इमरान खानको निवास अगाडि कार्यकर्ता र प्रहरीबीच झडप- विश्व - कान्तिपुर समाचार

इमरान खानको निवास अगाडि कार्यकर्ता र प्रहरीबीच झडप

प्रहरीले इमरान खानलाई पक्राउ गर्ने तयारी गरिरहँदा उनले कार्यकर्ता र समर्थकहरूलाई आह्वान गरेका छन्- 'सच्चा अधिकारको लागि सडकमा उत्रिनुस्' । इमरान खानको पार्टी पीटीआईका कार्यकर्ताहरूले विभिन्न सहरमा प्रदर्शन गरेका छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं पाकिस्तान ताहरिक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानको निवास अगाडि प्रहरी र पीटीआईका कार्यकर्ताहरूबीच झडप भएको छ । इमरान खानले भने आफूलाई पक्राउ गर्न प्रहरी घर बाहिर आएको भन्दै त्यसलाई रोक्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

मंगलबार साँझ खानले एक भिडियो सन्देश सार्वजनिक गर्दै कार्यकर्ताहरूलाई बाहिर निस्कन आह्वान गरेका छन् । लाहोरस्थित जमान पार्कमा ठूलो संख्यामा खानका कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।

'उनीहरूले सोचेका छन् कि मलाई पक्राउ गरेपछि राष्ट्र निदाउनेछ । तर तपाईँहरूले उनीहरूलाई गलत सावित गर्नुपर्नेछ,' खानले ट्विटरमा सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् । उनले हरेक मानिसलाई आफ्नो 'सच्चा अधिकार'का लागि घरबाट निस्किएर प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । 'यदि मलाई केही भयो भने र मलाई जेलमा राखियो भने । अथवा मलाई मारियो भने तपाईँहरूले इमरान खानबिना नै संघर्ष गरेर आफूलाई प्रमाणित गर्नुपर्ने छ । र यी चोरहरूको दासता स्वीकार नगर्नुहोला,' खानले भनेका छन् ।

पीटीआईका अन्य नेताहरूले पनि आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई इमरान खानप्रति ऐकबद्धताका लागि सडकमा उत्रिएर प्रदर्शन गर्न आह्वान गरेका छन् । स्थानीय समय अनुसार मंगलबार दिउँसो २ बजेदेखि नै खानको निवास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजले जनाएको छ । प्रहरीले भने पीटीआई अध्यक्षलाई पक्राउ गर्ने सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपि पीटीआईका कार्यकर्ताहरूसँग झडपको क्रममा प्रहरीले पानीको फोहोरा र टियर ग्यास प्रहार गरेको छ । सोमबार इस्लामाबादस्थित अदालतले इमरान खानविरुद्धको 'तोसाखाना' मुद्दामा लगातार सुनुवाइ नगरेपछि फेरि पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पूर्वप्रधानमन्त्री खानलाई मार्च १८ सम्म अदालतमा उपस्थित गराउन पनि प्रहरीलाई निर्देशन दिएको छ ।

गत साता मात्रै खानले विवादास्पद अभिव्यक्ति दिएर समाजलाई विखण्डन गराउन खोजेको भन्दै सरकारको मिडिया सम्बन्धी नियामक निकायले टेलिभिजनमा उनको अन्तर्वार्ता प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरकलेज प्याट्रियट्स कप क्रिकेट शनिबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर प्याट्रियट्सको आयोजनामा प्याट्रियट्स कप दोस्रो अन्तरकलेज टी– २० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । सहभागीलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

समूह ‘ए’ मा ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सस तथा समूह ‘बी’ मा पिनाकल, गोल्डेनगेट र प्राइम कलेज रहेका छन् । त्यस्तै समूह ‘सी’ मा काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए तथा ओरियन्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डी’ मा छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ द टुर्नामेन्टले २५ हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट ब्याटर र बलरले १५–१५ हजार पुरस्कार जित्नेछन् । कुल १५ खेल हुनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय पुरस्कार पाउने प्रतियोगिता निर्देशक सारोन जोशीले बताइन् ।

उनले युवा खेलाडीलाई अवसर र प्रतिभावन खेलाडीको पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताइन् । निर्देशकले प्रतियोगिताबाट २ उत्कृष्ट खेलाडी छनोट गरी विशेष सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

आयोजक प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताका लागि ५० लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण ब्लु बर्डले जितेको थियो ।


प्रकाशित : फाल्गुन ३०, २०७९ २०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×