नेटफ्लिक्सको पासवर्ड सेयरिङ बन्द

सेयर गरिएको पासवर्डमार्फत नेटफ्लिक्स चलाउने १० करोडभन्दा धेरैलाई शुल्कको दायरामा ल्याएर बजार विस्तार गर्ने योजना
एजेन्सी

क्यालिफोर्निया — साथीभाइ वा आफन्तरूसँग पासवर्ड मागेर नेटफ्लिक्स चलाउने नेपाली प्रयोगकर्ताहरूले पनि केही दिनयता आफ्ना स्क्रिनमा भुक्तानी अद्यावधिकसम्बन्धी नोटिफिकेसन देखिरहेकै हुनुपर्छ ।

नेटफ्लिक्सको पासवर्ड सेयरिङ बन्द

निकै लामो समयदेखि चर्चामा रहेको पासवर्ड–सेयरिङ फिचर अन्त्यसम्बन्धी व्यवस्था नेटफ्लिक्सले अन्ततः अमेरिका र बेलायतमा पनि कार्यान्वयनमा ल्याएको छ । अब परिवारबाहेकका व्यक्तिसँग पासवर्ड सेयर गर्न चाहने प्रयोगकर्ताले थप शुल्क तिरेपछि मात्रै त्यो सुविधा प्राप्त गर्नेछन् ।

प्रख्यात भिडियो स्ट्रिमिङ प्लाटफर्म

नेटफ्लिक्सले मंगलबार बेलायत र संयुक्त राज्य अमेरिकाका आफ्ना प्रयोगकर्तालाई पासवर्ड–सेयरिङ सुविधा बन्द भएको विषयमा इमेल पठाएको थियो । परिवार सदस्यभन्दा बाहेकलाई पासवर्ड सेयर गर्न चाहने प्रयोगकर्ताले थप ७.९९ डलर तिर्नुपर्ने इमेलमा उल्लेख छ । यसबारे आफूहरूले पूर्वसूचना पनि दिँदै आएको नेटफ्लिक्सको दाबी छ ।

‘आफ्नो परिवारभन्दा बाहिरका मान्छेसँग तपाईं आफ्नो खाता सेयर गर्न चाहनुहुन्छ भने त्यसका लागि मासिक ७.९९ डलरमा सदस्यता किन्न सक्नुहुनेछ,’ मंगलबार नेटफ्लिक्सले आफ्ना प्रयोगकर्तालाई पठाएको सूचनामा भनिएको छ, ‘तपाईंको खातामा भएका कुनै पनि सदस्यले महसुल तिर्न इन्छुक जो कोही नयाँ सदस्यलाई आफ्नो प्रोफाइल ट्रान्सफर गर्न सक्नेछन् ।’

जुन घरको टीभीमा नेटफ्लिक्स जोडेर हेरिन्छ र जुन आईपी एड्रेसबाट टीभी चलेको हुन्छ, त्यसलाई कम्पनीले ‘परिवार’ वा ‘हाउसहोल्ड’ का रूपमा व्याख्या गरेको छ । डिभाइस र आईपी ठेगाना परिवर्तन भए नेटफ्लिक्स एपमार्फत हाउसहोल्ड रिसेट गर्न सकिन्छ । रिसेटको प्रक्रिया पूरा गरेपछि नेटफ्लिक्सले प्रयोगतकर्ताको इमेल वा फोन नम्बरमा भेरिफिकेसन लिंक पठाउँछ । उक्त लिंक खोलेपछि हाउसहोल्ड रिसेट गर्न मिल्छ । यस प्रक्रियामा कम्पनीले कुनै पनि प्रयोगकर्ता वा उनीहरूका डिभाइसको जीपीएस डेटा संकलन नगर्ने स्पष्ट पारेको छ ।

