अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प‚ कम्तीमा ५ जनाको मृत्यु

भारत र पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस‚ पाकिस्तानमा कम्तीमा २ जनाको मृत्यु‚ ६ घाइते
कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो । अफगानिस्तानमा भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

पाकिस्ताको हिन्द् कुश क्षेत्रमा भूकम्पको तीव्रता ६.८ म्याग्नच्यिुड रहेको पाकिस्तानी मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पले इस्लामाबाद लाहोर र पेशावरलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । पाकिस्तानमा कम्तीमा २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली‚ राजस्थान र जम्मुकश्मिरमा समेत महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ । भूकम्पले सीमा क्षेत्र ब्रगलादेशका केही भूभागमा पनि असर परेको बताइएको छ । मंगलबार रातिको उक्त भूकम्पको धक्का ३० सेकेन्डसम्म महसुस गरिएको थियो ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

प्रसाद-२ को ‘मार्सी धान’

कान्तिपुर संवाददाता

काठमाडौँ — चैत २४ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ ले मंगलबार आफ्नो पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरेको छ । राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा राजनराजकै शब्द, संगीत रहेको लोक लयमा आधारित उक्त गीतलाई फिल्ममा विवाहको सन्दर्भ जोडिएको छ ।

जसमा‘प्रसाद २’ का मुख्य जोडी विपिन कार्की र केकी अधिकारीसहित कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माले नाचेका छन् । विवाह सेटमा पञ्चेबाजासहित कलाकारलाई नृत्य निर्देशन गरेका हुन्, विक्रम स्वाँरले ।

पछिल्ला वर्ष लोक गीत, संगीतमा सफलता कमाइरहेका संगीतकार सिवाकोटीले ‘मार्सी धान’ आफूले निकै मिहिनेत गरेकाले दर्शकलाई रुचिकर लाग्ने बताउँछन् । ‘लै लै’ र ‘वनकी चरी’ जस्ता हिट गीत दिइसकेको ‘प्रसाद’ कै सिक्वेल भएकाले पनि ‘प्रसाद २’ का गीत पनि दर्शकका लागि प्रतीक्षित छन् । सिवाकोटीले आफू त्यसप्रति जानकार भएकैले पनि ‘मार्सी धान’ लाई पूर्णतः न्याय दिएरै फिल्मको कथा, पात्र र अवस्था सुहाउँदो मौलिकता पस्केको बताउँछन् ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ मा विपिन र केकीका साथमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडीलगायतका कलाकारको मुख्य भूमिका छ । पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित ‘प्रसाद २’ सुशील पौडेलले लेखेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको निर्माण सुदर्शन बस्नेतले गरेका हुन् भने यसका प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×