पाकिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ४७ को मृत्यु- विश्व - कान्तिपुर समाचार

पाकिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ४७ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिम सहर पेसावरस्थित एक मस्जिदमा सोमबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । १ सय ५७ जना घाइते भएका छन् । पेसावरको प्रहरी कार्यालयसहित उच्च सुरक्षा व्यवस्था रहेको क्षेत्रको मस्जिदमा विस्फोट भएको हो । 

पाकिस्तानी सञ्चारमाध्यम डन न्युजका अनुसार विस्फोटका कारण मस्जिदको मुख्य भवन पूरै भत्किएको छ । भग्नावशेषमा मानिसहरू पुरिएका थिए । उक्त भवन २५० देखि ३०० मानिस क्षमताको भए पनि विस्फोटको समयमा ३०० देखि ४०० जना मस्जिदको भवनमा रहेको समाचारमा उल्लेख छ । पेसावरका प्रहरी प्रमुख मोहम्मद इजाज खानले विस्फोटमा आत्मघाती आक्रमण भएको दाबी गरेका छन् । आक्रमणकारी धेरै वटा ब्यारिकेट पार गर्दै सो स्थानमा पुगेर विस्फोट गराएको बताइएको छ । मस्जिदमा प्रार्थना गर्नेहरूको पहिलो लाइनमा बसेका आक्रमणकारीले प्रार्थना सुरु भएपछि विस्फोट गराएका थिए । विस्फोटको कारण मस्जिदको माथिल्ला तलासमेत भत्किएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सेहबाज सरिफले आक्रमण पाकिस्तानमाथि भएको भन्दा कम नभएको बताएका छन् । ‘यो पाकिस्तानमाथिको आक्रमणभन्दा कम होइन । राष्ट्र गहिरो शोकमा गुज्रिएको छ । कुनै शंका छैन कि आतंकवाद हाम्रो प्रमुख राष्ट्रिय सुरक्षा चुनौती हो,’ उनले भनेका छन् ।

साथै उनले घटनाप्रति खेद व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ‘पाकिस्तानको सुरक्षाका लागि खटिएकाहरूमाथि लक्षित गरेर आतंककारीहरूले त्रास सिर्जना गर्न खोजेका छन्,’ सरिफले भने । आक्रमणको इस्लामसँग कुनै सम्बन्ध नभएको भन्दै उनले आतंकवादको त्रासविरुद्ध पूरै पाकिस्तान एकजुट रहेको बताए । घाइतेहरूका लागि रक्तदान गर्न र उद्धारमा खटिन उनले पार्टीका कार्यकर्तालाई आह्वान गरेका छन् ।

सोमबारको घटनापछि प्रधानमन्त्री सेहबाज र सैन्य प्रमुख असिम मुनिर पेसावरमा पुगेर घटनाबारे जानकारी लिएका थिए । सूचनामन्त्री मरियम औरंगजेब, रक्षामन्त्री खवाजा असिफ, आन्तरिक मामिलामन्त्री राना सनउल्लाह पनि घटनास्थल पुगेका थिए । घटनास्थलबाट फर्किएपछि प्रधानमन्त्री सेहबाजले अकल्पनीय घटना भन्दै यो घटना सिंगो पाकिस्तानमाथिकै आक्रमण भएको बताए ।

पूर्वप्रधानमन्त्री इमरान खानले पनि आक्रमणको भर्त्सना गरेका छन् । केही महिनायता पाकिस्तानमा आतंकवादी समूह सक्रिय रहँदै आएका छन् । आतंकवादी आक्रमणका घटना बढ्दो क्रममा रहेको स्थानीय मिडियाले जनाएका छन् । सोमबारको विस्फोट पनि आत्मघाती भएको बताइएको छ । आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी तालिवानले लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेषगरी प्रहरीलाई लक्षित गर्दै सशस्त्र हमलाका घटना बढेका छन् । गत जनवरी २२ मा पेसावरको बाडाबेर क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गर्दै आक्रमण भएको थियो । त्यसको अघिल्लो दिन मात्रै धेरी जर्दारस्थित प्रहरी पोस्टमा आक्रमण हुँदा एक प्रहरी मारिएका थिए भने दुई जना घाइते भएका थिए । गत जनवरी १४ को राति पेसावरमै हतियारधारी समूहले सर्बन्द प्रहरी स्टेसनमा आक्रमण गर्दा एक अधिकृतसहित तीन प्रहरी मारिएका थिए । (एजेन्सीको सहयोगमा)

प्रकाशित : माघ १७, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

रसुवागढीबाट ६ महिनामा १५ अर्बको सामान आयो

३ अर्ब ७३ करोड राजस्व संकलन, निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात
बलराम घिमिरे

रसुवा — रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ अर्ब ८४ करोड ८४ लाख ५४ हजार बराबरको सामान आयात भएको छ । यसबाट भन्सारले ३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जनाए ।

आर्थिक वर्ष ०७८/७९ मा ३० अर्ब ९९ करोड ६३ लाख ५३ हजार बराबरको सामान आयात भएको थियो । यसबाट भन्सारले ७ अर्ब १७ करोड ६३ लाख ९० हजार राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले आर्थिक वर्ष ०७९/८० का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, रबर, प्लास्टिकका जुत्ता चप्पल, विद्युतीय जिप, कार, मोबाइल फोन, स्याउ, हाते झोला, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत मुख्य वस्तु आयात भएका छन् । कोभिडपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात अझै प्रभावित छ । रसुवागढीबाट ०७६ माघ १५ अगाडिकै जस्तो गरी अझै आयात हुन सकेको छैन । अहिले नाकाबाट प्रतिदिन बिहान ७ बजे र बेलुका ७ बजे गरी १४ वटा चिनियाँ कन्टेनरमा मात्र सामान आयात भइरहेको छ । निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ ।

रसुवागढी नाकाबाट अहिलेसम्म करिब ६ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ निर्यात भएको छ । सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातका कारण नाका पटक पटक प्रभावित हुँदै आएको छ । यस किसिमका समस्याले व्यापारी भने मर्कामा छन् । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । नेपालबाट चीनतर्फ बाँसका मुडा, अम्रिसो, मैदा, डाल्टा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्यान्डी, चकलेट, सख्खर, चुइगमलगायत वस्तु निर्यात हुने गर्छन् । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किमि छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×