कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका

रासस/एएफपी

सिंगापुर — अमेरिकाले द्वन्द्व निम्त्याउन सक्ने असमझदारीबाट बच्न चीनसँग वार्ता गर्नु आवश्यक भएको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेको तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वसर्त भएको बताएका छन् । अस्टिनले संग्रिला डायलग नाम दिइएको सम्मेलनमा भने, ‘विशेष गरी अमेरिकी र चिनियाँ रक्षा तथा सैन्य नेताबीच सञ्चार आवश्यक छ । हामी जति धेरै वार्ता गर्छौं, त्यति नै संकट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं ।’

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन एसियाको भ्रमणमा छन् । यसै अभियानका लागि अस्टिनले यो साता जापानको पनि भ्रमण गरेका थिए भने समझदारी बनाउन कूटनीतिक पहलका लागि भारत भ्रमणमा पनि जाने बताइएको छ ।

शनिबार अस्टिनले विश्वका दुई शक्तिशाली अर्थतन्त्रका सेनाबीच संकट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफूलाई दुःख लागेको बताए ।

चिनियाँ मन्त्री लीलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो । तर पेन्टागनले अस्टिनलाई लीसँग आधिकारिक वार्ता गर्नबाट नरोकेको बताएको छ ।

अस्टिनको टिप्पणीमा प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै झूटा आरोपहरू लगाएको’ बताए । चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओझुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताए ।

प्रकाशित : जेष्ठ २१, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?