२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

चिनियाँ जनकांग्रेसको वार्षिक अधिवेशन बेइजिङमा सुरू, यो वर्ष जीडीपी ५ प्रतिशत रहने

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ राजनीतिक जीवनको सबैभन्दा ठूलो आधिकारिक निकाय दुई अधिवेशनअन्तर्गत राष्ट्रिय जनकांग्रेस (एनपीसी) को प्रथम वार्षिक अधिवेशन आइतबारदेखि बेइजिङमा सुरू भएको छ ।

चिनियाँ जनकांग्रेसको वार्षिक अधिवेशन बेइजिङमा सुरू, यो वर्ष जीडीपी ५ प्रतिशत रहने

थ्यानमन स्क्वायरस्थित ग्रेटहल अफ द पिपुल्समा सुरू भएको अधिवेशनमा राष्ट्रपति सी चिनफिङलगायत नेताहरूका साथै एनपीसीका ३ हजार हाराहारी प्रतिनिधिहरूले भाग लिएका छन् । १४ औं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनमा प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्यप्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस वर्ष सन् २०२३ मा चीनको आर्थिक वृद्धिदरको अनुमानित लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनमा करीब ५ प्रतिशतले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ । शहरी तथा ग्रामीण क्षेत्रका गरी कूल १ करोड २० लाख रोजगारी सिर्जना गर्दै बेरोजगारी दश ५.५ प्रतिशतमा झारिनेछ । उपभोक्ता मूल्य सीपीआईको वृद्धिदर ३ प्रतिशतमा सीमित गरिनेछ । खाद्यान्न उत्पादन मात्रा ६.५ खर्ब किलोग्रामभन्दा माथि बढाइनेछ । आयात-निर्यातको गुणस्तरलाई कायम राख्दै अन्तर्राष्ट्रिय आय-व्ययमा सन्तुलन कायम राखिने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री लीले गत वर्ष चीनको अर्थतन्त्र र समाज स्थिरता साथ गुणस्तरीय विकासतर्फ अग्रसर भएको उल्लेख गरे । विगत एक वर्षमा कोभिड-१९ महामारी लगायत स्वदेशी र विदेशी कारक तत्वबाट आफ्नो अर्थतन्त्रमा असर परे पनि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा यसलाई प्रभावकारी रुपमा प्रतिक्रिया दिइएको प्रधानमन्त्री लीको भनाइ छ ।

प्रधानमन्त्री लीका अनुसार विगत पाँच वर्षमा चीनको आर्थिक सामाजिक विकासले ठूलो फड्को मारेको छ भने राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन मात्रा १ हजार २ सय १० खर्ब युआन पुगेर सरदर वार्षिक आथिक वृद्धि दर ५.२ प्रतिशत पुगेको छ । विगत दश वर्षमा लगभग ७०० खर्ब वृद्धि भएर वार्षिक सरदर वृद्धि दर ६.२ प्रतिशत पुगेको छ ।


विगत पाँच वर्षको अवधिमा सुधार तथा खुलापनलाई गहन पार्दै बीआरआईको लक्ष्यतर्फ उन्मुख भएको भन्दै चीनले आयात-निर्यात कूल रकम ४०० खर्ब युआनभन्दा बढी पुगेको र भित्रिएको विदेशी पूँजी र वैदेशिक लगानी पनि विश्वको अघिल्लो स्थानमा रहेको प्रतिवेदनले औंल्याएको छ । गरिबी निवारण, वैज्ञानिक तथा प्राविधिक आविष्कार र वातावरणीय सुधारमा पनि सन्तोषजनक उपलब्धि हासिल गरिएको प्रतिवेदनमा लेखिएको छ ।

निजी उद्योगव्यवसायको सम्पत्ति तथा हित-अधिकारको संरक्षण गर्ने र निजी क्षेत्रको व्यवसायलाई प्रेरित गर्दै निष्पक्ष प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने चीनको प्रतिवद्धता छ । सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले विदेशी पूँजीलाई आकर्षित गर्ने र प्रयोग गर्ने, खुला चीनको ठूलो बजारले चीनमा विभिन्न मुलुकको उद्योग-व्यवसायको विकासका लागि मौका उपलब्ध गराउनेछ । चीनले आधुनिक सेवा व्यवसायको खुलापनलाई विस्तृत पार्दै आयात र निर्यातको टेवादायी भूमिका निर्वाह गर्नेछ ।

प्रधानमन्त्री लीको सरकारी कार्य प्रतिवेदनमा नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीले थाइवान समस्याको समाधान, एक चीन नीतिको निरन्तरता, अडानका साथ स्वतन्त्रताको विरोध गर्दै एकीकरणलाई साकार तुल्याउने दुई किनाराबीच शान्तिपूर्ण विकास तथा मातृभूमिको शान्तिपूर्ण एकीकरण प्रक्रिया बढाउने कुरा समेटिएको छ । हङकङ तथा मकाउका सम्बन्धमा प्रतिवदेनले ‘एक देश दुई व्यवस्था’, हङकङका जनताद्वारा हङकङको प्रशासन तथा ‘मकाउवासीद्वारा मकाउको प्रशासन भन्ने कार्यनीतिलाई लागू गर्ने धारणा प्रस्तुत गरेको छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनीतिक नीति पालना गर्ने, शान्तिपूर्ण विकास बाटो हिँड्ने, शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोग गर्ने र आपसीयुक्त हित तथा साझा विजयी खुलापन नीति पालना गर्ने छ । प्रतिवेदनमा भनिएको छ, ‘चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर विश्व विकास र सुरक्षा प्रस्तावलाई व्यवहारमा उतार्ने छ ।’

मार्च १३ सम्म चल्ने एनपीसीको वार्षिक सम्मेलनले नयाँ नेताहरूको नियुक्तिका साथै सरकारी कार्यप्रतिवेदनमाथि विचार-विमर्श सुरू गरेको छ । चीनको आर्थिक तथा सामाजिक विकासका मुख्य लक्ष्य तथा सरकारी प्रशासनिक नीतिबारे जानकारी दिनेछ । यसअघि शनिबारदेखि १४ औं सीपीपीसीसी राष्ट्रिय समितिको पहिलो अधिवेशन चलिरहेको छ भने साढे सात दिनपछि समापन हुनेछ ।

प्रकाशित : फाल्गुन २१, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?