९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

इजरायल र हमासबीच थप १ दिन युद्धविराम

काठमाडौँ — इजरायल र हमासबीच अस्थायी युद्धविराम थप १ दिन लम्ब्याउने सहमति भएको छ । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप १ दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको हो । इजरायल र हमासबीच सुरुमा ४ दिन अस्थायी युद्धविराम गर्ने सहमति भएको थियो ।

इजरायल र हमासबीच थप १ दिन युद्धविराम

त्यसपछि मंगलबार पुन: २ दिन युद्धविराम लम्ब्याउने सहमति भएको हो । हमासले थप बन्धक छाड्ने बताएपछि युद्धविराम लम्ब्याउन इजरायल सहमत भएको हो । अहिलेसम्म हमासले ९७ जना बन्धक छाडेको टाइम्स अफ इजरायलले जनाएको छ । जसमध्ये ७३ जना इजरायली र २४ जना विदेशी नागरिक रहेका छन् ।

हमासले छाडेका विदेशी नागरिकमा अधिकांश थाइल्यान्डका रहेका छन् । त्यस्तै अमेरिका र अर्जेन्टिनालगायत मुलुकका नागरिक पनि रिहा भएका छन् । नेपालका विपिन जोशीलाई भने हमासले अझै छाडेको छैन । हमासको कब्जामा रहेका भनिएका विपिनको पछिल्लो अवस्थाबारे आधिकारिक जानकारी आएको छैन । इजरायलले पनि पछिल्लो पटक ३० जना प्यालेस्टिनी नागरिक रिहा गरेको छ । हमासको कब्जामा अहिले पनि १५९ जना रहेको जनाइएको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । त्यसयता इजरायलले अस्थायी युद्धविराम हुनुअघिसम्म गाजा क्षेत्रमा भीषण आक्रमण गर्दै आएको थियो । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजार ८ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गत शुक्रबारदेखि इजरायल र हमासबीच अस्थायी युद्धविराम भएको हो ।

प्रकाशित : मंसिर १४, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?