कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन राजनीतिबाट संन्यास लिँदै छन् अस्ट्रेलियाका नेता ?

१८ महिनामा चार राज्य प्रमुखले छाडे पद
राजीनामा दिनेमा लामो राजनीतिक पृष्ठभूमि भएका नेता
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका ‘खरो प्रिमियर’ भनेर चिनिने मार्क म्यागवानले सोमबार राजनीतिबाट संन्यास लिए । ५५ वर्षीय उनले पश्चिम अस्ट्रेलियाको सरकार प्रमुख प्रिमियरमा दुई पटक निर्वाचन जितेका थिए । तर अर्को निर्वाचन हुन झन्डै २ वर्ष बाँकी छँदा उनले पदबाट मात्रै राजीनामा दिएनन्, राजनीतिक करियर नै बिट मारे । म्यागवानले जस्तै यही वर्ष पूर्वशिक्षामन्त्री एलन टजले पनि राजनीति छाडेका छन् ।

किन राजनीतिबाट संन्यास लिँदै छन् अस्ट्रेलियाका नेता ?

पछिल्लो समय अस्ट्रेलियाको राजनीतिमा आफू शक्तिशाली पदमा रहँदै राजीनमा दिने र राजनीतिबाटै संन्यास लिने क्रम सामान्य बन्दै गएको छ । दुई वर्षयता यहाँका ४ प्रिमियरका साथै करिब आधा दर्जन बढी राजनीतिज्ञ राजनीतिबाटै अलग्गिएका छन् । अझै केही वर्षको तथ्यांक हेर्ने हो भने मन्त्री र सांसद रहँदा नै यसरी राजनीतिक करियर अन्त्य गर्नेको संख्या झनै धेरै छ ।

अस्ट्रेलिया ६ राज्य र दुई टेरिटोरीमा फैलिएको छ । यहाँका राज्यमा सरकार प्रमुख प्रिमियर हुने गरेका छन् भने दुई टेरिटोरीमा मुख्यमन्त्री सरकार प्रमुख हुन्छन् । सामान्य आरोप वा गलत कार्यपछि राजीनामा दिने चलन विगतमा देखिए पनि पछिल्लो समय त्यस्ता आरोपबिनै विभिन्न राज्य तथा टेरिटोरीका प्रमुखले धमाधम राजीनामा दिएका छन् । सत्ताबाट बाहिरिनु र राजनीतिबाट संन्यास लिनुलाई अस्ट्रेलियामा सामान्य रूपले हेरिन्छ । राजनीतिज्ञले राजनीतिलाई कर्तव्य तथा जिम्मेवारीका रूपमा लिने गरेकाले समेत उनीहरूको बहिर्गमन अप्रत्याशित भए पनि अनौठो मानिँदैन ।

३० वर्षसम्म राजनीति गरेर सांसद हुँदै विपक्षी दलको नेता र राज्यको प्रमुखका रूपमा दुई कार्यकालसम्म निर्वाचित म्यागवानको अप्रत्याशित राजीनामालाई अस्ट्रेलियामा आश्चर्य मानिएन । पश्चिम अस्ट्रेलियाका जनतालाई उनको राजीनामाले केही हदसम्म चकित बनाए पनि कार्यकाल सकिनुभन्दा २० महिनाअघि नै आएको उनको राजीनामाले भावी नेतृत्वको चयन गर्न भने प्रशस्त समय दिएको छ । यसका साथै कार्यकाल छँदै राजीनामा दिएपछि खाली निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनुपर्ने नियमका कारण सत्ता समीकरणमा भने कहिलेकाहीं समस्या पर्ने गरेको छ ।

तर, अहिले रोचक कुरा के छ भने मन्त्री र प्रिमियरजस्ता पदबाट राजीनामा दिएका तथा पूर्णकालीन राजनीतिबाट संन्यास लिएका नेताहरू सबै कम उमेरका छन् । पारिवारिक कारण देखाउँदै पद छाडेका नर्दन टेरिटोरीका मुख्यमन्त्री माइकल गनर मात्र ४७ वर्षका मात्र हुन् । यस्तै, गतवर्ष मात्र तास्मानियाका ५९ वर्षीय प्रिमियर पिटर गट्विनले आफ्नो कार्यकाल रहँदै राजीनामा दिए । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस ब्यारिजिक्लियनले समेत भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

यसरी राजीनामा दिनुमा धेरैजसोले ‘देशलाई दिनका लागि’ आफूसँग केही बाँकी नरहेको बताउँछन् । गट्विनले प्रिमियर बनिसकेपछि काममा १ सय १० प्रतिशत योगदान दिनुपर्ने र आफूले त्यो जिम्मेवारी पूरा गर्न नसकेकाले राजीनामा दिएको बताएका थिए । केही राजनीतिक करियरबाट थकित भएको त कसैले पारिवारिक कारण दिने गरेका छन् । अस्ट्रेलियाली राजनीतिमा निर्वाचनमा जित र पद सम्हाल्ने क्रम जति सहज रूपले चल्ने गर्छ, यहाँका राजनीतिज्ञले राजीनामा समेत त्यसरी अप्रत्याशित रूपमा दिने गरेका छन् । प्रिमियर मात्र नभएर शक्तिशाली मन्त्रालय सम्हालिसकेका व्यक्तिले समेत पदमा हुँदै राजनीतिबाट संन्यास लिने गरेका छन् । एकातिर परिवारलाई समय दिन नसक्नु र अर्कोतिर राजनीतिबाट दिक्क लागेर राजीनामा आउने गरेको विज्ञहरूको टिप्पणी छ ।

अप्रत्याशित रूपमा राजीनामा दिनेको सूची अस्ट्रेलियामा लामो छ । यसअघि रक्षामन्त्री बनिसकेका क्रिस्टोफर पाइन, शिक्षामन्त्री एलन टज, स्वास्थ्यमन्त्री ग्रेग हन्ट, महान्यायाधिवक्ता क्रिस्चियन पोर्टरलगायतले आफ्नो कार्यकाल छँदै राजीनामा र राजनीतिमा संन्यास लिने निर्णय गरेका थिए ।

प्रकाशित : जेष्ठ १८, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?