नवजोतसिंह सिद्धू शनिबार रिहा हुँदै

एजेन्सी

चन्डिगढ — कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज(सडकमा यात्राका क्रममा मारपिटको घटना) प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको उनको ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ ।

सिद्धूलाई गत मई १९ मा एक वर्षको जेल सजाय र एक हजार जरिवाना सुनाइएको थियो । उनको ट्विटर ह्यान्डलबाट शुक्रबार नै शनिबार रिहा हुने जानकारी दिइएको हो ।

त्यस्तै शनिबार पटियाला जेलबाट रिहा भएपछि मिडियासँग कुराकानी गर्ने जानकारी दिइएको छ । उनी १० महिनादेखि पटियाला जेलमा सजाय काटिरहेका छन् । सिद्धूका वकिल एपीएस वर्माले पञ्जाब जेल नियमअनुसार राम्रो आचरण देखाउने कैदीबन्दीको सजायमा छुट दिइने बताएका छन् ।

के हो पुरानो घटना ?

सन् १९८८ डिसेम्बर २७ का दिन पञ्जाबको पटियालामा पार्किङमा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच हातपात भएको थियो । सरकारी अभियोजकका अनुसार सिद्धु र उनका अर्का साथी रुपिन्दर सिंह पटियालाको शेरनवाला गेटनजिकै विवादपछि गुरनामसँग हातपात गरी फरार भएका थिए । उनीहरू गुरनाम ढलेपछि भागेका थिए । पछि उपचारका क्रममा गुरनामको अस्पतालमा मृत्यु भएको थियो ।

गुरनामका परिवारले सिद्धु र उनका साथीविरुद्ध पछि मुद्दा दायर गरेका थिए । सन् २००६ मा उच्च अदालतले सिद्धु र उनका साथीलाई दोषी ठहर गर्दै ३/३ वर्ष जेल सजाय र एक/एक लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।

तर सिद्धुले उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा अपिल गरेका थिए । उनी गुरनामको मृत्युबारे चिकित्सको राय स्पष्ट नभएको भन्दै सर्वोच्च गएका थिए । त्यतिबेला सर्वोच्चका न्यायाधीश जे चेलमेश्वेर र एसके कौलको इजलासले सिद्धुलाई भारतीय दण्ड संहिताको धारा ३२३ अन्तर्गत 'स्वेच्छाले चोट पुर्‍याएको' अपराधमा दोषी करार गरेको थियो । त्यसमा उनलाई भारतीय दण्ड संहिताको धारा ३०४ अनुसार दोषी ठहराउन नसकिने बताइएको थियो । सन् २००६ को पञ्जाब एन्ड हरियाणा उच्च अदालतले भने त्यही धाराअन्तर्गत उनलाई दोषी करार गरेको थियो ।

उच्च अदालतले गुरनामको मृत्युको कारण 'हृदयघात' नभई 'सबड्युरल ह्यामरेज'(मस्तिष्कको बाहिरी सतहमा हुने रक्तश्राव)भएको उल्लेख गरेको थियो । तर सर्वोच्चले भने उच्च अदालतले भनेअनुसारको 'सब्ड्युरल ह्यामरेज' को कुनै प्रमाण नभएको र केवल अनुमानमा आधारित भएको उल्लेख गरेको थियो । त्यही आधार देखाएर सिद्धुलाई सर्वोच्च अदालतले एक हजार जरिवाना मात्र गरेको थियो ।

उक्त सजाय कम भएको भन्दै पीडित परिवारले सर्वोच्च अदालतमा अपिल गरेको थियो । सर्वोच्चले सिद्धुलाई दोषी ठहर गर्दै एक वर्ष जेल सजाय सुनाएको हो ।

प्रकाशित : चैत्र १८, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

रामपुर क्याम्पसमा स्ववियु चुनाव धाँधलीपूर्ण भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पसमा स्ववियु चुनाव धाँधलीपूर्ण भएको भन्दै ध्यानाकर्षण गराएको छ । चितवनको खैरहनीस्थित रामपुर क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी संगठनसँगको कुनै समन्वय विना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको भन्दै कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।

रामपुरमा शुक्रबार मतदान भएको थियो । तर निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गरेर एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ ।

कांग्रेसका अनुसार चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव घाइते भएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले घटनाको यथार्थ छानबिन गरी अवैधानिकरुपमा गरिएको निर्वाचन रद्द गर्न माग गरेका छन् ।

साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न समेत माग गरेका छन् ।

प्रकाशित : चैत्र १८, २०७९ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×