मासिक १५.४९ डलर तिरेर नेटफ्लिक्सको स्ट्यान्डर्ड प्लान सब्स्क्राइबर गर्नेहरूले अब हाउसहोल्डबाहेक एक अतिरिक्त सदस्य थप्न मासिक ७.९९ डलर थप तिर्नुपर्छ । मासिक ९.९९ डलर तिरेर फोरके स्ट्रिमिङ सुविधा भएको नेटफ्लिक्स प्रिमियम प्याकेज लिनेहरूले भने परिवारबाहिरका बढीमा दुई सदस्य थप्न सक्नेछन् । त्यसका लागि पनि अर्को ७.९९ डलर शुल्क तिर्नुपर्छ । नेटफ्लिक्सका सबैभन्दा सस्ता दुई प्याकेज, बेसिक र विज्ञापनसहितको स्ट्यान्डर्ड प्लानमा भने परिवारबाहिरका अतिरिक्त सदस्य थप्ने सुविधा छैन । विज्ञापनरहित स्ट्यान्डर्ड र प्रिमियम प्लानका एक्स्ट्रा मेम्बर (थपिएका सदस्य) ले एक पटकमा एउटा मात्रै डिभाइसमा कन्टेन्ट हेर्न सक्नेछन् भने भिडियोहरू पनि एउटा मात्रै डिभाइसमा डाउनलोड गर्न मिल्छ ।

पासवर्ड–सेयरिङ फिचर बन्द भएपछि नेटफ्लिक्सका प्रयोगकर्ताहरू घट्ने अनुमान थियो । तर यस्तो प्लान लागू गरिसकिएका कतिपय देशमा प्रयोगकर्ताको संख्यामा कमी नआएको कम्पनीको दाबी छ । अमेरिकी दर्शकहरूले यसलाई कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी रहेको नेटफ्लिक्स प्रतिनिधिहरूको भनाइ छ । गत फेब्रुअरीमै पासवर्ड–सेयरिङ बन्द गरिएको क्यानडामा शुल्क तिरेर नेटफ्लिक्स चलाउनेको संख्या बढेको र आम्दानीसमेत वृद्धि भएको कम्पनीले बताउँदै आएको छ ।

कम्पनीले केहीअघि सार्वजनिक गरेको तथ्यांकअनुसार १० करोडभन्दा धेरै मानिसले सेयर गरिएको पासवर्डमार्फत नेटफ्लिक्स चलाउने गरेका थिए । यही जनसंख्यालाई शुल्कको दायरामा ल्याएर आफ्नो बजार विस्तार गर्ने नेटफ्लिक्सको योजना छ । कम्पनीले कुल ११६ देशमा विज्ञापनसहितको सहुलियत दरमा स्ट्रिमिङ सेवा विस्तार गर्ने गरी पनि योजना अघि सारेको छ ।

सन् २०१७ मा ‘पासवर्ड सेयर गर्नु नै माया हो’ भन्दै ट्वीट गरेको नेटफ्लिक्सले सन् २०२२ यता पासवर्ड–सेयरिङ बन्द गर्ने उपाय अवलम्बन गर्न थालेको हो । सन् २०२२ अप्रिलमा नेटफ्लिक्सले धेरै संख्यामा ग्राहक गुमाएको थियो । यसरी प्रयोगकर्तामा आएको कमी र घट्दो आम्दानीलाई दृष्टिगत गर्दै कम्पनीले पासवर्ड सेयर गर्न शुल्क लिने बताएको थियो । तर कहिलेदेखि त्यो सुरु हुने भन्ने खुलाएको थिएन । गत जनवरीमा कम्पनीले आफ्ना सेयरहोल्डरलाई बुझाएको एक समीक्षापत्रमा आफ्ना प्रयोगकर्ताले पाउँदै आएको निःशुल्क पासवर्ड सेयरिङ सुविधा मार्च अन्त्यदेखि बन्द हुने घोषणा गरेको थियो ।

नेटफ्लिक्सले अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, होन्डुरस, एल साल्भाडोर, ग्वाटेमालालगायत देशमा यो मोडल लागू गरिसकेको छ । ती देशमा हरेक ‘अतिरिक्त सदस्य’ अकाउन्टहरूका लागि २.९९ डलर थप शुल्क लाग्छ ।

प्रकाशित : जेष्ठ १६, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?