भारतको संसद् भवन उद्घाटनमा विवाद

प्रधानमन्त्रीले उद्घाटन गर्ने भएपछि विपक्षी दलद्वारा बहिष्कारको निर्णय
कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतमा नयाँ संसद् भवनको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारूढ र विपक्षी दलबीच विवाद भएको छ । आगामी २८ मेमा प्रधानमन्त्री नरेन्द्र मोदीले संसद् भवन उद्घाटन गर्ने तयारी छ । विपक्षी दलहरूले भने त्यसको विरोध गरेका छन् । 

१९ विपक्षी दलले प्रधानमन्त्रीले संसद् भवनको उद्घाटन गर्न नहुने र त्यसो गरिए बहिष्कार गर्ने बताएका छन् । उनीहरूले संसद् भवनको उद्घाटन राष्ट्रपतिबाट गराउनुपर्ने भनेका छन् । भवन उद्घाटन समारोहमा राष्ट्रपतिलाई बोलाइएको छैन । सबैभन्दा पहिले कंग्रेस नेता राहुल गान्धीले यस विषयको उठान गरेका थिए । राष्ट्रपतिबाट उद्घाटन गराउनुपर्ने भन्दै उनले ट्वीट गरेपछि उक्त विषयले समर्थन पाउँदै गएको हो । विपक्षी दलहरू कंग्रेस, तृणमूल कंग्रेस, आम आदमी पार्टी, राष्ट्रवादी कंग्रेस पार्टी, राष्ट्रिय जनता दल, जनता दल युनाइटेड, कम्युनिस्ट पार्टीलगायत दलहरू गान्धीले उठाएको सवालमा एकजुटता देखाएका छन् ।

प्रधानमन्त्री मोदीले २०२० डिसेम्बर १० मा संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । विपक्षी दलले पुरानो संसद् भवन हुँदाहुँदै नयाँ बनाउन लागिएकामा विरोधसमेत गरेका थिए । आवश्यकताभन्दा पनि प्रधानमन्त्री मोदीको नाममा इतिहास बनाउन मात्रै भवन बनाइएको विपक्षीको आरोप छ । पुरानो संसद् भवन अंग्रेजले भारतमा शासन गर्दाताकाको समयमा सन् १९२७ मा बनेको हो । उक्त भवन आधुनिक सुविधा सम्पन्न नरहेको भन्दै नयाँ बनाइएको हो ।

९ सय करोड रुपैयाँ लागतमा बनाइएको नयाँ भवनमा वर्तमान र भविष्यसम्मको अवाश्यकता र सुविधालाई ध्यान दिइएको छ । नयाँ भवनमा लोकसभामा ८ सय ८८ र राज्यसभामा ३ सय ८४ सिटको व्यवस्थापन गरिएको छ । पुरानो भवन ४७ हजार ५ सय वर्गमिटरमा फैलिएको छ । नयाँ भवनले भने ६४ हजार ५ सय वर्गमिटर क्षेत्रफल ओगटेको छ । प्रधानमन्त्री मोदीले सेप्टेम्बर २०१९ मा सेन्ट्रल विस्टा परियोजनाको घोषणा गरेका थिए । त्यही परियोजनाअन्तर्गत संसद् भवनको निर्माण कार्य पूरा भएको हो । महत्त्वाकांक्षी परियोजना भनिएको यसअन्तर्गत संसद् भवनबाहेक केन्द्रीय सचिवालय, कतिपय मन्त्रालय, प्रधानमन्त्रीको निवासलगायतका भवनहरू निर्माण हुँदै छ । त्यसबाहेक इन्डिया गेटदेखि राष्ट्रपति भवनसम्मको ३ किलोमिटर क्षेत्रमा राजपथको निर्माणलगायतका काम उक्त परियोजनामा समेटिएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

बादी समुदायको सहयोगार्थ दौडँदै

नवीन पोखरेल

लन्डन — लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देलले च्यारिटीका लागि एभरेस्ट म्याराथन दौड्ने भएकी छन् । कर्णालीको सुर्खेतस्थित बादी समुदायका बालबालिकाको कोषमा सहयोग गर्ने उद्देश्यसाथ उनले मे अन्त्यमा नेपालमा हुने एभरेस्ट म्याराथनमा भाग लिन लागेकी हुन् ।

