भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो- विश्व - कान्तिपुर समाचार

भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी टर्कीमा मात्रै करिब ६ हजार जनाले ज्यान गुमाएका छन् । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने जनाएको छ । भूकम्पमा परी सिरियामा १९ सयभन्दा बढीको ज्यान गएको गार्डियनले उल्लेख गरेको छ ।

टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको जनाएका छन् । टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । विमानस्थलका टर्मिनलमा समेत भूकम्पपीडितहरूले आश्रय लिइरहेका छन् ।

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : माघ २५, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा बुधबार राति दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् । दुईको अवस्था गम्भीर रहेको छ । 

श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प १५६३ नम्बरको मोटरसाइकल राप्ती राजमार्गअन्तर्गत शारदा नगरपालिकाको २ जोगदेखोला नजिकै आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सिद्धकुमाख गाउँपालिका ३ का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ का अर्जुन बुढाथोकी, १५ का शिशिर बुढाथोकी, हल्चौरका १८ वर्षीय हिमाल बुढाथोकी, गिठाचौरका १८ वर्षीय डिल्लीराज बोहरा, शारदा नगरपालिका २ पटनेरीका १४ वर्षीय अनिल शाही रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

घाइतेको शारदा नगरपालिका १ श्रीनगरस्थित कान्तिपुर, कर्णाली अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका अर्जुन बुढाथोकी, हिमाल बुढाथोकीलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तैयारी भइरहेको उनले जानकारी गराए ।

उनका अनुसार एक मोटरसाइकलमा तीन जना सवार थिए । विपरीत दिशाबाट आएकै कारण मोटरसाइकल दुर्घटनामा परेको देखिए पनि दुर्घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ २५, २०७९ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×