इमरान खानका कार्यकर्ता अदालत छिर्नखोज्दा सुनुवाइ स्थगित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इमरान खानका कार्यकर्ता अदालत छिर्नखोज्दा सुनुवाइ स्थगित

इमरान खानमाथि ‘गिफ्ट’ बेचेको आरोप
कान्तिपुर संवाददाता

नयाँ दिल्ली — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि पदमा रहेका बेला प्राप्त महँगा उपहार बेचेको आरोप लागेको छ । सोही आरोपमा सरकारले उनलाई पक्राउ गर्ने प्रयास गरिरहँदा उनी आफैं शनिबार अदालतमा उपस्थित भए ।

तर अदालतले बढ्दो तनवालाई हेर्दै उक्त मुद्दाको सनुवाई स्थगित गरेको छ । प्रहरी र खान नेतृत्वको राजनीतिक दल तहरिक ए इन्साफ पाकिस्तान (पीटीआई) का कार्यकर्ताबीच भएको झडप बढेको कारण जनाउँदै अदालतले मुद्दालाई अगाडि बढाएन ।

ठूलो संख्यामा कार्यकर्ताहरु पनि अदालत परिसरमा प्रवेश गर्न खोजेपछि अदालतले त्यसमा रोक लागएको थियो । आरोपी पूर्वप्रधानमन्त्री खानलाई अदालतको ढोकामै उपस्थिति गराएर फर्काइएको समाचार एजेन्सीहरुहरुले जनाएका छन् ।

खान प्रधानमन्त्री रहेका बेला विदेशी मुलुक र सरकार प्रमुखहरुबाट प्राप्त महँगा ‘गिफ्ट’ व्यक्तिगत लाभका लागि बेचेको खानमाथि आरोप छ । यद्यपि खानले उक्त आरोपलाई गलत र आफूलाई चुनावमा रोक्ने प्रयास भन्दै आएका छन् । विदेश यात्राको क्रममा प्राप्त हुने उपहारलाई सरकारी तोशखानामा जम्मा गराउने प्रावधान विपरीत खानले महँगा उपहारलाई आफैं राखेर बेचेको आरोपको मुद्दा अदालतमा पुगेको हो ।

पाकिस्तानमा त्यहाँको मूल्य अनुसार ३० हजार रुपैयाँसम्मको प्राप्त उपहार सरकारी पदमा रहेका व्यक्तिले आफैं राख्न सक्ने तर, त्यसमाथिका उपहार सरकारी निकायमा जम्मा गर्नुपर्ने नियम छ । साउदी राजकुमार मोहम्मद बिन सलमानले सुनले बनेको घडी पाकिस्तानी प्रधानमन्त्रीलाई उपहार दिएका थिए । १६ करोड मूल्य मानिएको उक्त घडी खानले आफूसँगै राखेको र त्यसलाई उनकी पत्नीले बेच्ने प्रयास गरेको घटना सार्वजनिक भएको थियो ।

खान इस्लामावादस्थित अदालतमा उपस्थित हुन पुगेका बेला प्रहरी भने लाहोरस्थित जमान पार्कस्थित उनको घरमा प्रवेश गरेको थियो । बुल्डोजरले घरको ढोका तोडेर प्रहरी खानको घरमा पुगेर ‘सर्च’ गरी फर्किएको थियो । त्यहाँ प्रहरी र खान समर्थकबीच झडप भएको थियो ।

पूर्वक्रिकेटर खान पाकिस्तानको राजनीतिमा सक्रिय भएर २०१८ को आम चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका थिए । एक वर्ष अगाडि उनी प्रधानमन्त्री पदबाट हटेका हुन् । अविश्वासको प्रस्तावमा आवश्यक मत पुर्‍याउन नसक्दन उनी सत्ताच्यूत भएका थिए । त्यसयता उनी सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ४, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन आग्रह गरेका छन् । यहाँ काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तक्रियामा नेताहरूले शान्ति प्रक्रियामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्नेमा जोड दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको तर्क गरे । सशस्त्र द्वन्द्वका पीडितले न्याय चाँडो पाउनुपर्ने बताउँदै उनले न्यायका लागि शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले गणतन्त्र ल्याउन बलिदान गर्नेहरूमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति जनाए । सोही पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले राजनीतिक विषयलाई राजनीतिक विषयभन्दा कानुनी विषयमा हल गर्न खोजिएकाले समस्या पैदा भएको तर्क गरे ।

माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सशस्त्र द्वन्द्वको इतिहासलाई संविधानले स्वीकार गरिसकेको बताउँदै द्वन्द्वका पीडितहरूलाई न्याय नियमित अदालतमा दिन नमिल्ने बताए ।

प्रकाशित : चैत्र ४, २०७९ २०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×