२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

पश्चिम बंगालमा ममता भर्सेज भाजपा, कांग्रेस र कम्युनिस्ट

भाजपा सिट बढाउने प्रयासमा, ममतालाई कमजोर बनाएर पुरानो साख फर्काउने दाउमा कांग्रेस र कम्युनिस्टहरू
राजेश मिश्र

(कोलकाता, पश्चिम बंगाल) — कम्युनिस्ट पार्टीको गढलाई भत्काएर पश्चिम बंगाल र राष्ट्रिय राजनीतिमा उदाएकी ममता बनर्जीलाई कमजोर बनाउन भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीले पूरा शक्ति लगाएका छन् ।उत्तर प्रदेश र महाराष्ट्रपछि लोकसभामा सबैभन्दा बढी सिट भएको प्रदेश हो– पश्चिम बंगाल । यहाँको ४२ सिट केन्द्रमा सरकार बनाउन महत्त्वपूर्ण मानिन्छ ।

पश्चिम बंगालमा ममता भर्सेज भाजपा, कांग्रेस र कम्युनिस्ट

विपक्षी इन्डिया गठबन्धनमा रहेको बताइरहे पनि ममता बनर्जीको अखिल भारतीय तृणमुल कांग्रेस (टीएमसी) ले अन्य दलसँग सिटको हिस्सेदारी बाँडेको छैन । एक्लै सबै सिटमा उम्मेदवारी दिएको छ ।

२०१९ को चुनावमा उत्तरी र पश्चिमी भारतमा अधिकतम सिट जितिसकेको भाजपा अघिल्लो उपलब्धिलाई जोगाउन मिहिनेत गरिरहँदा पश्चिम बंगालमा सिट बढाउने लक्ष्य लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी लगातार यहाँ आइरहेका छन् । आइतबार र सोमबार पनि उनले ५ वटा र्‍यालीलाई सम्बोधन गरेका छन् । चुनावको घोषणा भएयता अहिलेसम्म मोदीले पश्चिम बंगालमा १७ वटा र्‍यालीलाई सम्बोधन गरेका छन् । सातौं चरणको चुनावसम्म उक्त संख्या २५ पुर्‍याउने भाजपाको योजना छ । प्रदेशमा बलियो रहेकी ममताका अगाडि भाजपाले सिधा मोदीलाई नै उतार्दै आएको छ । भाजपाले ममतालाई कमजोर बनाउन मोदीको ‘फेस भ्यालु’ लाई अधिकतम प्रयोग गर्ने नीति लिएको छ ।

लोकसभा चुनाव २००९ मा १, २०१४ मा २ र २०१९ मा १८ सिट जितेर भाजपाले यहाँ आफ्नो पकड बढाउँदै लगेको छ । यस पटकको चुनावमा कम्तीमा ३५ सिट जित्ने लक्ष्य भाजपाले लिएको छ । त्यसका लागि लगातार तेस्रो कार्यकाल मुख्यमन्त्री चलाइरहेकी ममता र उनको सरकारको कमजोरीलाई प्रधानमन्त्री स्वयंले सभाहरूमा प्रशस्तै उछालिरहेका छन् । ममता सरकारको कमजोरी देखाएर तथा हिन्दु मतदातालाई ध्रुवीकृत गरेर मत तान्ने प्रयासमा भाजपा लागिपरेको छ ।

विपक्षी दल कांग्रेस र कम्युनिस्टले पनि ममतामाथि आक्रमण गर्न कुनै कसर बाँकी राखेका छैनन् । केन्द्रमा कांग्रेसका नेताहरू ममतालाई लिएर नकारात्मक स्वर नबोले पनि प्रदेशमा भने प्रदेश अध्यक्ष र लोकसभामा विपक्षी दलका नेता अधिरञ्जन चौधरी लगातार ममतामाथि आक्रामक छन् । उनले तृणमुल कांग्रेसलाई भोट दिनु भनेको भाजपालाई भोट दिएसरह हुने भन्दै आएका छन् । भाजपासँगै कांग्रेस र कम्युनिस्टले प्रदेशमा ममता नेतृत्वको सरकारमा भ्रष्टाचार र हिंसा बढेको घटना गणना गराइरहेका छन् । कम्युनिस्ट आफ्नो सत्ता गुमेको रिस फेर्ने प्रयासमा छ । ममता र तृणमुल कांग्रेस कमजोर भएको खण्डमा मात्रै पुनः राजनीतिमा थोरै भए पनि स्थान पाउन सकिने कम्युनिस्टको बुझाइ छ ।

