फेसबुक र युट्युबमा फर्किए ट्रम्प- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुक र युट्युबमा फर्किए ट्रम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । नेपाली समयअनुसार शनिबार बिहान उनले यी दुवै प्लाटफर्ममा 'म फर्किएँ' शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै पुनरागमनको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि 'यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ' भन्दै गरेको दृष्य राखिएको छ ।

ट्रम्पले यसअघि सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केहीसमयअघि मात्रै अन्तिम पटक फेसबुकमा लेखेका थिए । दोस्रो पटक राष्ट्रपति बन्ने चाहना अधुरो रहेको झोंकमा संसद्मा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताए पनि उनी फर्किन्छन्/फर्किँदैनन् भन्ने यकिन थिएन ।

सस्पेन्सन हटाउने क्रममा मेटाले राजनीतिकर्मीहरूका कुरा सर्वसाधरणले थाहा पाउनुपर्छ तर नीति उल्लंघका घटना पुन: दोहोर्‍याए उनीमाथि 'थप कारबाही' हुने जनाएको थियो । ट्वीटर इलन मस्कको स्वामित्वमा आएपछि उनलाई त्यसमा पनि गत नोभेम्बरमै 'रिन्स्टेट' गरिएको थियो अर्थात उनका प्रतिबन्धित खाता फुकुवा गरिएको थियो । तर ट्रम्पले यतिञ्जेल त्यसमा कुनै ट्वीट गरेका छैनन् ।

सन् २०१६ मा विशेषत: फेसबुकलगायत सामाजिक सञ्जालको सहायतामा ट्रम्पले चुनाव जितेका थिए । आगामी राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन चाहेका ट्रम्पलाई फेसबुक, युट्युबजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने भएको छ ।

फेसबुकमा उनका १४६ मिलियन फलोअर छन् । वासिङ्टन पोस्टको एक समाचार अनुसार हालसम्म ट्रम्पले जति अर्को कुनै राजनीतिकर्मीले फेसबुक र इन्स्टाग्राममा पैसा खन्याएको छैन । सन् २०१८ को मेदेखि २०२३ को जनवरीसम्म ट्रम्प र उनी संलघ्न राजनीतिक अभियान आयोजकहरूले १.३ मिलियन विज्ञापनका लागि मेटालाई १५९ मिलियन डलर तिरेको मेटाले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा खुल्यो नेपाली भाषा कक्षा

लक्ष्मी लम्साल

बेइजिङ — नेपालको पर्यटन तथा व्यवसायप्रति बढ्दो चासोसँगै चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थालेका छन् । हालसम्म चीनभर आधा दर्जनजति नेपाली भाषाका कक्षा चलिरहेका छन् ।

भर्खरै दक्षिणपूर्वी चीनको च्याङ्सी प्रान्तको नानछाङ्स्थित इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी)मा नेपाली भाषा कक्षा सुरू गरिएको छ।

विश्वविद्यालयमा शुक्रबार आयोजित ‘भाषा संचार तथा सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममार्फत् भाषा कक्षाको शुभारम्भ गरिएको हो । सोही अवसरमा अनलाइन तथा अफलाइन माध्यमबाट सहभागी नेपाली तथा चीनका विज्ञहरूबीच अन्तर्क्रिया समेत गरिएको विश्वविद्यालयको जिओफिजिक्स विभागमा कार्यरत नेपाली सह-प्राध्यापक डा. तारा बन्जाडेले जानकारी दिए । उनले चिनियाँ नयाँ पुस्ताले नेपाली भाषा अध्ययनमा देखाएको अभिरुचीबाट जनस्तरीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने देखेर युनिभर्सिटीले नेपाली भाषा कक्षा चलाउन लागेको कान्तिपुरलाई बताए।

चीनमा लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, अरुणिमा कलेजका प्रमुख केशव जोशी, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक सिन लुकाओ, प्राध्यापक बालमुकुन्द रेग्मीले भिडियो मार्फत् भाग लिएका थिए । चिनियाँ पक्षबाट नेपाली भाषा कक्षाका पहलकर्ता ईसीयूटीअन्तर्गत स्कुल अफ फरेन ल्याङ्ग्वेजका डिन, प्राध्यापक लिउ युएमिङ, पार्टी सचिव प्राध्यापक ये चौ, इन्टरनेश्नल स्कुलका डिन वाङ च् छङ् लगायत उपस्थित थिए ।

नेपालमा उद्योग व्यवसाय तथा पर्यटन क्षेत्रमा संलग्न हुने चिनियाँहरूको संख्या बढ्दै गएकाले नेपाली भाषा कक्षाको माग भएको प्राध्यापक लिउ युएमिङले बताए। उनले भने, ‘नेपाली भाषा अध्ययन अत्यावश्यक भएको छ । व्यवसाय र पर्यटनका लागि नेपाली भाषाको माग बढ्दो छ।’

नेपालमा लामो समय बसेर वस्तुस्थिति अध्ययन गरेको भन्दै उनले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा भ्रमण गरेर शैक्षिक आदानप्रदानको राम्रो सम्भावना देखेको बताए । ‘नेपाली बजारमा पर्यटनको राम्रो सम्भावना देखेकाले चिनियाँहरू स्वयं भाषिक कठिनाइ सुल्झाउन अग्रसर देखिन्छन्’, प्राध्यापक युएले भने, ‘नेपालमा व्यवसाय गर्न चाहने चिनियाँ उद्यमीहरूको इच्छा पनि देखिन्छ।’

पूर्वराजदूत लीलामणि पौड्यालले भाषाले अन्तर्देशीय सम्बन्धलाई गहन पार्न टेवा पुर्‍याउने बताए। भाषिक सहजताले एकअर्काको संस्कृति, परम्परा बुझ्न सहज भएर जनस्तरीय सम्बन्धलाई सरल बनाउन सक्ने उनको भनाइ थियो ।

नेपाली भाषाको कक्षा आगामी साताबाट सुरू गरिने विश्वविद्यालयले जनाएको छ । यसअघि चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा कक्षा संचालित छन् । राजधानी बेइजिङस्थित संचार विश्वविद्यालय (सीयूसी) र विदेशी भाषा अध्ययन विश्वविद्यालयमा नेपाली भाषा पढाइ हुँदैआएको छ । राजधानीबाहिर हनान प्रान्तको लोयाङ, युननान प्रान्तको खुनमिङस्थित जातीय विश्वविद्यालय, पल्लो शान्सी प्रान्तीय सियानयाङ सहरको सिचाङ जातीय विश्वविद्यालय लगायतमा नेपाली भाषाका कक्षा संचालित छन्।

प्रकाशित : चैत्र ४, २०७९ १५:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×