जी–२० को कश्मीर बैठकमा चीनसहित ५ राष्ट्र अनुपस्थित

विवादित क्षेत्रमा बैठक राखिएको भन्दै साउदी अरब, टर्की, इन्डोनेसिया र इजिप्टका प्रतिनिधि पनि सहभागी भएनन्
राजेश मिश्र

नयाँदिल्ली — भारतले जी–२० को एउटा सम्मेलन कश्मीरमा राखेपछि चीनसहित केही देश बैठकमा अनुपस्थित भएका छन् । बैठकमा साउदी अरब, टर्की, इन्डोनेसिया र इजिप्टका प्रतिनिधि पनि अनुपस्थित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जी–२० सदस्य राष्ट्रहरूको टुरिजम वर्किङ ग्र्रुपको बैठक सोमबारदेखि कश्मीरको राजधानी श्रीनगरमा आयोजना गरिएको हो । जी–२० को अध्यक्षता गरिरहेको भारतले त्यसअन्तर्गतका विभिन्न सम्मेलन अलग अलग सहरहरूमा गर्दै आएको छ । पर्यटनसम्बन्धी सम्मेलन श्रीनगरमा राखेको हो । कश्मीरको भूगोलमाथि पाकिस्तानले समेत दाबी गर्दै आएकाले उक्त क्षेत्र विवादित मानिँदै आएको छ । तर, भारतले कश्मीरमा कुनै पनि विवाद नरहेको भन्दै आएको छ ।

सन् २०१९ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले कश्मीरलाई दिँदै आएको विशेष राज्यको दर्जासमेत खोसेर केन्द्र सरकार मातहतको राज्यमा परिणत गरेको थियो । कश्मीरलाई विशेष राज्यको सुविधा दिन संविधानको अनुच्छेद ३७० मा गरिएको व्यवस्था नै सरकारले खारेज गरेको थियो ।

श्रीनगरमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको आयोजना गरेर भारतले कश्मीरमाथि आफ्नो पूर्ण पकड रहेको र आफ्नो भूभाग भएको सन्देश दिन खोजेको छ । जी–२० को सदस्य नरहेको पाकिस्तानले कश्मीरमा गर्न लागिएको कार्यक्रमप्रति आपत्ति जनाइसकेको छ । संघाई सहयोग संगठन एससीओको बैठकमा सहभागी हुन भारत आएका बेला पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टोले श्रीनगरमा हुन लागेको जी–२० को बैठकले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भनेका थिए । लगत्तै चीनले पनि कश्मीरमा हुने बैठकप्रति आपत्ति जनाएको थियो । कश्मीरलाई विवादित क्षेत्र भन्दै चीनले त्यहाँ हुने बैठकमा सहभागी नहुने सार्वजनिक गरेको थियो । यसअघि गत मार्चमा अरुणाचल प्रदेशमा गरिएको जी–२० को एउटा बैठकप्रति पनि चीनले आपत्ति जनाउँदै सहभागिता जनाएको थिएन ।

बैठकका लागि श्रीनगरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरू पुगेका छन् । २२–२४ मेसम्म हुने पर्यटन सम्मेलनमा ६० भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । जी–२० का सदस्य देशबाहेक भारतले श्रीनगरको बैठकका लागि बंगलादेश, इजिप्ट, मोरिसस, नेदरल्यान्ड, नाइजेरिया, ओमान, सिंगापुर, स्पने र यूएईलाई पनि निम्तो दिएको छ । अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि बोलाइएको छ ।

१९९९ मा स्थापना भएको जी–२० मा अर्जेटिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका र युरोपियन युनियन सदस्य छन् । यी देशका राष्ट्राध्यक्षहरूको शिखर सम्मेलन हरेक वर्ष हुन्छ ।

यस पटक उक्त बैठक भारतमा हुनेछ । राष्ट्राध्यक्षहरूको शिखर सम्मेलनपूर्व विभिन्न विषयगत समितिको सम्मेलन भारतले गराउँदै आएको छ । जी–२० को अध्यक्षता पाएको भारतले यसलाई ठूलो अवसर र विश्वमा भारतको सशक्त उपस्थितिको रूपमा उपयोग गर्दै छ ।

प्रकाशित : जेष्ठ ९, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

कोरियाली बुद्धजयन्तीमा ‘लोटस फेस्टिभल’

गोकुल थोकर

सोल — दक्षिण कोरियाको राजधानी सोलको जोगेशा गुम्बाअगाडि शनिबार झकिझकाउ थियो । साँझ थरीथरीका लालटिन बालेर मानिसहरूबीच सडकबाट लाइनबद्ध हिँडिरहेका थिए । विभिन्न खाले नाच प्रदर्शन भइरहेको थियो भने रथयात्रा पनि निकालिएको थियो ।

अरू बेला सवारीसाधनले व्यस्त हुने सडकको यो दृश्य कोरियाली बुद्धजयन्तीको अवसरको हो । यस अवसरमा बर्सेनि यहाँ ‘लोटस ल्यान्टर्न फेस्टिभल’ हुन्छ । फेस्टिभलमा विभिन्न देशका समूहहरू सहभागी थिए । जसले आ–आफ्नो देशमा प्रचलित बुद्धका आकृति प्रदर्शन गरेका थिए । फेस्टिभलमा कोरियाभरका बौद्ध दर्शनसँग सम्बन्धित संघसंस्था सहभागी थिए । यस्तै नेपाल, श्रीलंका, भियतनाम, थाइल्यान्ड, म्यानमारलगायत देशका समूह पनि फेस्टिभलमा आएका थिए ।

‘यो महोत्सव धार्मिकभन्दा पनि संस्कृतिका रूपमा बढी महत्त्वपूर्ण छ, सोलको यस्तो व्यस्त सडकमा हामी यसरी आनन्दले हिँडिरहेका छौं,’ दोंगुग विश्वविद्यालयमा पढ्ने किम ह्वाले भने । उनले भनेझैं यो कोरियालीका लागि सांस्कृतिक फेस्टिभल भएकैले बालबालिकादेखि पाका उमेरका मानिस सहभागी थिए ।


यस अवसरमा एक लाखभन्दा बढी लालटिन बालेर लाइनबद्ध मानिसले सहर परिक्रमा गर्ने चलन छ । कोरियाली बुद्धजयन्तीलाई यहाँ ‘बुछनिम ओसिननाल’ भनिन्छ । यस दिन बुद्ध पृथ्वीमा आएको विश्वास गरिन्छ । कोरोना महामारीका कारण सन् २०२०/२१ यो फेस्टिभल भएको थिएन । सन् २०१५ को जनगणनाअनुसार ७६ लाख कोरियाली बौद्ध धर्म मान्ने गर्छन् ।


कोरियाली बुद्ध जयन्तीमा सोलमा सार्वजनिक बिदा दिइन्छ, गुम्बा चैत्यमा पूजा गरिन्छ । सोलमा बर्सेनि ५ लाखभन्दा बढी मानिसहरू सहभागी भएर ‘लोटस ल्यान्टर्न फेस्टिभल’ मनाउने गर्छन् । अन्य देशका बौद्ध धर्मालम्बी पनि सहभागी हुने भएकाले यो ठूलो बौद्ध धार्मिक महोत्सव मानिन्छ ।

नेपालबाट पनि यो महोत्सवमा सहभागिता हुँदै आएको छ । नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा र नागार्जुन गुम्बा फेस्टिभलमा सहभागी हुँदै आएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×