४४ प्रतिशतले स्वास्थ्य तथा ४१ प्रतिशतले अध्यागमन एवं शरणार्थी समस्याका रूपमा रहेको बताएका छन् । विश्वव्यापी बजार र जनमत अनुसन्धान समूह इप्सोसको अप्रिल २०२४ को इस्युज इन्डेक्सबाट प्राप्त निष्कर्ष पनि यससँग मिल्दोजुल्दो छ । उक्त सर्वेक्षणमा अर्थतन्त्र सबैभन्दा चिन्ताका रूपमा अगाडि छ भने त्यसपछि स्वास्थ्य सेवा ।

इप्सोसको सर्वेक्षणमा एक तिहाइ (३४ प्रतिशत) भन्दाबढी उत्तरदाताले अर्थतन्त्र एउटा महत्त्वपूर्ण मुद्दा रहेको र २९ प्रतिशतले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) उल्लेख गरेका थिए । आसन्न निर्वाचन मुख्य गरी बेलायतको अर्थतन्त्रको वरिपरि घुम्ने आशा गरिएको छ । आर्थिक वृद्धि, राष्ट्रिय स्वास्थ्य सेवा, शिक्षा, जनताको दैनिकी र जीवनस्तर, इमिग्रेसन आदि मुद्दा सबै दलको प्राथमिकतामा छन् ।

सत्ता पर्खिरहेको लेबर

बेलायतमा १४ वर्षयता कन्जर्भेटिभ (टोरी) पार्टी सत्तामा छ । तर, अहिले राजनीतिक कोर्स केही बदलिएको छ । कन्जरभेटिभ पार्टीले हालैका वर्षमा निकै उथलपुथल खेप्यो । विशेष गरी २०१६ मा विवादास्पद ब्रेक्जिट जनमत संग्रहपछि डेभिड क्यामरुनले राजीनामा दिएपछि । मत सर्वेक्षणअनुसार कन्जरभेटिभ पार्टी आगामी चुनावमा भारी पराजयको बाटोमा छ । सर्वेक्षणहरूमा प्रमुख प्रतिपक्षी लेबर पार्टी २१ पोइन्टले अगाडि देखिएको छ । गत अप्रिलमा युगभले आफ्नो सर्वेक्षणमा आगामी चुनावमा लेबरले ४०३ सिट र कन्जरभेटिभले १५५ सिट जित्ने उल्लेख गरेको छ ।

बेलायती लेबर पार्टीका नेता किएर स्टारमर । तस्बिर : रोयटर्स

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ३६५ सिट जितेको थियो । यो २०१७ को तुलनामा ४८ सिट बढी हो भने लेबर पार्टीले २०२ सिट मात्र जितेको थियो । सर्वेक्षणका आधारमा धेरैले लेबर पार्टीका नेता ६१ वर्षीय किएर स्टारमर अर्को प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् । २०१५ देखि हलबर्न एन्ड सेन्ट प्यानर्क्याज क्षेत्रमा तीन पटक सांसद निर्वाचित स्टारमर २०२० मा लेबर पार्टी नेता चुनिएका थिए ।

पूर्वमुख्य अभियोजक स्टारमरको सम्पूर्ण करिअर पीडितहरूका लागि न्याय सुनिश्चित गर्न बितेको छ । उनले मानवअधिकार वकिलका रूपमा मृत्युदण्ड सुनाइएका व्यक्तिहरूको प्रतिनिधित्व गर्नेदेखि मुख्य अभियोजकका रूपमा गुड फ्राइडे सम्झौताका आधारमा उत्तरी आयरल्यान्ड पुलिस बोर्ड स्थापना गरी पीडितहरूका पक्षमा कानुन बनाउनसमेत भूमिका निर्वाह गरेका थिए ।

