अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा

आपराधिक अभियोगमा अदालतमा मुद्दा दर्ता गरिएका ट्रम्प पहिलो पूर्वराष्ट्रपति
कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।

हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

उनले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुन अनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।

ट्रम्प आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ । उनले आफूविरुद्ध लगाइएको आरोप गलत र राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दु:ख दिन खोजेको बताएका छन् ।

अमेरिकी संचार माध्यमहरुका अनुसार ट्रम्पविरुद्ध व्यापारिक धोकाधडीका करिब दुई दर्जन अभियोग लगाइएका छन् । तर, सो कुरा कतैबाट पनि स्वतन्त्र रुपमा पुष्टि भने भइसकेको छैन । पूर्वराष्ट्रपतिको समर्थनमा रहेका रिपब्लिकन नेताहरुले यसलाई 'राजनीतिक घटना'का रुपमा प्रतिरक्षा गरिरहेका छन् भने डेमेक्र्याटहरुले भने कोही पनि कानुनभन्दा माथि नभएको प्रतिक्रिया दिएका छन् ।

२०१६ मा ट्रम्पले पूर्वपोर्नस्टार ड्यानियल्सले आफ्नो ट्रम्पसँग सम्बन्ध रहेको बताएपछि राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पले आफ्नो वकिल माइकल कोहेनमार्फत १ लाख ३० हजार डलर दिएका थिए । पछि कोहेनलाई उनको कानुनी सेवाका लागि भनेर उल्लेख गर्दै सो रकम फिर्ता गरेका थिए । न्युयोर्क राज्यमा खर्चको विवरण गलत तवरमा उल्लेख गर्नु कानुनी अपराध हो । सोही कानुनका आधारमा उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।

प्रकाशित : चैत्र १७, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

मुद्दती खातामा पैसा बढ्यो, बचतमा घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य बैंकहरुमा खोलिएका मुद्दती खातामा रकम बढेको छ भने बचतमा घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ मसान्तसम्म विभिन्न मुद्दती खातामा कुल २७ खर्ब ५९ अर्ब रुपैयाँ जम्मा भएको छ । यो रकम कुल निक्षेपको ५८ प्रतिशत हो ।

गत वर्षको माघसम्म मुद्दतीमा जम्मा भएको रकम कुल निक्षेपको ५२.७५ प्रतिशत मात्रै थियो । रकमसागै मुद्दती निक्षेपको हिस्सा बढ्दै गएको बैंकर्स संघको तथ्यांक छ । बचत खातामा भएको रकम भने घट्दै गएको छ । गत वर्षको माघ मसान्तसम्म कुल १३ खर्ब ९ अर्ब रुपैयाँ बचत खातामा संकलन भएकोमा यो माघ मसान्तसम्म १२ खर्ब ३९ अर्बमा झरेको छ । कुल निक्षेपमध्ये बचत खाताको रकम हिस्सा २६.१४ प्रतिशत हो । गत वर्षको माघमा बचत खातामा भएको रकमको हिस्सा ३०.३८ प्रतिशत थियो ।

बचतसँगै चल्ती र कल खाताको हिस्सा पनि घटेको छ । गत माघ मसान्तसम्म चल्ती खातामा भएको रकमको हिस्सा कुल निक्षेपको ९.२५ प्रतिशत थियो भने अहिले ८.८५ प्रतिशतमा झरेको छ । त्यस्तै कल खाताको ६.४७ प्रतिशतबाट ५.६६ प्रतिशतमा झरेको छ । बचतको तुलनामा मुद्दती निक्षेपमा पाइने ब्याजदर उच्च भएकाले मुद्दतीप्रति निक्षेपकर्ताको आकर्षण देखिएको छ । साधारणतया मुद्दतीको ब्याजदर बचतकोभन्दा ५ प्रतिशत विन्दुले बढी हुने गरेको छ । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खातामा वार्षिक ११ प्रतिशत ब्याज दिन्छन् तर बचतमा ६ देखि ७ प्रतिशतसम्म दिने गरेका छन् ।


प्रकाशित : चैत्र १७, २०७९ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×