आजकै दिन : अमेरिकी संविधान मस्यौदा पारित


काठमाडौँ — सन् १७८७ को आजकै दिन (सेप्टेम्बर १७) मा अमेरिकाको संविधानको मस्यौदा पारित भएको थियो । ५५ प्रतिनिधि समावेश ‘फिलाडेल्फिया सम्मेलन’ ले संविधानको मस्यौदा तयार गरी पारित गरेको थियो ।


१७७५ मा उत्तर अमेरिकाका १३ राज्यले ‘कन्टिनेन्टल आर्मी’ गठन गरी बेलायती शासनविरुद्ध लड्न सुरु गरेका थिए । १७७६ जुलाई ४ मा अमेरिकी कंग्रेसले ‘स्वतन्त्रताको घोषणापत्र’ पारित गरेपछि ‘कन्फेडेरेसनको विधान’ संशोधन गरी कर र व्यापारको विषयलाई व्यवस्थित गर्नका लागि ‘फिलाडेल्फिया’ सम्मेलन गरियो । तर सम्मेलनमा विधान संशोधनभन्दा नयाँ संविधान निर्माण गर्नु उचित हुने प्रस्ताव आयो । जसका कारण नयाँ संविधानको मस्यौदा तयार भयो ।
१७८७ मे २५ देखि सेप्टेम्बर १७ सम्म चलेको सम्मेलनमा १३ राज्यका ५५ प्रतिनिधि थिए । मस्यौदामा ३९ सदस्यले हस्ताक्षर गरेका थिए । दासप्रथालाई संरक्षण गरेको र नागरिक अधिकारप्रति संकुचित रहेको जनाउँदै अन्य सदस्यले मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । सम्मेलनले पारित गरेको संविधान ९ राज्यले अनुमोदन गरेपछि लागू हुने व्यवस्था अनुरूप १७८८ जुन ११ देखि अमेरिकामा संविधान लागू भएको हो । त्यसयता संविधानमा २७ वटा संशोधन भइसकेका छन् ।
प्रकाशित : भाद्र ३१, २०८० ०६:५१