स्टारमरले आमनिर्वाचन ‘देशले पर्खिरहेको क्षण’ भएको प्रतिक्रिया दिएका छन् । चुनावी अभियानमा लागिसकेका स्टारमरले आगामी चुनाव देशका लागि राम्रो परिवर्तनको अवसर भएको उनको भनाइ छ । अभियानका क्रममा स्कटल्यान्डको ग्लास्गो पुगेका स्टारमरले एक कार्यक्रममा लेबरले मात्र ‘बेलायतको अस्तव्यस्ता रोक्न’ सक्ने जिकिर गरेका छन् ।

धमाधम पछि हट्दै कन्जरभेटिभ सांसद

सुनक र स्टारमर चुनावी अभियानमा अघि बढिरहेका बेला चुनावबाट पछि हट्ने कन्जरभेटिभ सांसदहरूको संख्या पनि बढ्दै गएको छ । करिब पाँचमध्ये एक सांसदले आगामी चुनाव नलड्ने देखिएको छ । हालसम्म १२० भन्दा बढी सांसदले आगामी चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् । तीमध्ये ८० भन्दा बढी कन्जरभेटिभ सांसद छन् । लेबरका २० भन्दा बढी र एसएनपीका दर्जन बढीले फेरि चुनावका लागि उम्मेदवारी नदिने बताएका हुन् । १९९७ मा टोनी ब्लेयर नेतृत्वको लेबर पार्टीले जित हासिल गरेको निर्वाचनमा ७५ जना कन्जरभेटिभ सांसद चुनावी दौडबाट बाहिरिएका थिए । २०१९ मा यसरी ब्याक हुने सांसद संख्या ७४ थियो । २०१७ मा ३१ र २०१५ मा ९० थियो ।

पछिल्लो पटक क्याबिनेट मन्त्री माइकल गोभले चुनाव नलड्ने बताएका छन् । उनले ऋषि सुनकलाई प्रधानमन्त्रीका रूपमा पुनः फर्कन समर्थन गर्ने बताउँदै यो नयाँ पुस्ताले नेतृत्व गर्ने समय भएको उल्लेख गरेका छन् । कन्जरभेटिभ पार्टीका प्रभावशाली नेताहरू पूर्वप्रधानमन्त्री टेरिजा मे र बोरिस जोन्सन, कन्जरभेटिभ पार्टी सभापति एवं पूर्वअर्थमन्त्री नदिम जहावी, पूर्वमन्त्रीहरू साजिद जाभिद, डोमिनिक राब, म्याट ह्यानकक, बेन वालेस, क्वासी क्वारटेङ, कोप–२६ अध्यक्ष आलोक शर्मा, एन्जेला लिड्सम, ह्यारियट हर्मन, भेट्रान एमपी जोन रेडउड पनि चुनावी मैदानबाट अलग भएका छन् ।

अन्तिम राजनीतिक मोडमा सुनक

प्रधानमन्त्री बनेको १९ महिनापछि सुनकले आफ्नो राजनीतिक जीवनको अन्तिम लडाइँ सामना गरिरहेका छन् । पार्टी पराजित भएको खण्डमा उनका लागि प्रधानमन्त्री हुने बाटो बन्द त हुन्छ नै, दलको नेताबाट बहिर्गमन हुने पनि निश्चित छ । रिचमन्ड (योर्कसायर) बाट ७ वर्ष सांसद भएपछि सुनक ४२ वर्षको उमेरमा डाउनिङ स्ट्रिट छिरेका थिए । आधुनिक समयमा नम्बर टेनमा छिर्ने उनी सबैभन्दा कान्छो ब्रिटिस–भारतीय पनि हुन् । पहिलो पुस्ताका आप्रवासीका छोरा सुनकलाई महँगो विन्चेस्टर कलेजमा पठाउन उनको परिवारले कडा मिहिनेत गरेका थिए ।

४४ वर्षीय सुनकका आमाबाबु पूर्वी अफ्रिकाबाट बेलायत आएका थिए र उनीहरू दुवै भारतीय मूलका हुन् । सुनक १९८० मा बेलायतको साउथह्याम्पटनमा जन्मिएका थिए । उनले विन्चेस्टर कलेज, अक्सफोर्ड युनिभर्सिटी र स्टानफोर्ड युनिभर्सिटीबाट शिक्षा लिएका हुन् । उनका बुबा जनरल प्राक्टिस (जीपी) डाक्टर थिए भने आमाले आफ्नै फार्मेसी चलाएकी थिइन् । सुनककी श्रीमती अक्षतामूर्ति धनाढ्य बाबुआमाकी उद्यमी छोरी हुन् ।

