७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

भारतले किन गर्‍यो म्यान्मारसँगको सीमामा तारबार लगाउने निर्णय ?

दुई देशबीचको ‘फ्रि मुभमेन्ट रिजिम’ सम्झौता भारतद्वारा रद्द, सीमाको १६ किमिभित्र निर्बाध आवतजावतमा रोक 
म्यान्मारको सशस्त्र द्वन्द्वको असर भारतको सीमावर्ती राज्यमा पनि देखिएकाले भारत सरकारले अहिले सीमा बन्द गरेको विश्लेषण गरिएको छ । भारतका मिजोरम, मणिपुर, नागाल्यान्ड र अरुणाचल म्यान्मारसँग सीमा जोडिएका राज्य हुन् ।
राजेश मिश्र

नयाँदिल्ली — भारतले म्यान्मारसँग जोडिएको सिमानामा तारबार लगाउने निर्णय गरेको छ । दुई देशबीच कायम ‘फ्रि मुभमेन्ट रिजिम’ सम्झौतालाई भारतले एकतर्फी रूपमा रद्द गरेको हो । भारतले म्यान्मारसँगको सीमामा निर्बाध आवतजावतमा पनि रोक लगाएको छ । 

भारतले किन गर्‍यो म्यान्मारसँगको सीमामा तारबार लगाउने निर्णय ?

गृहमन्त्री अमित शाहले गत बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत तत्कालबाटै दुईतर्फी निर्बाध आवतजावतको व्यवस्थामा रोक लगाइएको निर्णय सार्वजनिक गरेका हुन् । त्यसको दुई दिनअघि मात्रै उनले म्यान्मारसँगको सीमामा बार लगाउने सरकारी तयारीको जानकारी दिएका थिए । ‘मोदी सरकार भारतको सिमानालाई अभेद्य बनाउन प्रतिबद्ध छ । त्यसका लागि म्यान्मारसँगको सीमामा बार लगाउने निर्णय गरेको हो,’ शाहले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका थिए ।

भारतको आन्तरिक सुरक्षा र म्यान्मार सीमासँग जोडिएको उत्तरी–पूर्वी राज्यको जनसांख्यिक संरचनालाई बिग्रिन नदिन उक्त निर्णय लिइएको बताएका छन् । आफ्नो सीमालाई सुरक्षित राख्ने प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प रहेको समेत उनले ‘एक्स’ मा उल्लेख गरेका छन् ।

म्यान्मारसँग भारतको १ हजार ६ सय ४३ किलोमिटर लामो सीमा जोडिएको छ । सन् १९७० मा दुई देशबीच सीमामा निर्बाध आवतजावतको सम्झौता भएको थियो । मोदी सरकारको पालामा २०१८ मा उक्त सम्झौताको नवीकरण भएको थियो । सम्झौताअनुसार दुवैतर्फ सीमा क्षेत्रका नागरिक एकअर्काको देशमा १६ किलोमिटरभित्रसम्म बिना कुनै यात्रा अनुमति कागजात आवतजावत गर्न पाउने व्यवस्था छ । एकअर्को देशमा दुई सातासम्म बस्न पाउने सुविधा पनि उक्त सम्झौताले सीमावर्ती नागरिकलाई दिएको छ ।

म्यान्मारमा सैन्य शासन छ । तीन वर्षअगाडि सन् २०२१ मा त्यहाँको लोकतान्त्रिक सरकारलाई हटाएर सेनाले सत्ता कब्जा गरेको हो । त्यसको एक वर्षअगाडि मात्रै भएको चुनावमा चर्चित नेतृ आङ साङ सुकी नेतृत्वको पार्टीले चुनाव जितेको थियो । संकटकाल घोषणा गर्दै सेनाले स्टेट काउन्सिलर सुकी र राष्ट्रपति विन मिन्टलगायत पदाधिकारीलाई नियन्त्रणमा लिएको थियो । त्यहाँ सैनिक शासनविरुद्ध विद्रोही पक्षले सैन्य दस्ता तयार पारेर संघर्ष गर्दै आएको छ ।

म्यान्मारको सशस्त्र द्वन्द्वको असर भारतको सीमावर्ती राज्यमा पनि देखिएकाले भारत सरकारले अहिले सीमा बन्द गरेको विश्लेषण गरिएको छ । भारतका मिजोरम, मणिपुर, नागाल्यान्ड र अरुणाचल म्यान्मारसँग सीमा जोडिएका राज्य हुन् । गत नोभेम्बरमा विद्रोहीसँगको लडाइँका कारण म्यान्मारका सयौं सैनिक मिजोरम प्रवेश गरेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । साथै, गृहयुद्धका कारण त्यहाँका नागरिक पनि विस्थापित भएर भारतीय राज्यमा आउन थालेको सुरक्षा विश्लेषण छ ।

गत वर्षदेखि मणिपुरमा जारी जातीय हिंसामा पनि सीमापारबाट हतियार तथा विद्रोहीको प्रवेश भएको आशंका गरिँदै आएको छ । मणिपुरका मुख्यमन्त्री एन.वीरेन सिंहले केन्द्र सरकारसँग निर्बाध आवतजावतको सम्झौता रद्द गर्न माग गर्दै आएका थिए । भारत–म्यान्मारबीच १० किलोमिटर सीमा क्षेत्रमा यसअघि नै तारबार लगाइसकिएको छ । अब पाइलट परियोजनाका रूपमा सबै क्षेत्रमा बार लगाइने गृहमन्त्री शाहले बताएका छन् ।

प्रकाशित : माघ २८, २०८० १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?