अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ को मृत्यु, दर्जनौं घाइते

एजेन्सी

काठमाडौँ — अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मिसिसिपीस्थित आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अरु दर्जनौं मानिस घाइते भएका छन् । 

साथै चार जना मानिस हराइरहेको बताइएको छ । आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने आकलन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मिसिसिपीस्थित सिल्भर सिटी र रोलिङ फोर्कका ग्रामीण सहरहरूमा आँधी ११३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा आएको छ । राष्ट्रिय मौसम विभागले शुक्रबार राति एक आँधीको असर अझै नसकिएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

आँधीबाट घुम्ती घरलगायत भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ । यसअघि जनवरीमा पनि अलाबामा र जर्जियामा आँधीले सात जनाको मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र ११, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना, पाँच जना घाइते, एकको अवस्था जटिल

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ चौधकिलोमा शनिबार साँझ ८ बजेतिर ट्रकसँग कार ठोक्किँदा कारमा रहेका पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था जटिल रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको लु १ ख ८२६६ नम्बरको ट्रकले मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ३७१५ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

कारमा बसेका नवलपरासी देवचुली नगरपालिका-१४ का ४३ वर्षीय टेकप्रसाद न्यौपानेको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको डिएसपी पण्डितले बताए । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कार चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु भुजेलको अवस्था मध्यम छ ।

त्यसैगरी कारमै रहेका गोरखा फुजेल गाउँपालिका-३ बस्ने वर्ष ४३ का राजकुमार सापकोटा र काठमाडौं महानगरपालिका-१६ बस्ने ३३ वर्षीय रामहरि मिश्रको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । नवलपरासी देवचुली-१४ का ४० वर्षीय कमल न्यौपानेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र ११, २०७९ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×