कोलकातामा रवीन्द्र भारती विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक विश्लेषक देवज्योति चन्द पश्चिम बंगालमा टक्करको चुनावी प्रतिस्पर्धा रहेको बताउँछन् । सबै दलको घेराबन्दीका बाबजुद तृणमुल कांग्रेस बलियो स्थितिमै रहेको उनको विश्लेषण छ । ‘यहाँ अल्पसंख्यक र मुस्लिम मतदाताको उपस्थिति बलियो छ । र, अहिले पनि उनीहरूको भरोसा तृणमुल कांग्रेससँगै देखिन्छ,’ उनले भने, ‘बाँकी भोट भाजपा, कांग्रेस, कम्युनिस्ट र तृणमुलमा बाँडिन्छ । त्यसकारण ममताको हकमा चुनावी गणित बिग्रिने सम्भावना कम छ ।’

बंगालमा मुस्लिम जनसंख्या २७ प्रतिशत छ । अन्य अल्पसंख्यकसमेत जोड्दा उक्त प्रतिशत ३२–३३ प्रतिशत पुग्छ । ममता बनर्जीको मुख्य ‘भोट बैंक’ त्यही मानिन्छ । मोदी लहरका बीच २०१९ मा तृणमुल कांग्रेसको मत प्रतिशतमा वृद्धि भएको थियो । यद्यपि, २०१४ मा ३९.४ प्रतिशत मत ल्याएको तृणमुलले २०१९ मा ४३.३ प्रतिशत मत ल्याएको थियो । मत प्रतिशत बढे पनि मोदी लहरले तृणमुलको १२ सिट भने गुम्न पुगेको थियो । २०१४ मा ३४ सिट जितेको तृणमुल २०१९ मा २२ सिट मात्रै जित्यो । भाजपाले पहिलो पटक पश्चिम बंगालमा १८ सिट जितेर बलियो उपस्थिति जनाउन पुग्यो ।

तर, २०२१ मा भएको विधानसभा चुनावमा मोदीको जादु फेल खायो । प्राध्यापक चन्दले अनेक घेराबन्दीका बाबजुद पनि प्रदेशको चुनावको ठूलो सफलताले ममताको लोकप्रियता नघटेको पुष्टि भएको बताउँछन् । तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दै गर्दा उनले अघिल्लो निर्वाचनहरूमा भन्दा सर्वाधिक सिट जितिन् । २ सय ९४ सदस्यीय विधासभामा २ सय १३ सिट तृणमुलले ल्यायो । पत्रकार अचिन चक्रवर्ती भाजपासँग स्थानीय तहमा कुशल नेतृत्व नहुनु र मुख्यमन्त्रीको बलियो चेहरा नहुनुको लाभ तृणमुलले त्यतिबेला पाएको बताउँछन् । तर, अहिलेको परिस्थिति त्यतिबेलाको भन्दा फरक रहेको उनले आफ्नो विश्लेषण सुनाए । ‘ममता क्याबिनेटका कैयौं मन्त्री जेलमा छन्, विधायकहरू पनि ईडी र सीबीआईको सामना गरिरहेका छन् । सन्देशखाली मुद्दालाई भाजपाले उचालेको छ,’ कान्तिपुरसँग उनले भने, ‘लामो अवधि सरकार चलाइसकेकाले एन्टी गभर्मेन्ट मुड पनि देखिएको छ । यी परिस्थिति ममताका लागि प्रतिकूल छन् ।’

बंगलादेश सीमासँग जोडिएको सन्देशखाली भन्ने स्थानमा तृणमुलका नेता शेख शाहजहाँ र उनका साथी शिबु हाजरा र उत्तम सरदारमाथि स्थानीय महिलाले सामूहिक बलात्कार तथा जमिनमाथि कब्जा गरेको आरोप लगाएका छन् । त्यसबाहेक रासन घोटालामा शाहजहाँलाई पक्राउ गर्न पुगेको ईडी टोलीमाथि आक्रमणको घटनाले पनि सन्देशखालीलाई चर्चित बनाएको छ ।

