टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजारभन्दा बढी- विश्व - कान्तिपुर समाचार

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजारभन्दा बढी

रासस

अकंरा — टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

यसैगरी, सिरियामा कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्यांग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ । चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भने, 'टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।'


प्रकाशित : माघ २५, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्

रविले पत्रकार सम्मेलनमा बोलेको कुराको जिम्मा लिन्‍नँ : अरनिको पाँडे

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेले पार्टी सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणाको आफूले जिम्मेवारी लिन नसक्ने बताएका छन् । रास्वपाका केन्द्रीय सदस्य रहेका पाण्डेले  पार्टीले गरेको निर्णयको मात्रै जिम्मेवारी आफूले लिने भन्दै पत्रकार सम्मेलनमा सभापति लामिछानेले व्यक्त गरेका धारणाबाट आफू अलग रहेको बताए ।

'हो, आइतबार रास्वपाले गरेको निर्णयमा मेरो सहमति छ । हामीले व्यापक छलफल गरेका थियौं', पाँडेले ट्विट गर्दै भनेका छन्, 'तर म पत्रकार सम्मेलनको तयारीको अंश थिइनँ र त्यसको कथ्य, त्यसको धारणा र त्यसको कमजोरीमा मेरो स्वामित्व छैन ।'

उनले युवा, सीमान्तकृत र नेपालको आशाका लागि रास्वपाका एक नेताको भावनाभन्दा माथि उठ्नु पर्ने बताए । रास्वपाले गृह मन्त्रालय नपाएपछि आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो पत्रकार सम्मेलनपछि सभापति लामिछानेले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई विभिन्न लान्छना लगाएका थिए ।


प्रकाशित : माघ २५, २०७९ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×