कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

महासचिव गुटेरसले लगाए गाजामा धारा-९९, इजरायल असन्तुष्ट

'गाजामा रहेका हरेक व्यक्ति गम्भीर संकटबाट गुज्रिइरहेका छन् । अब गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन।'- महासचिव गुटेरस

काठमाडौँ — संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले इजरायल-हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै 'यूएन चार्टर'को धारा-९९ लागू गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र हमासबीच संघर्षविरामसम्बन्धी संकल्प प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला महासचिव गुटेरसले धारा-९९ लागू गरेका हुन् ।

महासचिव गुटेरसले लगाए गाजामा धारा-९९, इजरायल असन्तुष्ट

१५ सदस्यीय सुरक्षा परिषद्‍का अधिकांश मुलुक युद्धविरामप्रति सहमत देखिए पनि अमेरिका सकारात्मक देखिएको छैन । सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, रुस, अमेरिका, बेलायत र फ्रान्ससँग भिटो पावर छ । अक्टोबर १८ मा अमेरिकाले मानवीय सहायताका आधारमा युद्धविरामसम्बन्धी प्रस्तावमा भिटो प्रयोग गरेको थियो । महासचिव गुटेरसले गत अक्टोबर १८ यता नै गाजामा तत्काल मानवीय आधारमा युद्धविराम हुनुपर्ने बताउँदै आएका छन् ।

महासचिव गुटेरसले आफ्नो कार्यकालमा पहिलो पटक धारा-९९ लागू गरेका हुन् । धारा ९९ राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ । बीबीसीका अनुसार राष्ट्रसंघको इतिहासमा यो धारा अहिलेसम्म केवल ९ पटक मात्र प्रयोग भएको छ । पछिल्लो पटक सन् १९८९ मा लेबनानको बेरुतमा सैन्य द्वन्द्व चलिरहेका बेला यो धारा लागू गरिएको थियो । गुटेरसले राष्ट्रसंघका सदस्य मुलुकहरूलाई ध्यान केन्द्रित गर्न पनि धारा-९९ लागू गरेका हुन् । उनले सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई लेखेका छन्, 'गाजामा रहेका हरेक व्यक्ति गम्भीर संकटबाट गुज्रिइरहेका छन् । अब गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन।'

संयुक्त राष्ट्रसंघको बडापत्रले महासचिवलाई सीमित अधिकार दिएको छ जसमध्ये धारा-९९ पनि एक हो । धारा-९९ ले महासचिवलाई 'अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने कुनै पनि विषयलाई सुरक्षा परिषद्को ध्यान केन्द्रित' गर्न सक्ने अधिकार दिएको छ ।

इजरायल भने महासचिव गुटेरसको कदमबाट रुष्ट बनेको छ । राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्दानले सामाजिक सञ्जाल एक्समार्फत असन्तुष्टि व्यक्त गरेका छन् । उनले महासचिवले राजीनामासमेत दिनुपर्ने बताएका छन् । उनको आरोप छ, 'आज महासचिव नैतिक पतनको तल्लो स्तरमा पुगेका छन् ।'

प्रकाशित : मंसिर २१, २०८० १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?