लिबियामा स्वास्थ्य संकटको जोखिम


डेर्ना — लिबियामा एक साताअघिको विनाशकारी बाढीले मृत्यु भएकाको शव अझै पूर्ण रूपमा संकलन भइनसकेकाले यसले स्वास्थ्य महामारीको संकट ल्याउन सक्ने उद्धारकर्ताले चेतावनी दिएका छन् । बाढीले मुख्य क्षति पुर्याएको पूर्वी सहर डेर्नामा अझै आवासीय क्षेत्रका हिलोमा शवहरू रहेको र ती क्षेत्र खाली नगरे स्वास्थ्य समस्या देखिन थाल्ने बताएका हुन् ।


बाढीले डेर्ना सहरमा मात्र मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले शनिबार जारी गरेको प्रतिवेदनअनुसार उक्त सहरमा अझै १० हजार १ सय जना बेपत्ता छन् ।
ड्यानियल नामको आँधीपछि भारी वर्षाका कारण बाँध फुट्दा ‘सुनामी’ जसरी बाढी डेर्नामा पसेको थियो, जसका कारण सहरको एक चौथाइ भाग ध्वस्त भएको छ । बाढीका कारण डेर्ना बाहिरको भागमा १ सय ७० जनाको मृत्यु भएको राष्ट्रसंघको मानवता मामिलासम्बन्धी सहकार्यको निकायले जनाएको छ । ‘खोजी तथा उद्धारको टोली डेर्नामा खटिरहेका छन्, त्यसैले बाढीबाट मर्नेको संख्या अझै बढ्न सक्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
एक साताअघिको विनाशकारी घटनाबाट ४० हजारभन्दा नागरिक पूर्वोत्तर क्षेत्रमा विस्थापित भएको पनि राष्ट्रसंघले बताएको छ । बाढी बीचबाट प्रवेश गर्दा डेर्ना सहर पनि दुई भागमा विभाजित भएको छ । घटना हुनुअघि यहाँको जनसंख्या १ लाख रहेको बताइएको छ । बाढीले सहरको ९ सय भवनमा क्षति पुर्याएको छ । जीवित नै उद्धार हुने सम्भावना कम भएकाले खोजीकर्ताहरूले शव संकलनका लागि भवनका भग्नावशेष र समुद्री क्षेत्रमा खोजबिन गरिरहेका छन् । समुद्री तट क्षेत्रमा नै संकलन गरिएको शवहरूलाई राखिएको छ ।
प्रकाशित : आश्विन १, २०८० ०८:०६