कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

हमासले छिट्टै बन्धक छाड्ने विश्वास छ : अमेरिकी राष्ट्रपति बाइडेन

कतारमा हमास नेतालाई भेटेर बन्धक छाड्न रेडक्रस अध्यक्षको आग्रह
कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले छिट्टै नै बन्धकहरू छाड्न सक्ने बताएका छन् । राष्ट्रपति बाइडेनले हमासले बन्धक छाड्ने विषयमा सम्झौतानजिक पुगिएको बताएका हुन् ।

हमासले छिट्टै बन्धक छाड्ने विश्वास छ : अमेरिकी राष्ट्रपति बाइडेन

एक कार्यक्रममा पत्रकारको 'हमासले बन्धकहरू छोड्ने हल्ला छ नि' भन्ने प्रश्नमा बाइडेनले भने, 'मलाई नि यस्तै विश्वास छ ।' अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले यसअघि पनि केही बन्धक छुटाउन पहल गरेको थियो । आईसीआरसीकी अध्यक्ष मिर्जाना स्पोलजारिचले कतारमा हमासको राजनीतिक ब्युरोका अध्यक्ष इस्माइल हनियासँग सोमबार भेटवार्तासमेत गरेकी छिन् ।

रेडक्रसले हमासलाई तत्काल बन्धकहरू छाड्न पनि आग्रह गरेको छ । त्यस्तै रेडक्रसले बन्धक बनाइएका व्यक्तिहरूसँग भेटाउन पनि हमासलाई आग्रह गरेको छ । बीबीसीका जेरुसेलम संवाददाता टम ब्याटम्यानका अनुसार इजरायलले युद्धविराम गरेमा बन्धक छाड्ने सम्झौता मान्ने तयारीमा हमास रहेको छ ।

हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ । जसमा नेपालका विपिन जोशी पनि रहेको इजरायली सेनाको दाबी छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिनलाई गाजा सहरस्थित अल सिफा अस्पतालमा पुर्‍याएको दाबी गरेको छ ।

आईडीएफले सिफा अस्पताललाई आफ्नो नियन्त्रणमा लिएपछि सीसीटीभी फुटेजलाई आइतबार सार्वजनिक गर्दै अस्पतालभित्र लगिएका दुई बन्धकमध्ये नेपाली र थाई नागरिक भएको दाबी गरेको छ । यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

प्रकाशित : मंसिर ५, २०८० ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?