१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आजकै दिन : नोर्गे र हिलारीले चढेका थिए सगरमाथा

काठमाडौँ — सन् १९५१ मा आजकै दिन (मे २९) मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । नेपालका नोर्गे र न्युजिल्यान्डका हिलारीले उक्त दिन ११ बजेर ३० मिनेटमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेका थिए ।

आजकै दिन : नोर्गे र हिलारीले चढेका थिए सगरमाथा

चुचुरोमा १५ मिनेट बसेपछि उनीहरू ओर्लन सुरु गरेका थिए । दक्षिणपूर्वी क्षेत्रबाट आरोहण गरेका उनीहरूलाई ८ हजार ८ सय ४८ (हाल ८८४८.८६) मिटर अग्लो चुचुरोमा पुग्न १६ दिन लागेको थियो ।

खुम्बु क्षेत्रको तेङ्बोचेमा १९१४ मा जन्मिएका तेन्जिङको भारतको दार्जिलिङमा १९८६ मे ९ मा मृत्यु भएको थियो । त्यस्तै, अर्का आरोही हिलारी १९१९ को जुलाई २० मा जन्मिएका हुन् । उनले स्कुले जीवनमा नै दक्षिणी न्युजिल्यान्डका अल्प्स पर्वत शृंखलाहरूको आरोहण गरेका थिए । पछि सैनिक सेवामा प्रवेश गरेका उनले दोस्रो विश्वयुद्धपछि पुनः पर्वतारोहणलाई निरन्तरता दिएका थिए ।

नोर्गे र हिलारीले सगरमाथा चढेको २२ वर्षपछि मात्र पहिलो महिला जापानकी जुन्को ताबेईले सगरमाथा आरोहण गरेकी थिइन् । जापानको मिहारु सहरमा १९३९ को सेप्टेम्बरमा जन्मिएकी जुन्को १९७१ मा नेपाल आएपछि सगरमाथा आरोहणको अनुमतिका लागि आवेदन दिएकी थिइन् । तर त्यतिबेला वर्षको एउटा मात्रै आरोहण टोलीलाई स्वीकृति दिने नियम भएकाले उनको टोलीले चार वर्षपछि मात्र अनुमति पाएको थियो । प्रथम आरोहणताका सात दशकमा ७ हजारभन्दा बढी पर्वतारोहीले सगरमाथा सफल आरोहण गरिसकेका छन् । पहिलो आरोहणयता चुचुरोमा पुग्ने वा फर्कने क्रममा तीन सयभन्दा बढी पर्वतारोहीले भने ज्यान गुमाएका छन् । दर्जनौं विश्व कीर्तिमानहरू कायम भएका छन् भने कतिपय तोडिने क्रम जारी छ ।

हालसम्म नेपालका कामीरिता शेर्पाले सगरमाथाको सबैभन्दा बढी २७ पटक आरोहण गरेका छन् । १५ औं चुलीका नाममा परिचित हिमाललाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा ‘माउन्ट एभरेस्ट’ नामकरण गरिएको थियो । तरपछि सन् १९५६ (विसं. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?