सौर्यमण्डलमा अब बृहस्पतिमा धेरै ‘चन्द्रमा’, पुग्यो ९२- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौर्यमण्डलमा अब बृहस्पतिमा धेरै ‘चन्द्रमा’, पुग्यो ९२

गोविन्द पोखरेल

काठमाडौँ — सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमाको पहिचान भएको छ । योसँगै बृहस्पतिमा अब ९२ वटा चन्द्रमा भएका छन् । यसअघि शनि ग्रहमा सबैभन्दा धेरै ८३ वटा चन्द्रमा भएको पुष्टि भएको थियो ।

इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टर (एमपीसी) ले सञ्चालन गर्ने स्मिथसोनियन एस्ट्रोफिजिकल अब्जर्भेटरीले यी १२ वटा चन्द्रमा पत्ता लगाएको हो । थपिएका एक दर्जन चन्द्रमा बृहस्पतिमा यसअघि पहिचान भएकामध्ये १५ प्रतिशतले वृद्धि भएको अमेरिकन एस्ट्रोनिमकल सोसाइटीको मुखपत्र स्काई एन्ड टेलिस्कोप म्यागजिनले उल्लेख गरेको छ । सन् २०२१ र २०२२ मा गरिएको खोजका आधारमा बृहस्पतिमा ती उपग्रहको पहिचान भएका हुन् । परिक्रमा हेर्नुपर्ने भएकाले पहिचान हुन समय लागेको हो ।

पहिचान भएका नयाँ उपग्रहले बृहस्पतिलाई परिक्रमा गर्न ३४० दिन लगाउने गरेको स्काई एन्ड टेलिस्कोपले जनाएको छ । पहिचान भएका १२ मध्ये ९ वटा धेरै नै टाढा रहेका छन् । यिनले बृहस्पतिको परिक्रमा गर्न ५ सय ५० दिन लगाउने अनुसन्धानकर्ताहरूले बताएका छन् । यी चन्द्रमा बृहस्पतिका ७१ वटा जोभियन चन्द्रमाभित्र पर्ने स्काई एन्ड टेलिस्कोपले जनाएको छ ।

पहिचान भएकामध्ये ५ वटाको मात्रै औसत चौडाइ ८ किलोमिटर रहेको जनाइएको छ । ठूला आकाशीय पिण्ड एकआपसमा ठोकिँदा यी सानो आकारमा चन्द्रमा बनेको हुन सक्ने बताइएको छ । यस्तै तीनवटा चाहिँ बृहस्पति परिक्रमा गर्ने दिशातर्फबाट नै परिक्रमा गर्ने स्काई एन्ड टेलिस्कोपले उल्लेख गरेको छ । बृहस्पतिमा यस्ता अन्य १३ वटा चन्द्रमाहरू प्रोगेट दिशाबाट फन्को लगाउँछन् ।

यी चन्द्रमाहरू बृहस्पतिक अध्ययनका लागि पठाउन लागिएको मिसनको सम्भावित क्षेत्रहरू हुन सक्ने बताइएको छ । बृहस्पतिको ग्रहको प्रणाली अध्ययनका लागि युरोपियन स्पेस एजेन्सीको आईसी मुन एक्सप्लोरर (जेयूआईसीई), नासको युरोपा क्लपिर र अर्को चिनियाँ मिसन छन् । जेयूआईसीई मिसन अबको दुई महिनापछि जाँदै छ भने युरोपा क्लपिर अर्को वर्ष लन्च गर्ने नासाको तयारी छ । चिनियाँ मिसनचाहिँ सन् २०३० को दशकमा जाने अनुमान छ ।


