कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

बंगलादेशमा डेंगीबाट ९ महिनामा एक हजारको मृत्यु

रासस/एएफपी

ढाका — बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगीबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगीबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राव हुन्छ ।

बंगलादेशमा डेंगीबाट ९ महिनामा एक हजारको मृत्यु

अत्यधिक रक्तस्रावका कारण मानिसको मृत्युसमेत हुन सक्छ । विश्व स्वास्थ्य संगठनले लामखुट्टेबाट सर्ने डेंगीसहित पहेंलो ज्वर र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छिटो र थप फैलिरहेको चेतावनी दिएको छ ।

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगीबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ । महानिर्देशनालयका पूर्वनिर्देशक बे–नजिर अहमदले सन् २००० पछिको प्रत्येका वर्षको तुलनामा डेंगीबाट मर्नेहरूको संख्या यस वर्ष उच्च रहेको बताए । ‘यो बंगलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो,’ उनले भने । मृत्यु हुनेमध्ये शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका छन् । यो आँकडा सन् २०२२ को तुलनामा कम हो । उक्त वर्ष डेंगीबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो ।

यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेङ्गुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् । सन् १९६० को दशकबाट बंगलादेशले डेंगीका केसहरू देखिए पनि सन् २००० देखि यो रोगको प्रकोपको तथ्यांक राख्न थालेको हो ।

डेंगीका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बंगलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेंगीको प्रकोपले बंगलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताए ।

प्रकाशित : आश्विन १६, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x