जर्मनीमा राष्ट्रव्यापी हड्ताल : रेल, बस र हवाई सेवा अवरुद्ध, सहरमा थुप्रियो फोहोर

ददि सापकोटा

पेरिस — सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । 

'सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,' जर्मनीको मुन्स्टरका नेपाली रेस्टुरेन्ट व्यवसायी सूर्य तिवारीले कान्तिपुरसित भने । मध्यरातमा राष्ट्रव्यापी २४ घण्टाको हड्ताल सुरु भएपछि सोमबार जर्मनीमा लगभग सबै विमान, रेल र बसहरू ठप्प भएका छन् । बीईआर बर्लिन ब्रान्डनबर्ग एयरपोर्टबाहेक सबै प्रमुख जर्मन अन्तर्राष्ट्रिय विमानस्थल हड्तालबाट प्रभावित भएका छन् । राष्ट्रव्यापी रूपमा, करिब चार लाख यात्रुहरूले ढिलाइ वा उडान रद्दको सामना गर्नुपरेको छ ।

जर्मनीको सबैभन्दा ठूलो विमानस्थल फ्र्यांकफर्टमा सबै आगमन र प्रस्थान गर्ने उडानहरू सोमबार भर रद्द गरिएको छ । केही लामो दूरीको उडानहरूको मामलामा पूरा दिन ढिलाइ भएको फ्र्यांकफर्ट विमानस्थलले उल्लेख गरेको छ । हडतालका कारण धेरै प्रमुख बन्दरगाह र नाकाहरूमा व्यावसायिक र सामान ढुवानीको कामसमेत रोकिएको जर्मनीको डीडब्ल्यू न्युजले उल्लेख गरेको छ । हड्तालको तयारीले गर्दा शुक्रबारदेखि नै अवरोधहरू निम्त्याएको थियो ।

दुई ठूला मजदुर युनियनहरुले देशलाई नै ठप्प पार्ने गरी आह्वान गरेको यो हड्ताल जर्मनीले गत तीन दशकमा बेहोरेको सबैभन्दा ठूलो हड्ताल हो । धेरै रेल मजदुरहरूको प्रतिनिधित्व गर्ने भर्डी सेवा श्रमिक युनियन र ईभीजी युनियनले यो हड्तालको आह्वान गरेका हुन् । जर्मनीमा पछिल्ला हप्तामा श्रमिक युनियनहरुले सरकारसित सेवा सुविधा र तलब बढाउन माग गरेका थिए । मुद्रास्फीति बढेको र बजारभाउ पनि बढेकाले त्यसअनुरूपको सेवा, सुविधा र श्रमको मूल्य पाउनुपर्ने माग मजदुर युनियनहरूको छ । तर युनियनहरुले राखेको मागमा सुनुवाइ नभएकाले हड्ताल गर्नुपरेको भनाइ मजदुर युनियनहरूको छ । उनीहरुले रोजगारदाताहरूसँग पटक पटक वार्ता गरे पनि असफल वार्ताको शृंखलापछि सामूहिक हड्ताल गर्न बाध्य भएको जनाएका छन् । 'हाम्रो सुनुवाइ भएन । त्यसैले हडताल गर्नुपर्ने भयो । हडतालमा व्यापक सहभागिता छ,' भर्डी प्रमुख फ्रान्क वेर्नेकेले पत्रकार सम्मेलनमा भनेका छन् ।

हड्ताल आधिकारिक रूपमा सोमबार मध्यरातमा सुरु भएको हो र सोमबार साँझसम्म चल्ने छ। तर कतिपय विमानस्थलले आइतबार आइपुग्ने वा प्रस्थान गर्ने निर्धारित उडान रद्द गरेका छन् ।जर्मनीको हडतालका कारण युरोपभरिका पेरिस, आम्स्टरडम, लियों, जेनेभा, जुरिक, बार्सिलोना, स्टकहोम, रोम, मेड्रिड, हेलसिन्की लगायत ३० भन्दा बढी सहरका उडान रद्द भएको जनाइएको छ ।