प्राध्यापक चन्द पनि अहिलेको परिस्थिति २०२१ को जस्तो ममताका लागि अनुकूल नरहेको बताउँछन् । सरकारका वरिष्ठ मन्त्री र कर्मचारीहरू भ्रष्टाचार मुद्दामा जेलमा पुग्नु तथा त्यसलाई भाजपाको केन्द्रीय नेतृत्वले आफ्नो प्रमुख चुनावी मुद्दा बनाएकाले ममताको चुनौती निश्चित रूपमा बढाएको उनले बताए ।

विद्यालय भर्ना तथा रासन घोटाला, कोइला तथा पशु तस्करीको आरोप पश्चिम बंगाल सरकारमाथि लागेको छ । तिनै आरोपमा तृणमुल कांग्रेसका कैयौं नेता जेलमा छन् । केही फरार छन् । त्यसबाहेक चुनावको मुखमै आएको सन्देशखाली मुद्दाले तृणमुल पार्टीलाई घेर्न भाजपाले नयाँ हतियार पाएको छ ।

प्रधानमन्त्री मोदीले पश्चिम बंगालको पछिल्लो यात्रामा पनि तृणमुल सरकारमा महिला सुरक्षित नरहेको भन्दै सन्देशखाली मुद्दाको चर्चा गरेका छन् । त्यसबाहेक सरकार भ्रष्टाचारमा घेरिएको तथा जुन ४ पछाडि केन्द्रमा बन्ने भाजपा सरकारले भ्रष्टलाई जेल पठाउने बताएका छन् । मोदीले बंगलादेशबाट आएका गैरमुस्लिम शरणार्थीलाई जसरी पनि भारतीय नागरिकता दिने बताएर हिन्दु मतदातालाई आफ्नो पक्षमा तान्ने प्रयास गरेका छन् भने ममताले नागरिकता कानुनको विरोध गर्दै प्रदेशमा लागू हुन नदिने बताएर त्यस मुद्दालाई भाजपाको विरोधमा प्रयोग गरिरहेकी छन् ।

प्राध्यापक चन्द अपवादका केही सिटबाहेक सबैतिर केन्द्रमा सत्तासीन भाजपा र प्रदेशमा सरकार चलाइरहेको तृणमुल पार्टी नै आमुन्ने–सामुन्ने रहेको बताउँछन् । ‘कम्युनिस्टको सम्भावना अत्यन्तै कम छ, कांग्रेसले पाए अघिल्लो पटक जस्तै २ वा १ सिट जित्न सक्छ,’ उनले भने, ‘सबैतिर द्विपक्षीय टक्कर नै छ । भाजपा र तृणमुल दुवै आफ्नो सिट बढाउन प्रयासरत छन् । यहाँको चुनाव अझ पार्टीभन्दा पनि मोदी र ममताबीचको लडाइँजस्तो बनेको छ ।’

कांग्रेसबाट अहिलेसम्म राहुल गान्धी वा प्रियंका गान्धीजस्ता नेता चुनावी प्रचारका लागि पश्चिम बंगालमा आएका छैनन् । कांग्रेसको हाइकमान्ड केन्द्रको राजनीतिमा तृणमुलको साथ पाउन त्यस्तो रणनीति लिएको हुन सक्ने निर्वाचक विश्लेषक जिम नवाज बताउँछन् । ममतालाई लिएर कांग्रेसमा डबल स्ट्यान्डर्ड देखिएको उनको विश्लेषण छ । प्रदेश तहका नेताहरू तृणमुल कांग्रेससँग भिडिरहेका बेला केन्द्रीय नेतृत्व चुप लागेर बसेको छ । ४७ वर्षदेखि पश्चिम बंगालमा कांग्रेस विपक्षमा छ । ममता सरकारले महिला लक्षित चलाइरहेको लक्ष्मी भण्डार लोककल्याणकारी योजनाले उनलाई लाभ दिलाउन सक्ने विश्लेषण पनि छ ।

गरिबीको रेखामुनि रहेका ७० लाख महिलालाई प्रतिमहिना एक हजार रुपैयाँ प्रदान गरिरहेको उक्त योजनाले महिला मतदाताको आकर्षण तृणमुलतिर जान सक्ने सम्भावना पनि देखाएको छ । मासिक ५ सयको उक्त योजनालाई हालै मात्र एक हजार पुर्‍याइएको छ । त्यसबाहेक गरिबीको रेखामुनि रहेकालाई निःशुल्क घर, बिजुली, रासन, स्वास्थ्य र शिक्षाजस्ता लोककल्याणकारी योजनाले पनि ममताको ‘भोट बैंक’ लाई सुरक्षित बनाएको मानिन्छ ।