बृहस्पतिमा भेटिएका धेरैवटा चन्द्रमाले एउटा स्टेलाइट जस्तो प्रणाली देखिने भएकाले यसलाई जोभियन सिस्टम भनिन्छ । आयो, युरोपा, ग्यानिमिड र कालिस्टो बृहस्पतिलाई परिक्रमा गर्ने ठूला चन्द्रमा हुन् जसलाई पहिलो पटक ग्यालिलियो ग्यालिलीले सन् १६१० मा पत्ता लगाएका थिए । तयसपछि सन् १८९२ पछि बृहस्पतिका अन्य चन्द्रमाहरू पत्ता लागेका थिए । जर्मनका खगोलशास्त्री साइमोन मारियसले यी चन्द्रमाहरू आफूले पहिल्यै नै भेटेको दाबी गरे पनि उनले यस सम्बन्धमा आधिकारिक रूपमा दस्तावेजमा उल्लेख नगरेपछि यसको सम्पूर्ण श्रेय ग्यालिलियोलाई दिने गरिएको नासाले जनाएको छ ।

ग्यालिलियन चन्द्रमाहरू धेरै ठूलो भएकाले यिनको आकार लगभग गोलाकार मानिन्छ । यी चन्द्रमा यति विशाल छन् कि बृहस्पतिलाई परिक्रमा नगरेर सूर्यलाई परिक्रमा गर्थे भने ग्रहको समेत मान्यता दिन सकिने खगोलशास्त्रीहरू तर्क गर्छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले पनि बृहस्पतिको चन्द्रमा ८० देखि ९२ वटा रहेको मान्दै आएको छ । यो ग्रहले अन्य हजारौं स–साना आकाशीय पिण्डहरूलाई आफूतिर तान्ने र तिनले परिक्रमा गर्ने जनाएको छ ।

शनि ग्रहको पहिचान भएका ८३ वटा चन्द्रमामध्ये ६३ वटाको नामकरण भएका छन् । यस्तै २० वटाको चाहिँ नामकरण हुन बाँकी रहेको नासाले जनाएको छ । शनि ग्रहको चन्द्रमा टाइटनको आकार बुध ग्रह जत्रो छ ।

सौर्यमण्डलको पाँचौं ग्रह रहेको बृहस्पतिले सूर्यको परिक्रमा गर्न १२ पृथ्वी वर्ष लगाउँछ । यो समयलाई जोभियन वर्ष भन्ने गरिन्छ । हाइड्रोजन र हिलियम ग्यासबाट बनेको यो ग्रहमा हालसम्म ९ वटा अन्तरिक्षयानहरू त्यसतर्फ गएको नासाले जनाएको छ । हाल नासाको जुनो अर्बाइटरले यसको परिक्रमा गरिरहेको छ । सन् २०११ मा प्रक्षेपण गरिएको यो अर्बाइटर सन् २०१६ मा बृहस्पति ग्रहको कक्षमा प्रवेश गरेको थियो ।

पृथ्वीभन्दा करिब ११ गुणा ठूलो व्यास रहेको बृहस्पति सूर्यदेखि ५.२ एस्ट्रोनोमिकल युनिट टाढा छ । पृथ्वी र सूर्यबीचको दूरीलाई एक एस्ट्रोनिमकल युनिटका रूपमा मापन गरिन्छ । यसमा सौर्यमण्डलमा भएका ग्रहमध्ये छोटो दिन हुन्छ । पृथ्वीको १० घण्टामा बृहस्पतिका लागि एक दिन मानिन्छ ।

प्रकाशित : माघ २१, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका  विषयमा सहकार्य अघि बढाउन आग्रह गरिन्
कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् । 

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन काेलम्बाे पुगेकी मन्त्री पौड्यालले राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् । मन्त्रीकाे सचिवालयका अनुसार उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्य अघि बढाउन आग्रह गरिन् ।

मन्त्री पौड्यालले भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग साइडलाइन भेटवार्ता गरिन् ।

ती देशहरुका विदेशमन्त्रीहरुसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिइन् । परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनेछिन् ।

प्रकाशित : माघ २१, २०७९ २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×