जर्मनीका दुई ठूला एयरपोर्टहरू म्युनिख र फ्रान्कफर्टका साथै ब्रेमेन, ह्याम्बर्ग र स्टटगार्ट एयरपोर्टहरूमा उडानहरू स्थगित गरिएको छ। रेल अपरेटर डोइच बाहनले आफ्नो लामो दूरीको रेल सेवाहरू रद्द गरेको छ । जर्मन रेल अपरेटर डूइच बाहनले सोमबार कुनै लामो दूरीका रेलहरू नचल्ने, धेरै रेलहरू मंगलबार पनि रद्द गरिएको अग्रिम जानकारि गराएको थियो । सोमबारको यात्रामा रहेका यात्रुहरुलाई उनीहरुले सम्भव भए अर्को दिनको यात्रा स्थगित गर्न आग्रह गरेको थियो ।

डोइच बाहनले एक विज्ञप्तिमा भनेको छ 'सोमबारको हडतालले सबै जर्मन रेल सञ्चालनहरूलाई असर गर्नेछ, किनकि डोइच बाहन र अन्य रेल कम्पनीहरूका सबै क्षेत्रका कर्मचारीहरूलाई हडतालमा निस्कन आह्वान गरिएको छ । त्यसैले डोइच बाहनको लामो दूरीको यातायात पूर्ण रूपमा बन्द गरिएको छ।'

सोमबारको हड्ताल राष्ट्रव्यापी छ । हड्ताल आह्वान गर्ने युनियनहरूले यातायात मजदुरमा बहुमतको प्रतिनिधित्व गर्दछन् । भर्डीले २५ लाखभन्दा बढी सार्वजनिक क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्दछ भने ईभीजीले रेलवे र बस कम्पनीका करिब २ लाख ३० हजार कामदारहरूको प्रतिनिधित्व गर्दछ।

प्रकाशित : चैत्र १३, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्

खुलामञ्‍चमा प्रहरीले प्रवेश नदिएपछि सडकपेटीमै बास

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू सोमबार राति खुलामञ्च अगाडि सडकपेटीमै रात कटाउने भएका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौं पीडितहरूले सडकपेटीमै सुतेका हुन् ।

सोमबार दिनभर खुलामञ्चको गेट अगाडि प्रदर्शन गरेका पीडितहरू रात परेपछि खुलामञ्चभित्र सेल्टर बनाउने भन्दै प्रहरीसँग आग्रह गरे पनि प्रहरीले प्रवेश गर्न नदिएपछि उनीहरूले बाहिरै ओछ्यान लगाए ।

पीडितहरूको प्रदर्शनमा अगुवाइ गरेका अधिकारकर्मी संघर्ष दाहालका अनुसार उनीहरू बासका लागि खुलामञ्चभित्रै रात कटाउने योजनामा थिए । राति अबेरसम्म पनि पीडितहरूले प्रहरीसँग अनुरोध गरिरहेको अधिकारकर्मी दाहालले बताए ।

यस क्रममा प्रहरीसँग उनीहरूको केही बेर धकेलाधकेलसमेत भएको थियो । प्रहरीले प्रवेश नै गर्न नदिएपछि उनीहरू पेटीमै सुतेका छन् ।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । यस क्रममा उनीहरूले 'मिटरब्याजीलाई कारबाही गर', 'सहुलियत दरमा ऋणको व्यवस्था गर', 'तमसुक व्यवस्था खारेज गर', 'मिटरब्याजविरुद्ध कानुन निर्माण गर' लगायतका नारा लगाएका थिए । सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । साथै सरकारले माग पूरा नगरेसम्म आफूहरू घर नफर्किने उनीहरूले चेतावनी दिएका छन् ।

मिटरब्याजपीडितलाई न्याय दिलाउन अदालत तगारो !

प्रकाशित : चैत्र १३, २०७९ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×