राजनीतिमा प्रवेश गर्नुअघि उनी लगानी बैंक गोल्डम्यान स्याक्स र दुईवटा मल्टिबिलियन डलर हेज फन्डस्मा काम गरेका थिए । उनले बोरिस जोनसनको राजीनामापछि नेतृत्वको लडाइँमा लिज ट्रससँग पराजय भोगे । तर, ट्रसको प्रधानमन्त्री कार्यकाल ४५ दिन पनि टिक्न नसकेपछि उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । अक्टोबर २०२२ मा चान्सलर (अर्थमन्त्री) को मिनी बजेटमा ठूलो मात्रामा कर कटौती गर्ने र ऋण लिनेजस्तो आर्थिक अस्थिरता निम्त्याउने घोषणापछि हंगामा भएर ट्रसले राजीनामा दिएकी थिइन् ।

उनको राजीनामापछि सुनक असाधारण परिस्थितिमा प्रधानमन्त्री बने । ट्रसले बोरिस जोनसनको राजीनामापछि पार्टी नेतृत्वको लडाइँमा सुनकलाई हराएकी थिइन् । बोरिस मुख्यतः कोभिड–१९ महामारी ह्यान्डल गर्ने सवालमा निकै विवादित बने । पार्टीभित्र गहिरो ध्रुवीकरण गर्ने नेता मानिएका जोन्सन जुन २०२२ मा अविश्वासको मतबाट जोगिए तर आफ्नो क्याबिनेटबाट सामूहिक राजीनामा आउन थालेपछि जुलाईमा राजीनामा दिन बाध्य भएका थिए ।

बहसमा भिड्दै सुनक र स्टारमर

लेबर नेता स्टारमरले प्रधानमन्त्री सुनकसँग टेलिभिजन चुनावी बहसमा भाग लिन सहमत भएका छन् । कन्जरभेटिभले अभियानको प्रत्येक साता ६ वटा टीभी बहसका लागि जोड दिइरहे पनि लेबरले बीबीसी र आईटीभीद्वारा सञ्चालित बहसमा मात्र भाग लिने बताएको छ । उम्मेदवारहरूबाट टीभी बहसमा व्यक्त प्रतिबद्धताकै आधारमा मतदाताले कसलाई मत दिने भन्ने प्रायः निर्धारण हुने भएकाले यस्तो कार्यक्रम महत्त्वपूर्ण मानिन्छ ।

टेलिग्राफ अखबारमा लेख लेख्दै प्रधानमन्त्री सुनकले लेबर नेतासँग सामना गर्ने ‘साहस’ नभएको दाबी गरेका छन् । तर, बीबीसीसँगको कुराकानीमा स्टारमरले भनेका छन्, ‘म एउटा मात्र बहस गर्न पनि सक्छु वा एक सय । मलाई थाहा छ सुनकले के भन्न खोजिरहेका छन् ।’

स्टारमरले टीभी बहसभन्दा पनि सकेसम्म मतदातामाझ प्रत्यक्ष रूपमा कुरा गर्न चाहेको बताएका छन् । ‘मेरो सन्देश उनीहरूसमक्ष लैजान चाहन्छु र उनीहरूका कुरा सुन्न चाहन्छु । किनकि शक्ति ती मतदाताहरूसँग छ,’ उनले भने । ‘१४ वर्षपछि, यो परिवर्तनका लागि समय हो । अस्तव्यस्त रोक्नुहोस्, पृष्ठ पल्टाउनुहोस्, पुनः निर्माण गर्न सुरु गर्नुहोस् । यसपालिको भोट लेबरलाई,’ स्टारमरले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएको चुनावी भिडियोमा भनेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०८१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×