चुनावमा धाँधली गर्ने बांग्लादेशीलाई अमेरिकाले भिसा नदिने

काठमाडौँ — बांग्लादेशको आम चुनावअघि अमेरिकाले बांग्लादेशी नागरिकका लागि नयाँ भिसा नीति जारी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नयाँ भिसा नीतिको घोषणा गरेका हुन् । 

चुनावमा धाँधली गर्ने बांग्लादेशीलाई अमेरिकाले भिसा नदिने

विदेशमन्त्री ब्लिंकेनद्वारा जारी घोषणामा भनिएको छ, 'बांग्लादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तरिकाबाट चुनाव सम्पन्न गराउनका लागि 'आप्रवासन तथा नागरिकता ऐन'अन्तर्गत नयाँ भिसा नीति घोषणा गरेको छु ।'

लोकतान्त्रिक तरिकाबाट हुने चुनावमा कुनै बाधा पुर्‍याइएको भेटिएका त्यस्ता व्यक्तिलाई भिसामा प्रतिबन्ध लगाइने अमेरिकाले जनाएको छ । अमेरिकाले यही मे ३ मा बांग्लादेशलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको जनाएको छ ।

चुनावमा धाँधली गर्न खोजेमा अमेरिकाले वर्तमान सरकार, विपक्षी नेता, न्यायिक निकाय तथा सुरक्षा एजेन्सीका पदाधिकारीलाई समेत अमेरिका प्रवेशमा रोक लगाउन सक्ने जनाएको हो । अमेरिकाले भोटको अदलबदल, हिंसाको प्रयोगलगायतलाई चुनावी धाँधलीका रूपमा मानिने बताएको छ । स्वतन्त्र तथा निष्पक्ष चुनावमा लागि राजनीतिक दल, सरकार, सामाजिक संस्था र मिडिया संस्थाहरू जिम्मेवार रहेको अमेरिकी भनाइ छ ।

बांग्लादेशले भने चुनावमा कुनै पनि प्रकारका गैरकानुनी गतिविधि हुन नदिने बताएको छ । अमेरिकाले बुधबार चुनावी धाँधलीमा सहभागी हुनेलाई भिसा नदिने घोषणा गरेपछि बांग्लादेशले बिहीबार प्रतिक्रिया जनाएको हो ।

बांग्लादेशमा २०२४ को जनवरीमा आम चुनाव हुने बताइएको छ । वर्तमान प्रधानमनन्त्री शेख हसिना पाँचौँपल्ट प्रधानमन्त्री बन्ने दाउमा छिन् । उनी बांग्लादेश अवामी लिगका अध्यक्षसमेत हुन् । उनी सन् २००९ देखि बांग्लादेशको प्रधानमन्त्री छिन् ।

प्रकाशित : जेष्ठ ११, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?