एभरेस्ट म्याराथन मे २९ तारिखमा बेसक्याम्पदेखि नाम्चेबजार हुँदै लुक्लामा अन्त्य हुनेछ । उनी यतिखेर प्रशिक्षण र चन्दा संकलनमा व्यस्त छन् ।‘खेलकुदले हाम्रो स्वास्थ्यमा खेल्ने अहम् भूमिकाका साथै प्रचारप्रसार र सीमान्तकृत एवं गरिबीको चपेटामा परेर हातमुख जोड्न र शिक्षादीक्षा ग्रहण गर्नबाट वञ्चित बादी समुदायका बालबालिकाको सहयोगका लागि च्यारिटी रन गर्ने अठोट राखेकी हुँ,’ धाविका अन्जुले भनिन् ।

हिक्मत बादी र उनकी श्रीमतीले सुर्खेतमा विभिन्न क्षेत्रबाट बादी समुदायका एक सय किशोरकिशोरीलाई होस्टलमा राखेर पालनपोषण गरिरहेका छन् । तर, उनको आर्थिक अवस्था दयनीय रहेको खबर ‘हेर्ने कथा’ बाट थाहा पाएपछि अन्जुले सहयोग जुटाउने अठोट लिएकी हुन् ।उनले इच्छुकलाई ‘गो–फण्डमी’ मार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् । चितवनको भरतपुर ४ पोख्रेली टोल लंकु घर भई हाल लन्डन बस्ने अन्जुले व्यस्तता बावजुद हालसम्म सातपल्ट म्याराथन दौडिसकेकी छन् ।

‘म सम्पूर्ण महिलामा आह्वान गर्न चाहन्छु कि हरेक हप्ता कुनै न कुनै शारीरिक व्यायाममा आबद्ध हुनुहोस् यसले हाम्रो स्वास्थ्यमा सुधार र व्यक्तिगत तन्दुरुस्तीमा निकै ठूलो भूमिका खेल्छ,’ उनले भनिन्, ‘समय आफूले मिलाउने हो । हामी महिला भए पनि गर्न नसकिने केही छैन । अठोट गर्नुस् र आफ्नो प्रगतिको बाटोमा दृढ भएर अघि बढ्नुस्, सबैमा मेरो शुभकामना छ ।’

उनले पुरुषलाई पनि आ–आफ्ना दिदीबहिनी, आमा, भाउजू र बुहारी अनि श्रीमतीलाई केही गर्ने हौसला दिन आग्रह गरिन् । ‘समाज परिवर्तन हरेक व्यक्तिको जिम्मेवारी हो । यो सचेत र स्वस्थ नागरिकले मात्र गर्न सक्छ जुन आजको सबैभन्दा ठूलो आवश्यकता हो,’ उनी भन्छिन् । बेलायतको च्यारिटी संस्था नेप्लिज ब्रिटिस कम्युनिटी यूके कार्यसमितिमा आबद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लन्डनस्थित नेपाल रन यूकेको सदस्य भएर अरूलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन् ।

सन् २०१८ नोभेम्बरदेखि दौड्न सुरु गरेकी उनले ५ हजार, १० हजार र केही हाफ म्याराथनपछि सन् २०२० बाट म्याराथन सुरु गरेकी हुन् । सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन् । अब सिकागो र टोकियो बाँकी छ ।अन्जुको पहिलो म्याराथन सहभागिता लन्डन म्याराथन २०२० थियो, जुन कोभिड महामारीका कारण ‘भर्चुअल’ गरिएको थियो । उनले लन्डन म्याराथन २०२१, बर्लिन म्याराथन २०२२, लन्डन म्याराथन २०२२, न्यूयोर्क म्याराथन २०२२, बोस्टन म्याराथन २०२३ र केही दिनअघिमात्र लन्डन म्याराथन २०२३ मा समेत सहभागिता जनाएकी थिइन् ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×