टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ५ सयभन्दा बढी- विश्व - कान्तिपुर समाचार

टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ५ सयभन्दा बढी

एजेन्सी

काठमाडौँ — टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै भौतिक संरचना भत्किँदा २ हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

टर्कीका उपराष्ट्रपति फट ओक्टेले भूकम्पका कारण टर्कीमा २८४ जनाको मृत्यु हुनुका साथै २ हजार ३२३ जना घाइते भएको बताएका छन् । अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । सीएनएनले भने भूकम्पमा ५ सयभन्दा धेरैको मृत्यु हुनुका साथै ३ हजार घाइते भएको जनाएको छ ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

सोमबारको भूकम्पमा भने ४० सेकेन्डसम्म भुकम्पले हल्लाइरहेको महसुस गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रकाशित : माघ २३, २०७९ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्

सरोकारवालाको प्रश्न- ‘रविको धम्कीप्रति राज्य किन मौन ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली सञ्चार माध्यम र पत्रकारमाथि दिएको धम्कीप्रति राज्य मौन बसेकोप्रति सरोकारवालाले प्रश्न उठाएका छन् । नेपाल पत्रकार महासंघको कार्यालयमा सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगको अन्तरक्रियामा सरोकारवालाहरूले यस्तो प्रश्न उठाएका हुन् ।

‘रवि लामिछानेको हिजोको अभिव्यक्तिबाट प्रेसमाथिको आक्रमण अझै पनि नटरेको देखिन्छ, उनलाई यस्तो बोल्न केले प्रेरित गर्‍यो ?’ महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष महेन्द्र विष्टले भने, ‘राज्यले यसलाई कसरी हेर्छ ? जवाफ दिनुपर्छ ।’ उनले यसलाई सामान्य रुपमा लिन नहुने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए । कानुनलाई हातमा लिएर खुलेआम सञ्चारगृह घेर्छु भन्ने धम्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौ ती थपेको उनले बताए ।

महासंघका सल्लाहकार निर्मला शर्माले राजनीतिक दलका नेताबाट होस् वा अन्यबाट मिडियामाथि आक्रमण गर्ने कार्य जारी रहेकाले सरकार यसप्रति जिम्मेवार हुनुपर्ने बताइन् । ‘सामाजिक सञ्जाल र युट्युबले यस्तो कार्यलाई अझ बढी प्रोत्साहित गरिहेको छ,’ उनले भनिन्, ‘रविको हिजोको व्यवहार प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको गम्भीर प्रहार हो ।’

महासंघका अध्यक्ष विपुल पोख्रेलले जिम्मेवार राजनीतिक दलको प्रमुखले अराजक अभिव्यक्तिमार्फत भीडलाई उत्तेजित गराउने काम गरेको बताए । उनले राज्यले कानुनी रुपमै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षालाई बलियो बनाउन कानुनी प्रवन्ध गर्नुपर्ने उनको भनाइ थियो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सोसल मिडिया र युट्युबलाई विद्यमान कानुनले नचिन्ने भएकाले तिनको नियमन गर्न चुनौती रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोविन्द आचार्यले पत्रकार महासंघ र पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि सरकारले ठोस योजना बनाउनुपर्ने बताए ।

मन्त्री शर्माले रचनात्मक आलोचनालाई स्विकार्न सकिने भए पनि निषेधात्मक आलोचनालाई सरकारले निरुत्साहित गर्ने बताइन् । ‘राजनीति र पत्रकारिता अभिन्न रुपमा जोडिएका छन् । हरेक परिवर्तनमा सञ्चार जगतको पनि योगदान रहेको छ,’ उनले भनिन्, ‘त्यसैले सरकारले आफ्ना नीतिहरू निर्माण गर्नेदेखि कार्यान्वयन गर्ने काममा हातेमालो गर्न चाहन्छ ।’

प्रकाशित : माघ २३, २०७९ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×