१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डढेलोले क्यानडा र अमेरिकामा वायु प्रदूषण

२० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारियो
अमेरिकाका विभिन्न राज्यमा हवाई उडान प्रभावित
एजेन्सी

न्युयोर्क — केही दिनयता क्यानडाका जंगलमा डढेलो लाग्दा उक्त देशसहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ । क्यानडाको पूर्वी राज्य क्यबुेकमा डढेलो लाग्दा दुवै देशका लाखौं मानिसहरू प्रभावित भएका हुन् । डढेलो लागेको क्षेत्रका हजारौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

डढेलोले क्यानडा र अमेरिकामा वायु प्रदूषण

क्यानडाको इन्टरएजेन्सी फरेस्ट सेन्टरका अनुसार बिहीबार बिहानसम्म यहाँका ४ सयभन्दा बढी स्थानमा डढेलो लागेको छ, जसमा २३६ स्थानको डढेलो नियन्त्रणबाहिर छ । हालसम्म ४० लाख हेक्टरमा डढेलो फैलिएको अनुमान गरिएको छ । जंगलमा लागेको आगोको धूवाँ पूरै देशभरि फैलिरहेको छ । ओटावा र टोरन्टोको अवस्था झनै खराब भएको अधिकारीहरूले जनाएका छन् । क्यानडाका अधिकारीहरूले अहिलेको डढेलो हालसम्मकै ठूलो भएको बताएका छन् । टोरन्टोकी यिली माले वायु प्रदूषणका कारण बाहिरी घुमघामको योजना रद्द गरेको बताइन् । ‘मैले कोरोनाका कारण लगाएको मास्क एक वर्षदेखि हटाएको थिएँ, अहिले फेरि लगाउन सुरु गरेको छु,’ उनले भनिन् ।

अमेरिकी अधिकारीहरूले उत्तरी अमेरिकाका लाखौं स्थानीयलाई घरबाहिर रहँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । गत बुधबार अमेरिकाको न्युयोर्क र क्यानडाको ओटावामा वायु प्रदूषण भयावह रूपमा देखिएको थियो, जुन सिलसिला अझै रोकिएको छैन । डढेलोका कारण भएको वायु प्रदूषण यस साताभरि नै रहने अनुमान गरिएको छ ।

वायुमण्डलमा फैलिएको धूवाँले कम भिजिबिलिटी हुँदा हवाई उडानहरू पनि स्थगित भएका छन् । अमेरिकाको फिलडेल्फियाको अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने अर्को गार्डिया विमानस्थलमा पनि उडानहरूमा ढिलाइ भएको थियो । अमेरिकाको संघीय उड्डयन प्रशासनले उडानहरूमा ढिलाइ हुने जानकारी दिएको थियो । न्युयोर्क, वासिङ्टन डीसी, फिलडेल्फिया, न्युजर्सी र सेराल्टमा यस्तो समस्या भएको प्रशासनले जनाएको हो ।

क्यानडामा डढेलो फैलिएको क्षेत्रका २० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ । जसमध्ये ११ हजार ४ सय जना क्युबेकको बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टी ट्रुडोले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वायु प्रदूषणबारे फोन वार्ता गरेका छन् । प्रधानमन्त्री ट्रुडोले सहकार्यका लागि बाइडेनलाई धन्यवाद दिँदै जलवायु परिवर्तनको असरबारे मिलेर काम गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले उल्लेख गरेको छ ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण सुक्खा र गर्मी बढ्दा क्यानडाको डढेलोलाई झनै मद्दत मिलेको बताएका छन् । यस्तै प्रशान्त महासागरमा ‘एल निनो’ सक्रिय भएकाले आगामी सिजन झनै खराब हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ । एल निनो प्रशान्त महासागरबाट बहने हावासँग जोडिएको मौसमी घटना हो । यस्तो अवस्था हरेक २ देखि ७ वर्षको बीचमा आउने गर्छ, जसले क्यानडामा अधिक गर्मी र सुक्खा बनाउने अनुमान गरिएको छ । सन् २०१४–१६ को बीचमा लामो समय सुक्खा हुनुको कारण एल निनोलाई मानिएको थियो ।

अमेरिकी वैज्ञानिकहरूले एल निनोको प्रभावका कारण सन् २०२४ हालसम्मकै सबैभन्दा धेरै गर्मी भएको वर्ष बन्न सक्ने बताएका छन् । यसका कारण डढेलो बढ्ने पनि उनीहरूको भनाइ छ ।

यसको सबैभन्दा बढी असर अस्ट्रेलियामा पर्ने र विश्वको तापमान पनि बढाउने वैज्ञानिकहरूले जनाएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०८० ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?