१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रुस-युक्रेन युद्ध : बाँधमा विस्फोट, मानव बस्ती जोखिममा

रुस नियन्त्रित दक्षिणी युक्रेनको खेरसोन क्षेत्रमा विशाल जलविद्युत बाँधमा विस्फोट भएपछि रुस र युक्रेन एकआपसमा आरोप प्रत्यारोप लगइरहेका छन् । बाँध ध्वस्त भएपछि नजिकका मानव बस्ती जोखिममा परेका छन् । यसै विषयलाई लिएर युक्रेनमा राष्ट्रपतिले आपतकालीन बैठक राखेका छन् ।
एजेन्सी

काठमाडौँ — दक्षिणी युक्रेनस्थित रुसी नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधलाई ध्वस्त पारेको भन्दै रुस र युक्रेनले एक आपसमा आरोप प्रत्यारोप गरेका छन् । बाँध भत्किएपछि युक्रेनी सेनाले भने द्निप्रो नदीमा बाढी आउनसक्ने भन्दै त्यस आसपासका बस्तीका मानिसहरूलाई अन्यत्र जानका लागि सुझाव दिएको छ ।

रुस-युक्रेन युद्ध : बाँधमा विस्फोट, मानव बस्ती जोखिममा

यद्यपि रुसी अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दाहरूलाई बाहिर जानु नपर्ने जनाएका छन् । बाँध ध्वस्त भएपछि द्निप्रो नदीमा १५० टन तेल मिसिएको युक्रेनले जनाएको छ । साथै अरु थप तेल नदीमा मिसिनसक्ने बताइएको छ ।

यही विषयलाई लिएर युक्रेनको राष्ट्रपति कार्यालयमा आपतकालीन बैठक बसेको छ । यसैबीच उक्त बाँध ध्वस्त पारिएकोमा विभिन्न देशका प्रमुखहरूले आपत्ति जनाउँदै प्रतिक्रिया दिएका छन् ।

यस क्रममा बेलायती विदेशमन्त्री जेम्स क्लेभरलीले एक घृणित कार्य भएको भन्दै नियतवश पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध भएको बताएका छन् । जेम्सले यस घटनाबारे एक विज्ञप्ति जारी गर्नै यस्तो प्रतिक्रिया दिएका हुन् ।

यूरोपियन युनियन प्रमुख चार्ल्स माइकेलले उक्त घटनाबाट आफू स्तब्ध भएको भन्दै यसप्रति रुस र उसको प्रतिद्वन्द्वी जिम्मेवार हुने बताएका छन् । यस्तै लिथुएनियाका विदेशमन्त्री गेब्रिएलियस ल्यान्ड्सबर्गिसले रुस र युक्रेनले शक्ति बाहेक अन्य कुनै कुरामा समन्वय नगरेको भन्दै उनीहरू नरोकिएसम्म आतंककारीहरू पनि नरोकिने चेतावनी दिएका छन् ।

युक्रेनले रुसलाई आफ्नो दक्षिणी क्षेत्रमा रहेको विशाल जलविद्युत बाँध विस्फोट गरेको आरोप लगाउँदै यस घटनालाई युद्ध अपराधको रुपमा छानबिन भइरहेको जनाएको छ । युक्रेनले तत्कालै यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । उक्त विस्फोटपछि नदीमा बाढी आएर आसपासका बस्तीहरूमा पनि ठूलो क्षति पुग्नसक्ने आशंका गरिएको छ । युक्रेनले यसबाट ठूलो पर्यावरणीय नोक्सान पनि हुने भन्दै अन्तर्राष्ट्रिय मुद्दा बनाएको छ ।

रुसी उच्च अधिकारीहरूले भने उक्त बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाएका छन् । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले खेरसोन क्षेत्रको नोभा काखोभ्का बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाए । साथै रुसले युक्रेनले आफूमाथि लगाएको आरोप पनि अस्वीकार गर्दै आएको छ । उक्त जलविद्युत बाँधबाट युक्रेनले लक्ष्य हासिल गर्न नसकेपछि युक्रेन स्वयंले विस्फोट गराएको रुसी अधिकारीहरूको आरोप छ ।

प्रकाशित : जेष्ठ २३, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?