कोलकाताकी वरिष्ठ पत्रकार मोनीदीपा बनर्जीले २०२१ मा ममताले विधानसभामा राम्रो नतिजा ल्याएपछि लोकसभा चुनावमा पनि ‘क्लिन स्विप’ गर्ने अपेक्षा गरिएकामा अहिलेको परिस्थिति त्यस्तो नरहेको बताइन् । भ्रष्टाचार र अन्य मुद्दाले घेरिएकीले लोकसभाको अघिल्लो नतिजाको भन्दा उत्कृष्ट नतिजा यसपटक अपेक्षित नरहेको उनले बताइन् । ‘भाजपाको हकमा पनि पश्चिम बंगालको अवस्था खराब छैन, सिट बढाउन नसके पनि अघिल्लो पटकभन्दा घट्ने देखिँदैन,’ कान्तिपुरसँग उनले भनिन्, ‘यस पटकको नतिजा पनि २०१९ कै सेरोफेरोमा आउने सम्भावना देखिन्छ ।’ २० जुनमा पाँचौं चरणको निर्वाचन सम्पन्न भइसक्दा २५ वटा लोकसभा क्षेत्रमा मतदान भइसकेको छ । अब छैटौं र सातौं चरणमा पश्चिम बंगालका १७ सिटमा मतदान हुन बाँकी छ ।

कम्युनिस्ट गढ भत्काउने ममता

सन् ७० को दशकमा कांग्रेसबाट राजनीति थालेकी ममता बनर्जी २१ वर्षको उमेरमा महिला कांग्रेसको महासचिव बनेकी थिइन् । इन्दिरा गान्धीको हत्यापछि भएको १९८४ को लोकसभा चुनावमा वरिष्ठ कम्युनिस्ट नेता सोमनाथ चटर्जीलाई हराएर उनी लोकसभामा पुगेकी थिइन् । १९८९ को लोकसभामा उनी पराजित भइन् । तर, लगत्तै १९९१ मा भएको लोकसभा चुनावमा जितेपछि उनले कहिल्यै पछि फर्केर हेर्नुपरेको छैन । त्यतिबेलै पीभी नरसिंह रावको मन्त्रिमण्डलमा मानव संसाधन, युवा र खेलमन्त्री बनेकी थिइन् ।

पश्चिम बंगालमा कम्युनिस्टसँग उनले निरन्तर लडाइँ गरिन् । कम्युनिस्टलाई सत्ताच्युत गर्न लगातार मिहिनेत गरिरहिन् । तर, त्यो अभियानमा कांग्रेसको साथ नपाएपछि उक्त पार्टी नै त्यागिन् । सन् १९९८ मा नयाँ पार्टी तृणमुल कांग्रेस स्थापना गरिन् । कम्युनिस्टसँग लड्न ममताले भाजपाको पनि साथ लिइन् । अटलबिहारी वाजपेयी सरकारमा रेलमन्त्री बनिन् । पछि मनमोहन सिंहको सरकारमा सामेल भएर पनि त्यही मन्त्रालयको जिम्मेवारी निर्वाह गरिन् । कम्युनिस्टविरुद्धको सडक संघर्षमा प्रहरीबाट कैयौं पटक कुटाइ खानेमा पर्छिन् उनी ।

उनको पार्टीले २००४ को लोकसभा चुनावमा एक सिट ल्याएको थियो । तर, २००९ को लोकसभा चुनावमा १९ सिट जितेर पहिलो पटक उनले वाममोर्चाको जग हल्लाइदिएकी थिइन् । पश्चिम बंगालमा २०११ को विधानसभा निर्वाचनमा बहुमत ल्याएर पार्टी खोलेको १३ वर्षमा वाममोर्चाको सरकारलाई सत्ताच्युत गर्न ममता सफल भएकी थिइन् । त्यसयता उनी लगातार तेस्रो पटक मुख्यमन्त्रीको कुर्सीमा छिन् । बंगालमा ३४ वर्षदेखि चलिरहेको वाममोर्चाको राज उनैले समाप्त गरेकी थिइन् । बंगालमा १९७७ देखि २००० सम्म कम्युनिस्ट नेता ज्योति वसु लगातार मुख्यमन्त्री थिए । उनीपछि लामो अवधि मुख्यमन्त्री बन्ने रेकर्ड ममताले कायम गरेकी छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x